
पूर्वी नेपालमा अरुण र तमोर नदीबिचको धनकुटालाई आफ्नो उद्गम थलो मान्दै आएका सीमान्तकृत जाति आठपहरियाको मुख्य चाड वडाङमी (मंसिरे) सुरु भएको छ । एक महिनासम्म चल्ने मुख्य चाड वडाङ्मेट आठपहरियाको ठुलो घर अर्थात् ५२ चुले घरमा माङ्लाङ उठाएपछि चाड सुरु भएको हो ।
आठपहरिया जातिको विषेशगरी वैशाखे, भदौरे र मंसिरे गरी तीनमध्ये वडाङमी अर्थात् मंसिरे चाड महत्वपूर्ण तथा ठुलो चाडको रुपमा मनाउने गर्दछन् । यो चाडमा दुःखबाट उक्सिने, घरमा जेठो छोरो जन्मिदा र नयाँ घर निर्माण गरेकोपछि हर्षोल्लास मनाउने चलन रहेको धनकुटा नगरपालिका–८, का वडाध्यक्ष समेत रहनुभएका रसबहादुर आठपहरियाले बताउनुभयो ।
उहाँका अनुसार मुख्यगरी धनकुटा नगर क्षेत्रमा मात्रै बसोवास रहेका आठपहरियाहरु वर्षभरी आफ्ना बुबाआमा गुमाउनेले धनकुटाबाट हिँडेर सुनसरीको बराहक्षेत्र जाने गर्दछन् । बराहक्षेत्र पुगेर कोकाहा खोलामा कपाल र दाह्री खौरिएर दसी बगाउने गरिन्छ भने बराह भगवानको दर्शन गरी शिला आफ्नो घरमा लिएर आउने प्रचलन रहिआएको उहाँले बताउनुभयो ।
खासगरी द्वादशीको दिन शुक्रबार धनकुटाबाट बराह क्षेत्रतर्फ हिँड्दै जाने र बेलुका धनकुटाको साँगुरीगढी–९, स्थित आहाले र भञ्ज्याङ (सिमलबाँस) मा बास बस्ने उहाँको भनाइ छ । आइतबार बराहक्षेत्र पुगी कोकाहा खोलामा कपाल दाह्री खौरिएर स्नान गरेर बराह भगवानको दर्शन गरेर सोही ठाउँमा बस्न आइपुग्ने आठपहरिया समाजका केन्द्रीय उपाध्यक्ष सूर्य आठपहरियाले बताउनुभयो ।
यस्तै, सोमबार शिला (देउता) लिएर फर्किएपछि धनकुटा नगरपालिका–९, स्थित तमोर नदि किनारमा रहेका मुलघाटमा बास बसी मंगलबार घर आइपुग्ने उहाँले बताउनुभयो । यस्तै धनकुटामै हुनेहरूले भने सोमबार मार्गा पूजा गर्ने गरेका छन् ।
मंगलबार अर्थात् पूर्णिमाको दिन बिहान घर आएपछि दुःखको कर्म फुकाउने काम हुन्छ । यससँगै भोज खुवाउने र आठपहरियाको कला, संस्कृति, भेषभूषा र रितिथिति अनुसारको नाचगान गर्ने प्रचलन रहेको छ ।
उक्त नाच आठपहरियाको घरैपिछे पुगेर औँसीसम्म नाच्ने गरेका छन् । चाडका अवसरमा आठपहरिया जातिभित्रको हुम्वारक, छिर्लिङे, खावाडो तीन पाछा अर्थात् पुस्ताको डल्ले नाच नाच्ने चलन छ ।
सीमान्तकृत आठपहरिया जाति धनकुटा नगर क्षेत्रमा मात्रै बसोबास रहेकाले धनकुटा नगरपालिकाले वडाङमी (मंसिरे) चाडको अवसरमा नगरभित्र एकदिन सार्वजनिक बिदासमेत दिने गरेको छ ।












