नेभिगेसन मेनु

अस्ट्रेलियाको सपना चकनाचुर, इंग्ल्यान्ड फाइनलमा
सम्पादक:南亚网络电视
लेखक:कान्तिपुर
समय:2023-08-17 12:09

thumb

लाउरेन हेम्प र एलेसिया रुसोले खेलको अन्त्यतिर गोल गरेपछि इंग्ल्यान्डले अस्ट्रेलियाली सपना ३–१ ले कुल्चिँदै बुधबार महिला विश्वकप फुटबलको फाइनल यात्रा तय गरेको छ । उपाधिको भिडन्तमा इंग्ल्यान्डको भेट स्पेनसँग हुनेछ ।

महिला विश्वकप फुटबलमा बुधबार सेमिफाइनलमा पराजित भएपछि निराश अस्ट्रेलियाली खेलाडी । घरेलु टिम अस्ट्रेलियाविरुद्ध जित पाएपछि इंग्ल्यान्ड टोलीको खुसी (दायाँ) । तस्बिर : एएफपी

युरोपेली च्याम्पियन इंग्ल्यान्ड यसअघि विश्वकपको सेमिफाइनलमै दुईपल्ट रोकिएकोमा यसपालि टोलीले त्यस्तै भूल दोहोर्‍याएन । इंग्लिस टिम ७५ हजार दर्शकमध्ये अधिकांसलाई शान्त पार्दै पहिलोपल्ट विश्वकपको फाइनल पुग्यो ।

इंग्ल्यान्डले पहिलो हाफ सकिनु नौ मिनेट अगाडि म्यानचेस्टर युनाइटेडबाट खेल्ने इला टुनको गोलबाट अग्रता लिएको थियो । उनले बक्सको ठीक बाहिरबाट बललाई पोस्टको दिशा दिन शक्तिशाली प्रहार गरिन् । चोटमुक्त भएर प्रतियोगितामै पहिलो पटक सुरुदेखि खेलेकी साम केरले खेलले एक घण्टा छोएयता बराबरी गोल फर्काइन् । यो विश्वस्तरीय गोल रह्यो । उनले गति लिँदै ३० यार्डको दूरीबाट गरेको प्रहार सुन्दर गोलमा परिणत भएको थियो ।

यो गोलपछि घरेलु समर्थकमाझ बेग्लै उत्साह छाएको थियो । तर, त्यसको ठीक आठ मिनेटपछि उनीहरू फेरि शान्त रहन बाध्य रहे । हेम्पले बक्सतर्फ बल अगाडि बढाउँदै कुना च्यापेर दोस्रो गोल थपिन् । लगत्तै रुसोले खेल सकिन चार मिनेटअगाडि अस्ट्रेलियाको घाउ अझ चर्काउँदै तेस्रो गोल गरेकी थिइन् । ‘हामी यसपल्ट फाइनल पुगेका छौं र यो अश्विसनीय उपलब्धि हो । एकपल्ट त हामीले विश्वकप नै जिते जस्तो लागेको थियो तर होइन, हामीले केही पनि जितेका छैनौं । त्यसबाट एक खेल पर भने पुग्यौं,’ इंग्लिस प्रशिक्षक सरिना वेगमनले भनिन् ।

उनले थपिन्, ‘यो खेलमा हामीले निकै कडा परिश्रम गरेर खेल्यौं । तर जित निकाल्न सक्यौं । हामीले धेरैपल्ट निर्दयी खेल प्रदर्शनको कुरा गर्छौं । यस खेलमा हाम्रो प्रदर्शन आक्रामक र रक्षात्मक दुवैमा निर्दयी किसिमको रह्यो ।’ इंग्ल्यान्डले अब आइतबार स्टेडियम अस्ट्रेलियामै हुने फाइनलमा डरलाग्दो देखिएको स्पेनी टिमको सामना गर्नेछ । स्पेनले पहिलो सेमिफाइनलमा स्विडेनलाई २–१ ले पराजित गरेको थियो । फाइनलपछि महिला विश्वकप फुटबलले नयाँ च्याम्पियन पाउने छ ।

‘यसपल्ट प्रत्येक खेल माथिल्लो स्तरको भएको छ । त्यसैले हामी सबै खाले चुनौतीका लागि तयार हुनुपर्छ,’ गोलकर्ता रुसोले भनिन्, ‘हामीले सानै छँदादेखि विश्वकप जित्ने सपना देख्दै आएका थियौं । त्यसैले हामी सबै खुसी छौं । केही समयको आरामपछि हामी फाइनलका लागि तयार हुनुपर्छ ।’ इंग्ल्यान्ड यसअघि सन् २०१५ र २०१९ को विश्वकपमा पनि सेमिफाइनल पुगेको थियो । दुवै अवसरमा पराजित रहेको थियो । इंग्ल्यान्डको सबैभन्दा उच्च प्रदर्शन नै तेस्रो स्थानको छ । वेगमनकै नेतृत्वमा इंग्ल्यान्डले गत वर्ष घरमै युरोपेली च्याम्पियनसिपको उपाधि जितेको थियो । त्यसै पृष्ठभूमिमा टिकेर कप्तान मिली ब्राइटनले आफ्नो टिम ठूलो र दबाबपूर्ण खेलको सामना गर्न मानसिक रूपमा बढी सक्षम भएको दाबी गरेकी थिइन् । यही कारणले इंग्ल्यान्डले उत्साहित र राष्ट्रिय भावनाले प्रेरित स्टेडियम अस्ट्रेलियालाई चुपचाप राख्न सफल रह्यो । महिला विश्वकपमा अहिलेसम्मकै उच्च प्रदर्शन गरेको अस्ट्रेलियाले अब शनिबार तेस्रो स्थानका लागि स्विडेनसँग खेल्नेछ ।

‘मैले धेरैको दुःख बुझेको छु । हाम्रा खेलाडी स्तब्ध देखिए,’ अस्ट्रेलियाली प्रशिक्षक टोमी गुस्ताभसनले भने, ‘तर इंग्ल्यान्डको प्रदर्शन निर्णायक थियो, त्यसैले खेल उनीहरूकै रह्यो । पहिलो हाफमा हाम्रो रक्षापंक्ति ठोस रह्यो । तर, हामीले उत्तिकै बहादुर रहेर आक्रमण गर्न सकेनौं । दोस्रो हाफमा हाम्रो खेल त्यस्तै रह्यो, जस्तो हामी सक्छौं ।’ दोस्रो हाफमा इंग्ल्यान्डको प्रदर्शन पहिलेको तुलनामा उच्च रह्यो । मध्यपंक्तिमा बलियो पकडपछि इंग्ल्यान्डले खेलमाथि नियन्त्रण राखेको थियो ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर