नेभिगेसन मेनु

जसका कार्टुन नै काफी
सम्पादक:南亚网络电视
समय:2023-03-19 13:18

Durga-Baral-Ratharohad_Slrh1XHhH9

पोखरा : कार्टुनकलामा वात्स्यायनको नामै काफी छ। यस क्षेत्रका उनै शिखर व्यक्तित्व चित्रकलामा दुर्गा बराल नामले प्रसिद्ध छन्। वरिष्ठ कार्टुनिस्ट एवं कलाकार दुर्गा बराल अर्थात् वात्स्यायन उमेरले ८० वर्ष पार गरे पनि कला साधनामा क्रियाशील नै छन्। 

आधा शताब्दीभन्दा बढी समय कला सिर्जनामा बिताएका उनै वात्स्यायनलाई शनिबार पोखराका विभिन्न संघ–संस्थाले अभिनन्दन गरेका छन्। अभिनन्दनपछि बरालले, ‘रहरले कला क्षेत्रमा लागेर निरन्तर कला साधनामै छु। मैले नेपाली कार्टुनमा, कला क्षेत्रमा जे जति उपलब्धि हासिल गरेँ त्यो सम्पूर्ण पोखराकै देन हो।’       

कला सिक्न खाएको हन्डर र ठक्करका प्रसंग मात्रै उप्काएनन् इगल आई आर्ट स्टुडियोको सम्झना गर्दै त्यो नै ‘टर्निङ प्वाइन्ट’ भएको उनले सुनाए। आफू तीन वर्षको हुँदा आमा बितेपछि फुपूको शरणमा गएको प्रसंग उप्काउँदै त्यति बेलाको माटोको टुकी, मण्डला सम्झिए। अगेनाको डिलमा बसेर मण्डला हेर्दा चित्रकलामा लाग्ने प्रेरणा जागेको उनले उल्लेख गरे। 

उनले क्याम्पसमा बायोलोजी लिएर पढ्दै गर्दा पढाइभन्दा चित्रकलामा ध्यान जाने गरेको सुनाए। गुरुआमा एलियामा जोनको भनाइ उद्धृत गर्दै उनले भने, ‘यति राम्रो आर्ट गर्ने मान्छे किन साइन्स पढेको ?’ गुरुआमाले छात्रवृत्तिमा विदेश पढ्न जान सुझाएको बरालले सुनाए। कला पढ्ने आफ्नो चाहनामा गुरुआमाको पनि ‘समर्थन’ पाएपछि कला पढ्न काठमाडौं जान उपाय खोजेको उनले बताए। 

पोखराको तेस्रापट्टीमा औलो उन्मुलन केन्द्रमा स्टोर किपरको काम गरेर केही पैसा जम्मा गरी उनी काठमाडौं गए। कला पढ्न दिल्ली गए र त्यहाँ भेटिएका पेन्टरले दिल्लीभन्दा नेपालमै अवसर छ भनेर रक्सौलसम्मको टिकट काटेर पठाएको उनले सम्झिए। ‘जनक शिक्षामा किताबका चित्र बनाउने काम पाएँ र केन्द्रबाटै जापान पुगेँ’, उनले भने, ‘जनक शिक्षामा काम गर्दा लैनसिंह बाङ्देल, बालकृष्ण सम, अमर चित्रकारहरूसँग भेट्ने र सुन्ने सिक्ने अवसर पाएँ।’

जापानबाट फर्केपछि काठमाडौंमा उकुसमुकुस महसुस गरी पोखरा फर्केको उनले सुनाए। उनले पोखरा फर्केर केही समय फोटोग्राफीमा काम गरे। त्यसपछि इगल आई स्टुडियो खोले। स्टुडियोमा साधना गरेर २०४० सालमा चोक र तमसुक प्रदर्शनी गरेको र आफूलाई सबैभन्दा बढी मन परेको सिर्जना नै त्यही भएको उनले बताए।

कलाकार बालकृष्ण समले बराललाई विश्वविख्यात चित्रकार साल्भाडोर डालीको उपमा दिए। उनै बरालले सामाजिक विषयवस्तु र प्रकृतिका विषयमा अनेकन चित्र बनाए। राजनीति र सामाजिक विकृतिमाथि कार्टुनमार्फत चोटिलो प्रहार गरे। शान्त र हँसिलो स्वभावका वात्स्यायनका कार्टुनमा राजनीतिक विकृतिप्रतिको विद्रोह झल्किन्छ। जुन सिर्जनाले राजनीतिक दल मात्रै होइन, राज्यसत्तामै प्रहारसमेत गरे। उनले विषयलाई अक्षरभन्दा चित्रमा बुझे। समाज र राजनीतिलाई शब्द र आवाज होइन, चित्रमै उतारे। 

वात्स्यायन दम्पतीलाई शनिबार घरबाटै रथारोहण गराएर विन्ध्यावासिनी मन्दिर पुर्‍याइएको थियो। पोखरेलीले घर अगाडि श्रद्धास्वरूप तामाको गाग्रीमा पानी भरेर फूल राखेका थिए। बरालले चित्रकलाका माध्यमबाट समाजमा पुर्‍याएको योगदानको कदर गर्दै जन्मभूमि पोखरा परिक्रमा गरी नागरिक अभिनन्दन गरिएको हो। जसका लागि पोखरेली युवा सांस्कृतिक परिवारको अगुवाइमा झन्डै तीन दर्जन संघ–संस्था लागिपरेका थिए। null

बराल निवास नदीपुरबाट सुरु भएको रथयात्रा पोखरा बजार परिक्रमा गरी विन्ध्यवासिनी मन्दिरमा पुगेर नागरिक अभिनन्दन समारोहमा परिणत भएको थियो। बराललाई कलामा साथसहयोग गर्दै आएकी जीवनसंगिनी पार्वतीलाई पनि रथारोहणमा सँगै राखेर अभिनन्दन गरिएको हो। वरिष्ठ साहित्यकार सरुभक्त श्रेष्ठ, कवि तीर्थ श्रेष्ठलगायतले दम्पतीलाई अभिनन्दन गरेका थिए। चित्रकारितालाई अतियथार्थवादी धारमा डोर्‍याउन गरेको योगदानको कदर स्वरूप रथारोहणसहित अभिनन्दन गरिएको पोखरेली सांस्कृतिक परिवारका अध्यक्ष उपेन्द्र पौडेलले बताए। 

बरालले पोखरालाई पानी रंगको चित्रकारितामा स्थापित गर्दै युवालाई चित्रकारितामा लाग्न प्रेरित गर्दै आएका छन्। वात्स्यायनका नामबाट कलामार्फत समाज र राजनीतिका विकृति, विसंगति केलाउँदै बरालले व्यंग्यचित्रकारितामा आफूलाई सर्वोच्च शिखरका रूपमा उभ्याएको साहित्यकार सरुभक्तले बताए। बराल पोखरामा जन्मिएका विश्वस्तरीय व्यंग्यचित्रकार रहेको उनको भनाइ थियो। 

बराल व्यंग्यचित्रका बादसाह रहेको संस्कृतिकर्मी तीर्थ श्रेष्ठले बताए। कलाका माध्यमबाट समाज र राजनीतिका विकृति तथा विसंगतिलाई चिर्न कसैले सकेको छ भने त्यो नाम वात्स्यायन रहेको उनको भनाइ थियो। बराल कलाका माध्यमबाट साहित्यिक गतिविधि गर्न प्रोत्साहित गर्ने अभिभावकका रूपमा रहेको पनि श्रेष्ठले बताए। 

२० वर्षको उमेरमा नयाँ सन्देश साप्ताहिकमार्फत कार्टुन करिअर सुरु गरेका बरालले दर्जनौं पुरस्कार एवं सम्मान पाएका छन्। उनले राष्ट्रिय कला प्रदर्शनी, नाफा, बिपी पत्रकारिता पुरस्कार, जगदम्बाश्री, प्रवल गोरखा दक्षिण बाहु चौथो, राष्ट्रिय प्रतिभा पुरस्कार, राष्ट्रिय ललितकला प्रज्ञा सम्मान, शिरोमणि पुरस्कार, वासुदेव लुइँटेललगायत पुरस्कार पाएका छन्। 

उनी १९९९ चैत ५ गते कास्कीको आर्बा (हालको पोखरा १३) मा जन्मिएका हुन्। पोखरामा ‘वाटर कलर स्कुल’ सुरु गर्ने श्रेय बराललाई जान्छ। व्यंग्यचित्रकारिताबाट चर्चित रहे पनि उनी पानी रंगको चित्र, फोटोग्राफीमा उत्तिकै दक्ष छन्। व्यावसायिक रूपमा चित्र र फोटोग्राफीसमेत गरेको अनुभव उनीसँग छ। उनले पोखरामा इगल आई स्टुडियो चलाएर चित्र र फोटोग्राफीको व्यवसाय पनि गरेका थिए। 

उनी सानै उमेरदेखि चित्र कोर्न मन पराउँथे। पेन एन्ड इङ्कमा कोरिएका चित्र (चोक र तमसुक शृंखलामा रचिएका चित्र) तथा एक्रेलिकमा कोरिएका चित्र (द फेसेज अफ टाइम एन्ड कलर्स अफ सेन्सिबिलिटी नामक प्रदर्शनीमा प्रदर्शित कला ) मा उनको मौलिकता देख्न सकिन्छ। चोक र तमसुक शृंखलामा रचिएका चित्र नेपाली कलाको कोसेढुंगा रहेको कवि तीर्थ श्रेष्ठले बताए। बरालको ‘समयको अनुहार र समयका रंगहरू’मा देशको पीडा (द्वन्द्वको प्रभाव) समेटिएको कवि श्रेष्ठले बताए।  

बरालले चार एकल चित्रकला प्रदर्शनी गरेका छन्। उनको पहिलो चित्रकला प्रदर्शनी सन् १९७३ मा काठमाडौंमा भएको थियो। सन् १९८३ मा नेपाल–भारत सांस्कृतिक केन्द्र काठमाडौं, सन् २००४ मा  सिद्धार्थ आर्ट ग्यालरी र चौथो प्रदर्शनी सन् २००६ मा ग्यालरी नाइन लाजिम्पाटमा भएको थियो। स्वदेश तथा विदेशमा थुप्रै सामूहिक चित्रकला प्रदर्शनीमा उनी सहभागी भएका छन्। 

कार्टुनको क्षेत्रमा वात्स्यायनबाट बढी चिनिएका बरालले आफूलाई यसैका माध्यमबाट आफूलाई सर्वोत्कृष्ट कार्टुनिस्टका रूपमा स्थापित गराएका छन्। साहित्यिक पत्रिका प्रांगण र राष्ट्रपुकार, मातृभूमि, सुरुचि, देशान्तर, गोरखापत्र, कान्तिपुर र द काठमान्डु पोस्टजस्ता पत्रपत्रिकामा काम गरे। बरालले एकल कार्टुन प्रदर्शनी पनि गरेका छन्। उनको प्रकाशित कृतिमा वात्स्यायन एन्ड हिज बाब्र्स  : अ कार्टुनिस्ट्स टेक अन पोस्ट १०९० नेपाल (भोल्युम १) छ। वात्स्यायन एन्ड हिज बाब्र्स (भोल्युम २), प्रकाशोन्मुख छ। 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर