एस् ए टी भी २९ जेठ, काठमाडौंः कालीकोटको पिलीलाई युद्ध पर्यटन गन्तव्यका रूपमा विकसित गर्ने काम सुस्त गतिमा भइरहेको छ । पिलीलाई पर्यटकीय गन्तव्य बनाउन युद्ध सङ्ग्रहालयलगायतका संरचना बनाउने क्रम जारी छ ।
द्वन्द्वकालमा राज्य पक्ष र विद्रोही माओवादीबिच भिडन्त भएको पिलीलाई सङ्ग्रहालय बनाउन कर्णाली प्रदेश सरकारको लगानीमा काम भइरहेको छ । कर्णाली प्रदेश सरकारले सङ्ग्रहालय निर्माणका लागि बर्सेनि बजेट विनियोजन गर्दै आएको छ । प्रदेश उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमार्फत डिभिजन वन कार्यालय कालीकोटले युद्ध सङ्ग्रहालय निर्माणका लागि आवश्यक काम गरिरहेको छ । पिलीमा पर्यटन प्रवर्धन गर्न सङ्ग्रहालय निर्माण थालिएको खाँडाचक्र नगरपालिकाका–७ का वडाध्यक्ष दीपकराज कार्कीले बताउनुभयो ।
“नगरपालिकाले समेत सङ्ग्रहालय निर्माणमा सहयोग गरिरहेको छ,” उहाँले भन्नुभयो, “प्रदेश सरकारको लगानीमा सङ्ग्रहालय बनिरहेको छ । यसबाट युद्धस्थलको संरक्षणसँगै पर्यटन प्रवर्धन भई आन्तरिक आम्दानी बढाउन सहयोग हुने आशा गरिएको छ ।” द्वन्द्वकालीन अन्तिम युद्ध लडिएको पिलीमा सबैभन्दा धेरै मानवीय क्षति भएको थियो । यहाँ २०६२ साउन २३ मा भिडन्त हुँदा दुवै पक्षका गरी १०३ जनाको ज्यान गएको थियो । देश सङ्घीय संरचनामा नजाँदै तत्कालीन दाहा गाविस, जिल्ला विकास समिति, नागरिक तथा पर्यटन उड्डयन मन्त्रालयलगायत निकायबाट यहाँ विभिन्न काम भइरहेको थियो ।
आर्थिक वर्ष २०७६/७७ मा कर्णाली प्रदेश सरकारले पिलीलाई सङ्ग्रहालयका रूपमा विकास गर्न बजेट छुट्याएपछि डिभिजन वन कार्यालय कालीकोटले उपभोक्ता समितिमार्फत तीन वटा भवन र सात सय मिटर रेलिङसहितको बाटो निर्माण गरेको थियो । त्यसपछि कोरोना कहरका कारण बजेट विनियोजन हुन सकेन । पिलीलाई पर्यटकीय गन्तव्यका रूपमा विकसित गर्न गत आर्थिक वर्ष प्रदेश सरकारले आठ करोड रुपियाँभन्दा बढी बजेट छुट्याएको थियो ।
पिली पछिल्लो समय आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको छ । कर्णाली राजमार्गको सुविधासँगै यहाँ पर्यटकीय क्षेत्र विस्तार भइरहेकाले आन्तरिक तथा बाह्य पर्यटक आउन थालेका छन् । पिली अहिले ‘युद्ध पर्यटन’ का रूपमा परिचित हुन थालेको छ । पिली भिडन्त अध्ययन गर्नेका लागि पनि आकर्षणको केन्द्र बनेको छ ।
कर्णाली कोरिडोरसँगै जोडिएको र नेपालकै प्रमुख पर्यटकीय गन्तव्य राराताल र जुम्ला घुम्न आउने पर्यटक पिली पनि पुग्न थालेका छन् । खाँडाचक्र नगरपालिका प्रमुख कमलकुमार शाहीले पिली, रारा र जुम्ला जाने सडकनजिकै पर्ने भएका कारणले पनि आन्तरिक र बाह्य पर्यटकको रोजाइमा पर्न थालेको बताउनुभयो ।
यहाँ भ्यु टावर बनिसकेको छ । यहाँ पौडी पोखरी, पार्किङ स्थल, प्रवेशद्वार, टिकट काउन्टर, बुट्यानसहितका दुई वटा चौतारा, शौचालयलगायत संरचना निर्माण भइसकेका छन् । अन्य संरचना पनि बन्दै छन् । सङ्ग्रहालय निर्माणको काम सम्पन्न भएको डिभिजन वन कार्यालय कालीकोटका इन्जिनियर प्रकाश सेजुवालले बताउनुभयो । सङ्ग्रहालय निर्माणका लागि आर्थिक वर्ष २०७९ असार २३ गते ठेक्का सम्झौता भएको थियो ।