एस् ए टी भी १९ असार, काठमाडौँः सामुदायिक विद्यालयको नतिजा सुधारका लागि काठमाडौं महानगरपालिकाले चालेको कदम उदाहरणीय ठहरिएको छ। गत वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा उच्च जिपिए ल्याउनेको संख्या कम र न्यून जिपिए ल्याउने विद्यार्थीको संख्या बढी भएपछि महानगरका प्रमुख बालेन साहले आफ्ना पालिकाभित्रका विद्यार्थीबारे निकै चिन्ता व्यक्त गरेका थिए। साथै लगत्तै उनले नतिजा सुधारका उपाय अपनाएर त्यसको फलस्वरूप यस वर्षको एसइई नतिजामा निकै सुधार आयो, जसले गर्दा उच्च जिपिए ल्याउने विद्यार्थीको संख्या बढ्यो र न्यून जिपिए ल्याउनेको संख्या क्रमशः घटेको नतिजाले देखाएको छ।
काठमाडौं महानगरभित्रका सामुदायिक विद्यालयबाट २०८१ को एसईईमा यसपटक सहभागी चार हजार ६६ विद्यार्थीमध्ये सात सय ८९ जनाले ३.६१ देखि ४ जिपिए प्राप्त गरेका छन्। यसमा १७ जनाले ४ जिपिए पाएका छन्। यो गत वर्षभन्दा ४४.७७ प्रतिशत धेरै हो। गत वर्ष पाँच सय ४५ जनाले ३.६१ देखि ४ जिपिए प्राप्त गरेका थिए।
गत वर्षको तुलनामा यो वर्ष दुई सय ४४ जना धेरै विद्यार्थीले उच्च जिपिए प्राप्त गरेका हुन्। महानगरको नतिजा सुधार कार्यक्रमले नतिजामा सुधार ल्याएको महानगरको शिक्षा विभागका अधिकृत केशव ज्ञवालीले बताए। ३.६१ देखि ४ जिपिए ल्याउने विगत चार वर्षमा महानगरमा बढ्दै गएको तथ्यांक छ।
२०७८ सालमा ८५ जनाले यो जिपिए ल्याएका थिए भने २०७९ सालमा ५० र २०८० सालमा पाँच सय ४५ ले ल्याएका थिए। २०८१ सालको एसइईमा सात सय ८९ जनाले ३.६१ देखि ४ जिपिए ल्याएको शिक्षा अधिकृत ज्ञवाली बताउँछन्।
यसैगरी यो वर्ष ३.२१ देखि ३.६ जिपिए ल्याउने विद्यार्थीको संख्या एक हजार एक सय ४८ जना छन् भने २०७८ सालमा तीन सय २५ र २०७९ सालमा चार सय ८८ जनाले मात्र जिपिए ३.२१ देखि ३.६ जिपिए ल्याएका थिए भने गत वर्ष अर्थात् २०८० सालमा १०५० ले ल्याएका थिए। कम जिपिए ल्याउनेमा केही कमी आएको छ, जसमा २.८१ देखि ३.२ जिपिए ल्याउने २०८१ सालमा आठ सय ९० जना छन् भने २०७८ सालमा ६ सय ९७ जना थिए।
यसैगरी यही जिपिए २०७९ सालमा ८०९ जनाले ल्याएका थिए भने २०८० सालमा १०८० थिए। २०८१ सालमा केही घटेर आठ सय ९० मा सीमित भएको छ। यसपटक २.४१ देखि २.८ जिपिए ल्याउने दुई सय ५७ जना छन् भने २०७८ सालमा नौ सय ६६, २०७९ सालमा नौ सय ८२, २०८० सालमा तीन सय ९५ थिए। २.०१ देखि २.४ जिपिए ल्याउने यसपटक १६ जना मात्र छन्। जबकि २०७८ सालमा १००४ जना, २०७९ सालमा नौ सय २३ र गत वर्ष पनि १६ नै थिए।
यसरी हेर्दा उत्कृष्ट नतिजा प्राप्त गर्ने विद्यार्थी संख्या वृद्धि भएको छ। तल्लो तहको जिपिए प्राप्त गर्ने विद्यार्थी संख्या घट्दै गएको छ। यो नतिजाले सुधारमा सकारात्मकता आएको उनले जनाए। ‘महानगरले एसइई परीक्षा सुधार गर्न परीक्षा सुधार योजना कार्यान्वयन गरेको छ, जसमा चाडपर्वका बिदामा पनि मनोरञ्जनात्मक कार्यक्रमअन्तर्गत विषयविज्ञ तथा शिक्षक थप राखेर थप कक्षा सञ्चालन गरेको थियो’, अधिकृत ज्ञवालीले नागरिकसँग भने, ‘नतिजा सुधार कार्यक्रमअन्तर्गत प्रति पिरियड पाँच सयका दरले शिक्षकलाई थप प्रोत्साहन भत्ता दिएको थियो। यसबाट २२ सय विद्यार्थीले लाभ लिएका थिए।’
उनले थपे, ‘परीक्षामा देखिएको यो नतिजालाई शिक्षा विभागले सूक्ष्म विश्लेषण गरेर सुधारलाई प्रोत्साहन र नियमित नकारात्मक नतिजा प्राप्त गर्नेलाई कारबाहीको दायरा ल्याउने तयारी रहेको छ।’
यसैगरी दुई जिपिएभन्दा तल (नटग्रेडेट) नतिजा ल्याउने विद्यार्थी यो वर्ष नौ सय ५६ रहे। गत वर्ष आठ सय ७७ जना नटग्रेडेट थिए भने २०७८ मा आठ सय ६६ र २०७९ सालमा पाँच सय ६९ थिए।
नतिजा सुधार गर्न महानगरका प्रयत्न
विद्यालयहरूको शैक्षिक गुणस्तरमा आएको सुधार, विद्यार्थीमा मेहनत गर्ने बानी विकास, शिक्षकहरूको अध्यापनप्रति बढ्दो सक्रियता, नतिजा सुधारका लागि महानगरले बिदाका समयमा सञ्चालन गरेका क्याम्प तथा विशेष निगरानी कक्षाबाट यो परिवर्तन आएको सहरी योजना आयोग सदस्य शैलेन्द्र झाले बताए। ‘महानगरले कक्षा १० सम्मका विद्यार्थीलाई दिवा खाजाको व्यवस्था मिलाएको छ। विद्यार्थीको सिकाइप्रति रुचि जगाउन, सिकाइ क्रियाकलापलाई प्रभावकारी बनाउन र तनावरहित सिकाइलाई अभ्यासमा ल्याउन ‘पुस्तकरहित शुक्रबार’ कार्यक्रम सञ्चालन गरिएको छ। यस कार्यक्रममा विद्यार्थीले पाठ्यक्रम, सहपाठ्यक्रम र अतिरिक्त पाठ्यक्रमलाई एकीकृत गरेर विद्यार्थीको बहुआयामिक सिकाइ अभ्यास गरिएको छ’, सदस्य झा भन्छन्, ‘शिक्षामा रूपान्तरण ल्याउन विद्यार्थीको सिकाइ सुधार महानगरको प्राथमिकता हो।
यसलाई सम्भव बनाउन विद्यार्थी सिकाइ कमजोरी हुनुको मूल कारण बुझ्न र सोहीअनुसार सुधार कार्यक्रम कार्यान्वयन योजनाका आधारमा कक्षा सञ्चालन गरिएको थियो। शिक्षकको दक्षता अभिवृद्धि गर्न स्कुल टिचर्स कार्यक्रम कार्यान्वयनले नतिजा सुधारमा मुख्य भूमिका खेलेको हो।’
उनले थपे, ‘पुस्तकरहित शुक्रबारको पाठ्यक्रम विकास, अनुसन्धानमा आधारित कार्ययोजना र त्यसको कार्यान्वयन इन्पुट, आउटपुट ‘टिचर कलेज कार्यक्रम’ बाट प्राप्त हुन्छ। नतिजा र प्रभावको अन्तर्निहित सम्बन्ध जोड्न यस कार्यक्रमले सहयोग गरेको छ।’
शैक्षिक क्रियाकलापसँगसँगै खुला, अतिरिक्त र बहुआयमिक विद्यार्थीकेन्द्रित क्रियाकलापका साथमा गरिएका अभ्यासले शैक्षिक नतिजामा उल्लेख्य सुधार गरेको छ। प्रधानाध्यापकलाई व्यवस्थापकीय पक्षसहित, शिक्षकहरूलाई विषयगत तालिम तथा समग्र चेतना विकासका आधारभूत तालिम, प्रविधिमा जोड्ने सिप, शैक्षिक क्रियाकलाप सबलीकरणका लागि डिजिटल क्रियाकलाप, शिक्षण सिकाइ पेडागोजीमा सुधार, शिक्षण सिकाइका असल अभ्यास आदानप्रदान, विद्यार्थीको नतिजा सुधार तथा सफलताका लागि साथ दिने कार्यक्रम हुन्।