एस् ए टी भी २७ असार, काठमाडौँ: प्रधानमन्त्री के. पि. शर्मा ओलीले अहिलेको अवस्थामा महिलाहरूले उद्यममा निकै धेरै प्रगति गरिरहेको र यसले नेपालको समग्र अर्थतन्त्रमा सकारात्मक असर पर्ने भन्दै खुसी व्यक्त गरेका छन्। ललितपुरमा आज सम्पन्न महिला उद्यम संघको अन्तर्राष्ट्रिय महिला नेतृत्व सभा २०२५ को अवसर पारेर उनले देशको विकासमा महिलाहरूले सशक्त भूमिका खेल्ने भन्दै यसका निम्ति राष्ट्रले महिला उद्यमीका निम्ति नीतिगत सुधार तथा सेवा सुविधा बढाउँदै लैजाने प्रतिबद्धता जाहेर गरेका छन्।
महिला उद्यम संघको २२ औँ वार्षिकोत्सवको अवसर पारेर आयोजना भएको कार्यक्रममा प्रधानमन्त्री ओली, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी , वन तथा वातावरण मन्त्री ऐन बहादुर शाही ठकुरी, नेपाल स्थित चिनियाँ राजदूतावासका राजदूत छन् सोङ, लगायत विभिन्न विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।
कार्यक्रममा बोल्दै नेपाल स्थित चिनियाँ राजदूतावासका राजदूत महामहिम छन् सोङले नेपालको समग्र विकास सिलसिलामा महिलाहरूको सहभागिता पछिल्ला केही वर्षहरूमा उल्लेख्य मात्रामा बढेको भन्दै खुसी व्यक्त गरेका थिए। त्यसमा पनि आधुनिक प्रविधि जस्तै आर्टिफिसियल इन्टेलिजेन्सको प्रयोगमा पनि महिलाको सङ्ख्या बढ्दै गएकोले यसले देशको प्रगतिमा महत्त्वपूर्ण भूमिका खेल्ने बताए। उनले नेपालको वातावरणीय संवेदनशीलतामा चीनले महत्त्व दिइरहेको बताउँदै सहकार्यको हात अघि बढ्नु पर्ने जोड पनि दिए।
संघ अध्यक्ष शोभा ज्ञवालीले महिलाले नेतृत्वकर्ताको भूमिका खेल्न सक्ने र यसको प्रमाण महिला उद्यम संघको २२ वर्ष भएको बताउँदै अबको समय महिलाको नेतृत्वको रहेको बताउनु भयो। समाजका हरेक पक्षमा अहिले महिला अब्बल हुँदै गएकाले उद्यम तथा नवप्रवर्तनमा महिलाको उल्लेख्य उपस्थिति देखिन थालेकोमा गर्व लागेको बताइन्।
कार्यक्रममा विभिन्न सत्रमा प्यानल छलफल पनि भएको थियो। प्यानल छलफलको क्रममा भारतीय कूटनीतिज्ञ वीना सिक्री ले महिलाहरूलाई खाना, पानी तथा ऊर्जाको बारे विशेष ज्ञान हुने गरेको र वातावरणीय प्रतिकुलतालाई निस्तेज पार्ने लगायतका विषयमा महिलाले विशेष भूमिका खेल्न सक्ने बताइन्।
बोल्ने क्रममै नेपाली उद्यमी समृद्धि ज्ञवालीले उद्यमको नयाँ शैली अपनाउनु पर्नेमा जोड दिइन्। नीति निर्माणको पक्षमा सरकारले ऊर्जा तथा त्यस सङ्ग सम्बन्धित नीतिहरू परिमार्जन गरेर वातावरण मैत्री बनाउनु पर्नेमा जोड दिइन्। नेपालका दुर्गम तर जल ऊर्जाका हिसाबले निकै संवेदनशील स्थानहरूमा सानो भौतिक पूर्वाधार जस्तो पूर्व जानकारी गराउने साइरन सम्म स्थापना गर्न नसकेको भन्दै दुख पनि व्यक्त गरिन्।
कार्यक्रमले समग्रमा महिला सशक्तीकरणको वकालत गर्दै, उद्यममा लागेका महिलाहरूको प्रेरणा बन्ने प्रयास गरेको आयोजकको दाबी छ।