
जडीबुटी सङ्कलनका क्रममा भएको विवादमा छोराको मृत्यु भएपछि न्यायको माग गर्दै एकल आमा जिल्ला प्रहरी कार्यालय मुगु धाउनुभएको छ । मुगुमकार्मारोङ गाउँपालिका–९, पापुगाउँका मृतक अखबहादुर रोकायाकी आमा सिदुरा रोकायाले छोराको मृत्युको घटनामा न्याय नपाएसम्म गाउँ नफर्किने अडान लिनुभएको हो ।
गत असोज ११ गते मुगुमकार्मारोङ गाउँपालिका र हुम्लाको चङ्खेली गाउँपालिकाको सीमाक्षेत्रमा पर्ने वनमा जडीबुटी सङ्कलनका क्रममा दुई पक्षबिच विवाद हुँदा तीन जनाको मृत्यु भएको थियो । सोही घटनामा छोरा गुमाउनुभएकी सिदुराले घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कानुनी कारबाही गर्न माग गर्नुभएको छ ।
छोराको मृत्युपछि परिवारको सहारा गुमाउनु परेको पीडामाथि न्यायका लागि विभिन्न निकाय धाउनुपर्दा थप दुःख भोग्नु परेको उहाँले बताउनुभयो । घटनापछि पटक पटक जिल्ला प्रहरी कार्यालय मुगुमा पुगेर न्यायका लागि आग्रह गरे पनि सुनुवाइ नभएको उहाँको गुनासो छ । एकल आमाका लागि छोराको मृत्यु सन्तान गुमाउनु मात्र नभई बुढेसकालको सहारा र जीवनको आधारसमेत गुमाउनुभएको सिदुराको भनाइ छ । उहाँले घटनाको सत्यतथ्य सार्वजनिक गरी पीडित परिवारलाई न्याय दिलाउन र दोषीलाई कानुनी दायरामा ल्याउन सम्बन्धित निकायसँग माग गर्नुभएको छ । “छोराको मृत्युको घटनामा न्याय नपाएसम्म गाउँ फर्किन्नँ,” सिदुराले भन्नुभयो ।
जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायब उपरीक्षक (डिएसपी) रविराज थपलियाले घटनासम्बन्धी जाहेरी असोज १३ गते दर्ता भएको जानकारी दिनुभयो । उहाँका अनुसार घटनासम्बन्धी मुद्दा दर्ता भई कानुनी प्रक्रिया अगाडि बढाउने तयारी भइरहेको छ । प्रहरीका अनुसार मुगुमकार्मारोङ गाउँपालिका–९, पाँपु र छाइलाका १३ जना स्थानीय गत असोज १० गते कुट्की जडीबुटी सङ्कलनका लागि सीमाक्षेत्रको वनमा गएका थिए । असोज ११ गते जडीबुटी सङ्कलनका क्रममा दुई पक्षबिच विवाद भएपछि गाउँ फर्किने क्रममा तीन जनाको मृत्यु भएको थियो ।
घटनामा मृत्यु हुनेमा २८ वर्षीय गणेश बुढा, २७ वर्षीय अखबहादुर रोकाया र २६ वर्षीय ललितजङ्ग बढुवाल छन् । डिएसपी थपलियाका अनुसार दसैँ र तिहार बिदाका कारण सरकारी वकिल उपस्थित हुन नसक्दा मुद्दाको थप प्रक्रिया अगाडि बढाउन ढिलाइ भएको हो । सरकारी वकिल एक/दुई दिनभित्र आइपुग्ने र त्यसपछि मुद्दाको प्रक्रिया अगाडि बढाइने जानकारी उहाँले दिनुभयो ।
छोराको मृत्युको घटनामा न्यायको माग गर्दै प्रहरी कार्यालय धाइरहनुभएकी आमाको अवस्थाप्रति मुगुमकार्मारोङ गाउँ पालिका–९ का स्थानीय रन्नलाल बुढाका अनुसार यहाँका स्थानीयवासीले समेत चासो व्यक्त गरेका छन् । घटनाको निष्पक्ष अनुसन्धान गरी दोषीमाथि कानुनी कारबाही गर्न र पीडित परिवारलाई न्याय दिलाउन सम्बन्धित निकायले शीघ्र पहल गर्नुपर्ने माग उहाँको छ ।


















