गोरखा — ढुंगामाटोको गारो, अग्लो पिँढी, खरको छाना । पालुङटार–२ लिगलिगकोट पुग्ने मूलबाटो छेउको यो घर आगन्तुकका आँखामा ठोक्किन्छ । आगन्तुक यही घरलाई सामुन्ने परेर तस्बिर खिच्छन्, पिँढीमा पुगेर सुस्ताउँछन् ।
लिगलिगकोटको काखमा रहेको यो घर चर्चामा आएको दुई वर्ष भयो । खिनबहादुर परियार सानै छँदा बाबु सेते दमैले यो घर बनाएको सुनाएका थिए । वरपरका भन्दा फरक प्रकृतिको घर देखेपछि तस्बिर लिन पुगेका आगन्तुकले खिनबहादुरसमक्ष घरबारे जिज्ञासा राखे । बाबुले बाल्यावस्थामा घर निर्माणमा दुःख कहेको खिनबहादुरले बिर्सिएका थिएनन् ।
जिज्ञासा राख्ने आगन्तुकलाई उनले खरको छाना भएको घरमा बस्न छुट्टै मज्जा हुने सुनाउँथे । बाबुले नौ रुपैयाँमा बनाएको घर भन्न छुटाउँदैनथे । यसरी बताउँदाबताउँदै ‘नौ रुपैयाँको घर’ भनेर चर्चित बनेको छ । घर बनेको कहिले भन्ने तिथिमिति उनलाई हेक्का छैन । अनुमानमा विसं १९८० को दशकमा निर्माण गरिएको हो । ‘यो घर बनाउन नौ रुपैयाँ खर्च लागेको बाले भन्नुहुन्थ्यो,’ उनले भने, ‘हाम्रो पालामा मेलापात जाँदा २ रुपैयाँ कसैले दिए भने कति धेरै पैसा दिए भन्ने लाग्थ्यो । हाम्रा बाको पालामा झनै ५ पैसा, सुका, मोहोरको पनि कति महत्त्व थियो होला । त्यो बेलाको नौ रुपैयाँ भनेको ठूलो पैसा हो ।’
खिनबहादुरका दाजु रामबहादुर ६ देखि १२ पैसासम्म ज्याला दिएर बाबुले घर निर्माण गरेको लख काट्छन् । ‘म सानै छँदा बा बित्नुभो, कति सालमा बनेको तिथिमिति सम्झना भएन,’ उनले भने, ‘हामी सुका र मोहरमा दिनभर काम गर्थ्यौं, बाको पालामा यो घर बनाउन ६ पैसादेखि १२ पैसासम्म ज्याला दिनुपर्यो होला । त्यो बेला नोट भन्ने हुन्नथ्यो, हामीले जान्दा पनि सिक्का चलनमा थियो । ६ पैसा, १२ पैसाभन्दा बढी भएको भए यो घर नौ रुपैयाँमा बन्थेन ।’
७८ वर्षीय रामबहादुर उक्त घर निकै बलियो रहेको बताउँछन् । खरको छाना भएको घरमा टिनको जस्तामा जस्तो जाडो र गर्मी केही नहुने उनको अनुभव छ । ‘सिमेन्टको चिसो आउला भन्ने पिरलो पनि हुन्न,’ यही घरमा जन्मिएर हुर्किएको उनले सुनाए । २०७२ वैशाख १२ पछि क्रंक्रिटका घर बन्ने क्रमले तीव्रता पाउँदा लिगलिगकोटको यो घरले छुट्टै महत्त्व स्थापित गरेको छ ।
आगन्तुक पुरातन शैलीको घर अझै उभिएको देख्न पाउनु नौलो मान्छन् । ‘परार त एक जनाले भिडियोसमेत लिएर गए । त्यो हेरेपछि झनै ९ रुपैयाँको घर भन्दै मान्छे खोज्दै आउन थाले,’ खिनबहादुर भन्छन्, ‘सबैले भाइरल घर भन्छन्, कोही पिँढीमै आउँछन्, कोही बाटोबाटै फोटो खिचेर लैजान्छन् ।’ परम्परागत घरको आफ्नै विशेषता छ । ‘अग्लो पिँढीले पानी पर्दा बाछिटा लाग्दैन, छानामा धूवाँ लाग्छ भन्ने पिरलो पनि हुँदैन,’ उनले भने ।
बाल्यावस्थादेखि बस्दै आएको आफ्नो घरप्रतिको खिनबहादुरको छुट्टै लगाब छ । खिनबहादुर ३ दाजुभाइ र २ दिदीबहिनी यही घरमा हुर्किए । उनका दाजु र भाइले अंशबन्डापछि छुट्टै घर बनाए । बाबुले दुःखले निर्माण गरेको घर खिनबहादुरको भागमा पर्यो । उनका पनि ४ छोरा र एक छोरी यही घरमा हुर्किए । ‘यो घरको जग छैन, टक्य्राकटुक्रुक्क ढुंगा राखेर त्यो बेला बनाएको घर कति बलियो रैछ,’ उनले भने, ‘९० सालको भूकम्प पनि यसले थेग्यो भन्ने सुन्यौं, २०७२ को भूकम्पले पनि एक ठाउँमा थोरै चर्काएको मात्र छ, अरू केही भएन ।’ खिनबहादुरकी श्रीमतीको केही वर्षअघि निधन भयो । दुई छोरा रोजगारीका लागि भारत गए, परिवार छुट्टीभिन्न भयो । उनीहरूले पनि छुट्टै घर बनाएका छन् । सँगैका घर देखाउँदै खिनबहादुर भन्छन्, ‘जमानाअनुसार जस्ताको छाना भएको दुईकोठे घर बनाउन छोराहरूले ५ लाखसम्म खर्च गरेका छन् ।’
अहिले यो चर्चित घरमा खिनबहादुर एक्लै छन् । ‘बाको पालादेखि खरको छानो हो, एकपल्ट छाएपछि तीन वर्ष ढुक्क,’ उनले भने, ‘लिपपोत म आफैं गर्छु ।’ उनीसँग खेतबारी धेरै छैन । पुगअपुग एक बिहानको मेलोमा उब्जनी भएको अन्न तलामा राख्छन् । उनले जीवन निमेक र मेला पर्ममै बिताए । तल्लो तलामा अँगेना छ, मझेरीमा खानेसुत्ने गर्छन् । भूकम्पले घर भत्काएर छिमेकीमा कंक्रिटको घर निर्माणले तीव्रता पाउँदा उनको घरको महत्त्व अझै स्थापित भएको छ । लिगलिगकोट पुगेका आगन्तुक पनि खिनबहादुरसँग भलाकुसारीपछि घर नभत्काउन आग्रह गर्छन् । पुस्तौंअघि बनेको घरको एउटा थामसम्म खिनबहादुरले परिवर्तन गरेका छैनन् । ‘बाले बनाएको घर भत्काइहाल्ने मन पनि छैन,’ उनले भने, ‘नाल/दलिन फेर्नुपर्ने भएको छ, यसलाई के गर्ने सोच्दै छु ।’