एस् ए टी भी १५ असार, काठमाडौँः भारतमा पहिरो जाँदा नौ जना मजदुर बेपत्ता भएका छन्। भारतको उत्तराखण्डको उत्तरकाशी जिल्लाको सिलई बाँध नजिकै पहिरो जाँदा नौ मजदुर बेपत्ता भएको उत्तरकाशी प्रहरीले जानकारी दिएको हो।
उत्तरकाशी प्रहरीले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा पोस्ट गरेको छ, 'यमुनोत्री राष्ट्रिय राजमार्गमा पालिगडबाट लगभग ४-५ किलोमिटर टाढा सिलाई बाँध नजिकै भारी वर्षा र पहिरोका कारण ९ जना कामदार बेपत्ता भएको रिपोर्ट गरिएको छ।'
प्रहरीले थप भन्यो, 'प्रहरी, एसडीआरएफ, एनएच बारकोट, स्वास्थ्य विभाग आदिको टोलीद्वारा राहत र खोज-उद्धार कार्य भइरहेको छ।'
प्रहरीका अनुसार श्रम शिविरमा पहिरो गएको थियो। शिविरमा १९ जना कामदार बसिरहेका थिए। तीमध्ये दश जना कामदार सुरक्षित छन् र उनीहरूलाई उद्धार गरी सुरक्षित स्थानमा लगिएको छ।
उत्तराखण्डका मुख्यमन्त्री पुष्कर सिंह धामीले पनि एक्मा यससँग सम्बन्धित जानकारी दिएका छन्।
उनले एक्समा लेखेका छन्, 'उत्तरकाशी जिल्लाको बारकोट तहसीलको सिलई बाँध क्षेत्रमा भएको पहिरोको दुखद घटनामा केही कामदारहरू बेपत्ता भएको रिपोर्ट गरिएको छ।'