जनवरी १९ देखि सिद्धार्थ कला दीर्घामा प्यागोडा ग्रुपका पाँच कलाकारका चित्र प्रदर्शनी सुरु भएको छ । फेब्रुअरी १७ सम्म चल्ने ‘सामूहिक अभिव्यक्ति’ (कलेक्टिभ एक्सपे्रसन) नाम दिइएको यस प्रदर्शनीमा राखिएका सबैजसो कलामा नेपाली संस्कृति, सम्पदा र संस्कारको सुगन्धले यथेष्ठ ठाउँ पाएको देखिन्छ । यी कलामा मिथ र देवीदेवताका रूपहरूले समेत पर्याप्त स्थान पाएका छन् ।
नेपाली जनमानसमा भिजेको संस्कृति र संस्कारको गहिरो प्रभाव यी कलाकारमा देखिन्छ । हिमाल, पहाड, चट्टानसँग खेलिबस्दा पनि वास्तुकलाको अनुपम सौन्दर्यता र आममान्छेको गहिरो लगावलाई यी कलाकारले छोडेको देखिँदैन । मानवीय दैनिकी र दिनचर्यालाई जरादेखि समातेकाले यी चित्र सबैलाई मनपर्ने खालका छन् ।
यी र यस्तै आफ्ना संस्कार र परम्परालाई मान्ने हुँदा सम्भवतः यी मन मिल्दा कलाकार एक ठाउँमा जम्मा भए र एक अलग किसिमको कलागत समूह खोले– ‘प्यागोडा ग्रुप’ । यद्यपि, यी पाँचै कलाकारका आ–आफ्ना कलाका विषय र लिन खोजेका ‘मोटिफ’ नितान्त अलग–अलग छन् । यसो हुँदा सामूहिक अभिव्यञ्जनाभित्र हरेक कलाकारका अलग अलग ‘सिग्नेचर’ विद्यमान छ । स्थुल रूपमा हेर्दा एकैजस्तो तर सूक्ष्म रूपमा हेर्दा अलगअलग जस्तो भएर देखिनु यो कला समूहको कामको विशेषता देखिन आएको छ । यी सबैजसो कलाकारले गतका कैयौँ वर्षदेखि यही शैलीमा कला बनाइरहेका छन् । चित्र हेरेरै पनि यी कलाकारलाई सहजै पहिचान गर्न सकिन्छ ।
पूर्वीय कला दर्शनमा अगाध आस्था, फिगरेटिभ इमेजमा समान धारणासहित उनीहरुका कला आएका छन् । कुनै कलाकारले पनि फिगरलाई भाँचेर प्रस्तुत गर्ने वा आफ्ना कलामा अमूर्तता प्रवेश गराउने चेष्टा गरेको देखिँदैन । बरु परम्परागत विम्ब र प्रतीकलाई खोजीवरी आ–आफ्ना कलामा ल्याउन यिनीहरु एकताबद्ध भएर लागेको देखिन्छ ।
२१औँ शताब्दीको दोस्रो दशक
२१औँ शताब्दीको पहिलो दशक काट्दा नकाट्दै नेपाली समसामयिक कलाको इतिहासमा एउटा अलग्ग प्रकारको कालखण्ड देखापर्यो । बाह्य प्रभावले नराम्रोसँग गिजोेल्दा नेपाली कलाको मौलिक स्वरूपमा अनेकौँ प्रकृति देखापर्न थालेका थिए । समसामयिक कला हाम्रै हो कि होइन जस्तो अवस्थामा नेपाली परम्परागत कलाका मौलिक विम्ब खोज्न कलाकारका केही डफ्फा त्यतिबेला सक्रिय भएका थिए । प्यागोडा ग्रुप यसमध्येकै एउटा कला समूह हो ।
आफ्नै परम्परालाई सम्झने उपक्रममा जीवनमा धेरै कुरा परिवर्तन भएजस्तै यिनीहरुको कलामा पनि यसबखत नौलो स्वरूप देखापर्यो । नेपाली समसामयिक कलामा ‘फिगरेटिभ इमेज’हरूको बोलबालादेखि आकारमूलक आकृतिले पूर्णतः प्रभुत्व जमाउँदै गए । यसअघिका दशकमा देखिएका अमूर्तताका रूपलाई निमिट्यान्न पार्दै आकारहरूले कलामा पूर्णतः राज गरेको देखिन्थ्यो । हिन्दू वा बौद्ध देवीदेवतालाई मिथकीय विम्बका साथ कलाकारले प्रयोग गर्न थाले । नेपाली प्राचीन वा माध्यमिक वास्तुकलाको अंश त्यहाँ पनि थियो र अनि ग्रन्थचित्रका प्रतीकात्मक विम्ब पनि थिए । योसँगै पश्चिमी आधुनिक वा उत्तरआधुनिक कलामा उदाएका सबैजसो शैली र प्रवृत्तिलाई आत्मसात गरियो । जसकारण झट्ट हेर्दा नेपाली कला छ्यासमिस जस्ता पनि देखिए । यद्यपि आफ्नो मौलिकतालाई जोगाइराख्न कलाकारले विचार वा विषयवस्तु पनि पस्कन्थे ।
त्यतिबेला लोककलाले आफ्नो रूप परिवर्तन गर्दै समसामयिक कलाजस्तो लक्षण, स्वभाव देखाउन थालेको थियो । मूलतः विषयगत रूपमा सामाजिक सवाललाई उठाउने जमर्को गर्दै लोककलाले परिवर्तित स्वरूप अँगाल्न थाल्यो । परम्परागत पौभा वा थाङ्का चित्र आधुनिक संरचना र प्रस्तुतिलाई प्रयोग गर्दै समसामयिक बन्न खोज्दै थिए । यति नै बेला समसामयिक कलामा भने धार्मिक देवीदेवता (धार्मिक कलाका आइकन)लाई बलियो पात्रका रूपमा प्रयोग र अभ्यास गर्न थालिएको थियो । यी सबैजसो अलगअलग उपविधा एकै ठाउँमा आउँदा पहिचानका लागि अलग–अलग नै विधाका रुपमा केलाउनुपर्ने अवस्था सिर्जना भएको थियो । परम्परागत र समसामयिक कलाको विवाद टुंगिएजस्तो भएका बेला प्यागोडा–समूह झुल्कन पुगेको हो । यसकारण यी कलाकारका कला विशेष अर्थका साथ देखिन्छन् ।
अहिले कलामा शिल्प–दक्षतालाई सूक्ष्म रूपमा देखाउन फिगरेटिभ इमेजलाई छाडेको देखिँदैन । पश्चिममा देखापरेको अवधारणाको पनि प्रयोग र अभ्यास भइरहेको छ । यो कलाको नौलो स्वरूपको उदयले स्वभावतः विश्व कला बजारमा यी नेपाली युवा कलाकारको एक अलग्ग पहिचान स्थापना गरेको देखिन्छ । साइबरकल्चरले गर्दा विश्व बजारमा नेपाली कला र कलाकारको पहुँच त्यसै पनि सहज भएको छ । यस सम्बन्धमा हामीकहाँ अलग्ग अभिलेखन भएको देखिँदैन । नेपाली कुन कलाकार वा कला समूहले कहाँ कहाँ अन्तर्राष्ट्रिय कला कार्यक्रममा भाग लिइरहेका छन्, हामीसँग अभिलेख छैन ।
धेरै युवा कलाकार बाह्य राष्ट्रमा गए, गइरहेका पनि छन् । प्यागोडा ग्रुपका कलाकार रोशन प्रधानका कलाहरू बाह्य राष्ट्रमा निकै गएका छन् । रोशनले भर्खरै आयोजना भएको ‘१९औँ एसिएन आर्ट बाइअनियल अफ बंगलादेश’मा भाग लिन पाउनु ठूलो गौरवको कुरा थियो । सन् २०१० मै १४औँ एसिएन आर्ट बाइअनियलमा समेत भाग लिनुले उनको कलाको गुणस्तर प्रमाणित गर्छ । साउथ एसियामा दुई–दुई वर्षको अन्तरालमा आयोजना हुने यस अन्तर्राष्ट्रिय कला प्रदर्शनीले विश्व कला बजारमा विशेष अर्थ राख्छ । करिब ४० वर्षदेखि एसियामा विकसित र परिवर्तित भइरहेको समसामकीय कलाको रूपलाई यो कला प्रदर्शनीले नजिकबाट पस्कने गर्दैछ । विश्वबाट कला समीक्षक समेत यस प्रदर्शनीमा आउँछन् । परिवर्तन भइरहेको कलाको र विशेष कलाकारको समेत यस अन्तर्राष्ट्रिय प्रदर्शनीमा चर्चा हुने गर्छ । विश्वभरिका आधिकारिक र ठूलाठूला कला सङ्ग्रहकर्ता समेत यहाँ अवलोकन गर्न, कलालाई बुझ्न, कला खरिद गर्न आउने गर्छन् । म आफैँले यस अन्तर्राष्ट्रिय कला प्रदर्शनीमा नेपालको तर्फबाट दुईपल्ट (सन् १९९० र २०१० मा) कार्यपत्र प्रस्तुत गर्ने अवसर पाएको थिएँ । बंगलादेशको राष्ट्रिय कलाको निकाय ‘शिल्पकला एकेडेमी’ले यस कला प्रदर्शनी गर्दै आएको छ ।
‘फ्रिडम एन्ड लभ’ शीर्षकमा फिलिपिन्समा भएको अन्तर्राष्ट्रिय कला प्रदर्शनीमा पनि रोशनको कला छानिएको थियो । यस्तै, ताइवान आर्ट एजुकेसन–२०२०, जुन एसियन कन्टेम्पोररी आर्ट एक्जिबिसनको रूपमा आयोजना भएको थियो, त्यसमा पनि रोशनले भाग लिएका थिए । यसै वर्ष थाइल्यान्डमा उनका कलाले भाग लिइसकेका छन् । एसिएन आर्ट म्युजियम फुकुओका जापानमा सन् २०१९ मै उनका कला छनोट भएका थिए । फुकुओकाको यो म्युजियम विश्वभरका कलाकारका लागि ठूलै तीर्थस्थल हो । यी सबैले देखाउँछ– उनका कलामा नेपालीपनका साथ आजको कलागत विशेषता भरपूर छ ।
रोशनजस्तै यस समूहका अन्य कलाकार प्रद्युम्न श्रेष्ठ, रुद्रबहादर पुन, किशोर नकर्मी र माला श्रेष्ठले पनि अन्तर्राष्ट्रिय कलाका कार्यशालामा भाग लिइसकेका छन् । अहिले नेपालबाट दर्जनौँ कलाका यस्ता समूह अन्तर्राष्ट्रिय कलाका प्रदर्शनीमा, वर्कसपमा, रेसिडेन्सी वा कला मेलामा भाग लिइरहेका देखिन्छन् । पद्युम्न त सन् २००३ मै ओशो तपोवनमा भएको कलाको वर्कसपमै सक्रिय कलाकारका रूपमा भाग लिइसकेका हुन् । ओशो तपोवनमा भएको वर्कसप नेपालको कला इतिहासमा उत्तरआधुनिक कलाको औपचारिक आन्दोलन नै थियो ।
प्यागोडा समूहको थोरै सन्दर्भ
पछिल्ला केही वर्षदेखि कलाको क्षेत्रमा एक अलग्ग पहिचान बनाउँदै आएको कलाकारको सानो समूह हो– प्यागोडा ग्रुप । नवयुवा कलाकारलाई प्रोत्साहन गर्न कलामा प्रशिक्षण दिने (नेपालीपनको एउटा खास स्कुलिङको वकालत गर्दै) देखि खुला रूपमा कला प्रतियोगिता गरिदिने खालका कार्यक्रम यस समूहले गर्दै आएको छ । एकैपटक थुप्रै अग्रज कलाकारलाई सामूहिक रूपमा अभिनन्दन पनि यसले समूहले गरेको छ । यस समूहका कलाकार सबैको घरघरमा गएर नयाँ–पुराना कलालाई बटुल्छन् अनि प्रदर्शन पनि गरिदिन्छन् । यसो हुँदा अग्रज र पाका कलाकारका पुराना कसैले हेर्न नपाएका कला सर्वसाधारणका लागि अवलोकन गर्न मौका पनि जुर्न गएको छ ।
अग्रज कलाकारलाई सम्मान गर्ने संस्कारको थालनी यो समूहबाट देखिने गरी भएको देखिन्छ । सबै पुराना कलाकार अभिनन्दन थाप्न आउँदा पाका कलाकार एकै ठाउँमा जम्मा भएको रमाइलो परिदृश्य पनि देख्न पाइन्छ, साँच्चै कलाकै कार्यक्रम भएझैँ । टुक्रा–टुक्रामा बाँडिएर कलाकार एकै ठाउँमा जम्मा हुने संस्कार हराएका बेला यस समूहको काम प्रसंशनीय लाग्छ ।
चित्रलाई नजिकबाट नियाल्दा
यसपालि प्रदर्शन कक्षभित्र पस्नेबित्तिकै भावकको मन खिचिहाल्ने थुप्रै चित्र एकैपल्ट देखिन्छन् । विशेष गरी रोशनका ठूलाठूला चित्रले यता हेरौँ वा उता हेरौँ जस्तो पार्ने वातावरण सिर्जना गरेका छन् । अति मिहीन पाराले डिटेलमा गरिएका उनका चित्रले स्वभावतः दर्शकलाई मन्त्रमुग्ध पार्छन् । सबल रेखाहरू, सुमधुर, मुलायम रंगहरूको संयोजनले गर्दा उनका कला आकर्षण बनेका छन् । भावक उनको चित्रमा नअडिईकन अगाडि बढ्न नसकेको पनि देखियो ।
मानवीय शरीरलाई ‘एनाटोमिकल्ली पर्फेक्सन’का साथ बटारेर, घुमाएर किसिम–किसिमको पोजमा प्रस्तुत गर्दै चित्र बनाउने कलाकारको रूपमा उनी पारंगत छन् । विशेषगरी समसामयिक कलाको सन्दर्भमा यसरी मानवीय शरीरलाई पर्फेक्सनका साथ खेलाएर कला बनाउने धेरै कम कलाकारमध्येका उनी हुन् । यसअघि नै उनी यस्तायस्तै चित्र बनाएर नेपालको कला बजारमा परिचित बनिसकेका थिए । उनको चित्र एक अलग्ग शैलीमा देखिन्छ । यो चित्र शैलीलाई उनले आफ्नो निजी सिग्नेचरको रूपमा स्थापित गराइसकेका थिए । यसले गर्दा पनि दर्शक उनका यस्ता नयाँ अवधारणाका साथ आउने चित्रलाई कुतूहलपूर्वक हेर्न पर्खिबसेका हुन्छन् ।
प्रदर्शन कक्षको ग्राउन्ड फ्लोरमै रोशनको नयाँ विश्व (न्यु वल्र्ड), इनर पावर, आधुनिक रावण अनि रुद्रको हेवन अन द अर्थ, मुस्ताङ आदि चित्र प्रदर्शित भएका छन् । सँगसँगै रुद्रको स–साना कलात्मक स्तुपा पनि लहरै टाँगिएका छन् । कक्षको अलि कुनातिर मालाको अनौठो भैरवको चित्र पनि देखिन्छ ।
रोशनका सबैजसो चित्रले एउटा विचार र अवधारणालाई बोकेका छन्, यसैले उनका कला ‘कन्सेप्चुअल आर्ट’को रूपमा देखिन्छ । रुद्रका चित्र भने स्निग्ध, शान्त वातावरणको प्रत्याभूतिका साथ उदय भएको देखिन्छ । स्वर्गको परिकल्पना यही धर्तीमा खोज्ने लालसालाई उनले आफ्ना चित्रमा उतार्ने प्रयास गरेका छन् । भावक आनन्दित हुने थप विशेषता बोकेका उनका चित्र थप मनमोहक देखिन्छ नै । अझ स्तुपाका प्रतीकात्मक विम्बलाई विशेष केन्द्रबिन्दुमा राख्दा मात्र दृश्यचित्र नभएर एउटा काल्पनिक रचनाको रूपमा दृष्टिगोचर हुन्छ । वास्तुकलाको एक अलग्ग रूप देखिनु पनि यो कलाको थप विशेषता हो ।
मालाको काममा भैरव मिथको भावनात्मक रूप आएको छ । कथामा गुजुल्टिएझैँ आभास गराउने यस चित्र थोरै हास्यमुद्रामा देखापरेको छ । रुखलाई जीवनकै मूल धरातल मानेकी मालाले रुखकै काठबाट काष्ठकलाको निर्माण हुन्छ भन्ने अवधारणा व्यक्त गरेकी छन् । अहिले यस्ता काठका टुक्रालाई फाल्नेदेखि कला स्वयंलाई बेवास्ता गरेकोे अवस्थामा उनको मन दुखेको छ, यस्तै प्रतिविम्ब पनि उनका चित्रमा आएका छन् ।
माथिल्लो तलामा प्रद्युम्नका चित्र प्रदर्शित छन्, जुन झट्ट हेर्दा दृश्यचित्र जस्ता देखिन्छन् । तथापि हरेकजसो चित्रमा गहन कल्पना वशीभूत हुँदा साधारण देखिने यी चित्र पनि अलौकिक लाग्छन् । यी कला ‘सांग्रिला’ सिरिजको रूपमा रहेका छन् । उनका चित्र गरम रंगले ढपक्कै ढाकेको, सुनसान रातको समयजस्तो देखिन्छ । मन्दिर र घरको छानादेखि भुइँभरि अनेकौँ कलात्मक बुट्टा भरेर एउटा स्वप्न संसारजस्तो दृश्य ल्याउनुले उनका चित्रमा स्वैरकाल्पनिकता यथेष्ट मात्रामा दृष्टिगोचर हुन्छ । विपनामा सपना उदाएको जस्तो उनका कला देखिन्छन् । मडारिएर आएको बादलको डफ्फामा प्रतीकात्मक विम्बले गति दिँदा उनका कला स्वभावतः एउटा अकल्पनीय लोकगाथामा परिणत भएझैँ देखिन्छन् । अनुपम वास्तुकला, मूर्तिकला आदि प्रस्तुत हुँदा, गरिँदा वा गर्दैगर्दा पनि बादलका डफ्फाभित्र गतिवान देवीदेवताका आकृति ल्याएर गजबको संरचना बनेका छन् । यस्तो अद्भुतता सिर्जना गर्नु उनको मूल विशेषता देखिन्छ ।
किशोर नकर्मीले ‘इसेन्स अफ नेपाल’को नामबाट महात्मा बुद्धका अनेक रूप उतारेका छन् । सबैजसो यस्तायस्तै सिरिजका थुप्रै चित्र लहरै देखिँदा एकातर्फ विविधता पनि देखिन्छ । समग्रमा हेर्दा एकता पनि देखिन्छ ।
प्रदर्शन कक्षको माथिल्लो तलामा रोशनको ‘गड इज गड’ नामक भावना र लोकगाथाले ओतप्रोत चित्र छ । योसँगै ‘कन्टोम्पोररी थट’को सिरिज नाममा अनेक सानासाना थुप्रै चित्र देखिन्छन् । यी चित्रसँग मालाको ‘होली वाटर’ नामक चित्र पनि देखिन्छ । कुनै एक्लाएक्लै अनि कुनै सिरिजका रूपमा चित्र देखिँदा भाव, अर्थ, विचार भने गतिलो समन्वयकर्ताका रूपमा गाँसिएको देखिन्छ । यही नै यी कलाकारको मूल विशेषता देखिएको छ ।
रोशनको अलि ठूलो साइज (६० बाइ ७२ इन्च)मा नयाँ विश्व र रावणको चित्र छ । माथिल्लो तलामा योभन्दा अलि सानो साइजमा ‘गड इज गड’ भन्ने चित्र छ । साइजले अलग्ग अर्थ राख्ने हुँदा स–साना अनि ठूलाठूला चित्रले पनि बेग्लाबेग्लै अर्थ दिन्छन् । चित्रको गुणात्मकको सन्दर्भ आउँदा भावना सँगसँगै प्रविधिको रंग र रेखा हेर्नैपर्ने हुन्छ । ठूलाठूला चित्रमा गुणात्मक रूपमा मिल्दो रंगलाई संगतिमा राख्नुले कलाकारको शिल्प–दक्षताले जनाउँछ । कला बनाउन लाग्ने समय, आवश्यक धैर्यता र कलाभित्रको सन्तुलन आदि कलाकारका लागि ठूलै चुनौतीको विषय हुन्छ । यसकारण सितिमिती जोसुकै कलाकारले ठूला–ठूला कला बनाउन आँटै गर्दैनन् । यसो हुँदा कलाकारलाई शिल्पी अनि शिल्पकारी भन्ने प्रचलन धेरै पुरानो र एक अर्थका साथ आएको छ । चित्र भनेकै भिजुअल आर्ट हो, जसलाई भावकले सबैभन्दा पहिला दृश्यावलोकन गर्छ, अनि यसको प्रभाव पहिले नै लिइसकेको हुन्छ । यसबारे कुरा हामी पछि गर्दैछौँ ।
रोशनको ‘नयाँ विश्व’ नामक चित्रको सन्दर्भमा अलिकता गहिरिएर हेरौँ । यस चित्रमा उनले आफ्नो मन–मस्तिष्कमा बोकेका अनेकौँ विम्बलाई अटेसमटेसका साथ चित्रपटको कुनै पनि ठाउँमा नेगेटिभ स्पेस नछाडी प्रयोग गरेका छन् । यो एउटा उनका आफ्नै शैली र तरिका पनि हो । कुनै कलाकारले क्यानभासमा नेगेटिभ स्पेसलाई प्रशस्तै रूपमा छाड्ने गर्छन्, कसैले सानो ठाउँमा कुनै स्पेसलाई भरिहाल्ने (अलिकता पनि खालि ठाउँ नछोड्ने) गर्छन् ।
रोशनका चित्रपटको हरेक कुनामा कुनै न कुनै प्रतीकात्मक विम्बले भरिएको देखिन्छ । ठूलो गोलाकार अर्को गोलाकार संरचनालाई स्थापित गरिएको छ । अनि यसैको बीचोबीच भागमा यौन–आसनमा बसेको वस्त्रहीन स्त्री–पुरुषको जोडी देखिन्छ । उत्तेजित उन्मुक्त अवस्थामा देखिएकी स्त्री र शान्त मुद्रामा रहेको पुरुष यौन समागमनको अस्वाभाविक आसनमा दृश्यावलोकन हुन्छ । मूलतः यसो हुनुमा पुरुष सामान्य मान्छे नभई एक रोबोट हो । एकातिर रोबोटसँगको सहवास, अर्कोतिर दुईवटा बच्चा (मान्छे) र एउटाचाहिँ रोबोट बच्चा समुद्रको छालसँग खेल्दै गरेको देखाइएको छ । विश्वको भविष्य दिशाहीन युगतिर जाँदै गरेको परिदृश्यको कल्पना यहाँ कलाकारले गरेका छन् ।
रोशनको यो चित्र नितान्त धार्मिक अवयवले घेरिएका पात्रमा परम्परागत संयोजन जस्तो पनि देखिन्छ । तत्क्षणै कलाकारको विचार र अवधारणा गहिराइतिर प्रवेश गरेको बुझिन्छ । गहिरो ध्यानसहित आलिंगनमा मस्त जोडी हेर्दा उर्वशीले ऋषिको ध्यान भंग गर्न खोजेजस्तो लाग्छ, चारैतिर उडिरहेको मौरीहरूको कोलाहलबाट पनि नबिउँझेका महात्मा ऋषिजस्तो अनुभूत हुन्छ । मसिनको ससाना पार्टपुर्जाले चारैतिर घेरिएको छ । उर्लंर्दै गरेको पानीको छाल आदि–इत्यादि शक्तिकै रूप हो भन्ने कलाकारको दाबी छ ।
तथापि यो मिथकीय प्रयोग अनि धर्मगाथाबाट निर्देशित चित्र आजको समसामयिक सवालसँग गासिँदा नितान्त अलग मानक भएर उभिएका देखिन्छन् । मसिन र मानिसबीचको समागमन, आजको मानव (नारी)ले रोबोटसँग गर्दै गरेको सहवास र बच्चा रोबोट र बच्चा मानवले यही देखाउँछ कि आउँदो भविष्यमा आधा मानव र आधा रोबोट बनेर जन्मदा विश्वको स्वरूप कस्तो होला । यो कला बुझ्ने भावक अचम्भित र रोमाञ्चित हुन्छन् ।
रावणलाई सम्झने क्रममा विश्वमा नाम कहलिएका नौवटा टाउका (माइकल जाक्सनदेखि, द भिन्ची, हिटलर, अल्बर्ट आइन्स्टेन, कार्ल माक्र्स आदि) देखिन्छन् । एउटा छोपिएको छ, जो नेपालको रूप हुन सक्छ । यी र यस्तै अनेक चित्रले ढाकिएको यो प्रदर्शनी अब्बल कला प्रदर्शनीको रूपमा देखिन गएको छ ।