
सरकारले स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतका लागि छुट्टै आचारसंहिता जारी गरेसँगै अहिले उक्त आचारसंहिता कार्यान्वयनको अवस्थाका बारेमा सरकारले सूक्ष्म अध्ययन गरिरहेको छ । कतिपय प्रमुख प्रशासकीय अधिकृतले आचारसंहिता पालना नगरेको गुनासो आउन थालेपछि सरकारले यसरी अध्ययन गर्न थालेको हो ।
भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता गणेशप्रसाद भट्टले भन्नुभयो, “स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतलाई गत जेठमै छुट्टै आचारसंहिता जारी गरी कार्यान्वयनमा ल्याइए पनि कतिपयले त्यसको कार्यान्वयनलाई बेवास्ता गरेका कारण अध्ययन सुरु गरिएको हो ।” प्रमुख प्रशासकीय अधिकृतको व्यवहार निष्पक्ष, तटस्थ, अनुशासित, मर्यादित र सदाचारी बनाउनुपर्ने, आचारसंहितामा स्थानीय तहको कार्यजिम्मेवारीप्रति प्रमुख प्रशासकीय अधिकृत जिम्मेवार र लगनशील रहनुपर्ने, सेवाग्राही र सरोकारवालासँग सहयोगीका रूपमा इमानदार रही सेवा प्रवाहमा प्रतिबद्ध रहनुपर्ने जारी आचारसंहितामा उल्लेख गरिएको छ ।
उहाँले प्रमुख प्रशासकीय अधिकृतका लागि बनाइएको आचारसंहिता एक पटकका लागि नभई सधैँका लागि भएकाले अब आचारसंहिता पालना भए वा नभएको सन्दर्भमा अनुगमन गरी मूल्याङ्कन गर्ने समय आएको बताउनुभयो । प्रमुख प्रशासकीय अधिकृतले कार्यालय, होटेल, रेस्टुरेन्ट तथा अन्य सार्वजनिक स्थानमा अस्वाभाविक र भड्किलो व्यवहार प्रदर्शन गर्न नहुने, कर्तव्यपालना गर्ने सिलसिलामा आइपरेका तथा सम्भावित समस्या समाधान हुन नसके सम्बन्धित स्थानीय तहको अध्यक्ष वा प्रमुखलाई समयमै जानकारी गराउनुपर्ने मन्त्रालयले जारी गरेको आचारसंहितामा भनिएको छ ।
स्थानीय सरकार सञ्चालन ऐनमा स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृत स्थानीय तहको समग्र कर्मचारीको प्रमुख, गाउँ र नगर कार्यपालिकाको सदस्यसचिव, गाउँ र नगर सभाको सचिव हुने व्यवस्था छ । प्रमुख प्रशासकीय अधिकृतले गर्ने कार्यले स्थानीय तहको नीति निर्माण र कार्यान्वयन तहमा महत्वपूर्ण भूमिका रहने विश्वासका साथ मन्त्रालयले यस्तो कार्यविधि ल्याएको थियो । स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतलाई सङ्घीय सरकारले खटनपटन गर्ने व्यवस्था छ । महानगरपालिका र उपमहानगरपालिकामा सहसचिवलाई प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी प्रदान गर्नुपर्ने व्यवस्था गरेको छ भने नगरपालिकामा उपसचिव र गाउँपालिकामा शाखा अधिकृतलाई प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी प्रदान गर्नुपर्ने उल्लेख छ ।


















