
पूर्वी पहाडी तथा हिमाली जिल्ला सङ्खुवासभाको उच्च हिमाली क्षेत्र तथा खर्कमा रहेका भेडी गोठहरू चिसो बढ्न थालेपछि औल झर्न थालेका छन् ।
हिमाली क्षेत्रमा चिसोसँगै हिमपात झर्न थालेपछि न्यानोको खोजी गर्दै भेडी गोठ औल झर्न थालेका हुन् । हिमाली खर्कहरूमा हिमपात पछि चरनको अभाव हुने भएकाले तल्लो औल क्षेत्रमा बर्सेनि झार्ने गरिन्छ । उच्च हिमाली भेगहरुमा असोज देखि नै चिसो बढ्ने र कात्तिक लागेपछि बिस्तारै हिमपात सुरु हुने भएकाले चरनको अभाव हुने मकालु गाउँपालिका–३ सिम्माका स्थानीय काजीमान गुरुङले बताउनुभयो ।
उहाँका अनुसार, खर्कमा हिमपात हुन थालेपछि सबै ठाउँ हिउँको सेताम्मे भएपछि घाँस कतै देखिदैन, चरन अभावले त्यतिकै चिसो र घाँस नभएपनि सबै भेडा मर्न थाल्छ, त्यसैले असोज अन्तिम साता देखि नै भेडी गोठ औलमा झार्ने गरिन्छ ।
माथिल्लो भेगमा चिसो बढेपछि तल्लो क्षेत्रको वन जङ्गल र खेतबारीमा भेडी गोठ झार्ने गरिएको गुरुङको भनाइ छ ।
मकालु र भोटखोला गाउँपालिकामा सबैभन्दा धेरै काजीमान गुरुङले भेडा पाल्र्दै आउनुभएको छ । गोठमा करिब सात सय भेडाहरु रहेको उहाँ बताउनुहुन्छ । उहाँले भन्नुभयो, ‘वार्षिक रूपमा भेडा खसी र पाठापाठी गरी एक सय भन्दा धेरै भेडा बेच्छु । दसैंदेखि वैशाखसम्म प्रायजसोः गुरुङ, भोटे, शेर्पा र राई जातिहरूको कुल पूजाआजा धेरै हुन्छ, यो बेलामा भेडाको खोजी निकै हुन्छ । त्यतिबेला राम्रो आम्दानी हुन्छ ।’
काजीमान गुरुङ लामो समयदेखि व्यावसायिक भेडापालक समेत हुनुहुन्छ । विगत लामो समय देखि भेडापालन गर्दै आएको भएपनि पछिल्लो समयमा भेडापालन प्रति युवाहरुको आकर्षण नरहेको उहाँको भनाइ छ । ‘भेडापालनमा जति दुःख छ, लेकाली खर्कमा बस्नुपर्छ, त्यो अनुसारको आम्दानी पनि राम्रै छ तर अहिलेका युवाहरु दुःख गर्न चाहदैनन्,’ काजीमानले भन्नुभयो ।
उच्च हिमाली क्षेत्र लेक अथवा खर्कमा चिसो बढेपछि बर्सेनि भेडी गोठ बेसी अर्थात् औल झार्ने गरिन्छ । गोठालाहरूले असोज अन्तिम सातादेखि चैत्रसम्म औलमा भेडी गोठ राख्ने गर्दछन् । हिमाली क्षेत्रमा बाक्लो हिमपात पर्ने भएकाले भेडा औल नझारे मर्ने गरेको गुरुङको भनाइ छ ।
खासगरी उच्च पहाडी भेगमा प्रशस्त पाइने कालो बनमारा, अम्लिसो र अन्य प्रजातिका वनस्पतिको बाक्लो झाडी भेडाको आहारा भएकोले दिनभर जङ्गलमा चराउने र रात परेपछि गाउँलेहरूले बस्न दिएको खेतबारीमा राख्ने गरेको गुरुङ बताउनुहुन्छ । ‘बेसीमा झर्दा गाउँलेहरूको बारी र खेतमा राखिदिने गछौं, एक हप्ता जति राख्दा सबै बारी र खेतमा मलिदिन्छौ, खेतबारी मलिदिए वापत उनीहरूले भेडालाई खानेकुरा दिन्छन्, त्यहाँ पनि फाइदा नै हुन्छ,’ गुरुङले भन्नुभयो ।
वर्षमा दुई पटक भेडी गोठ लेक र बेसी गर्ने गर्छन् । हिउँदमा चिसो बढेपछि उधौली औल अर्थात् बेसी झारेर भेडी गोठ राखिन्छ भने बर्खा लागेपछि उभौली अर्थात् लेक खर्कमा लगेर भेडी गोठ राख्ने गरिन्छ । बर्सातको समयमा लेक र हिउँदको समय बेसी गर्ने भेडी गोठालोहरूको परम्पराजस्तै हो ।
पुस र माघ दुई महिना भेडीगोठ गाउँ नजिकै सिम्मा गाउँ वरपरको खेत र बारीमा नै राख्ने गरिन्छ । फागुन लागेपछि गाउँभन्दा माथिका खर्कहरूमा जाने गरेको काजीमानले बताउनुभयो । अहिलेसम्म लेकमा बस्दा घाँस पनि सकिएको र गाउँका बारीमा डालेघाँस हुँदा दुई महिना भेडालाई डालेघाँस खुवाएर पाल्ने गरिएको गुरुङको भनाइ छ ।
पछिल्लो समय भेडी गोठ र गोठालोहरुको संख्या घट्दै गएको गुरुङ बताउनुहुन्छ । पहिले–पहिले एउटै गाउँका प्रत्येक घरको भेडी गोठ हुन्थ्यिो । भेडापालनका लागि पर्याप्त चरन क्षेत्र भए पनि युवापुस्ता यो व्यवसायतिर नलाग्दा भेडा गोठाले बर्सेनि घट्दै गएको उहाँको भनाइ छ । ‘पुराना बूढापाका नसक्ने भए, युवा केटाहरू सहर बजार बस्ने विदेशतिर जाने गर्न थालेपछि भेडा पाल्ने कम भएका छन्,’ गुरुङले भन्नुभयो ।
अन्य व्यवसायको तुलनामा भेडापालन चुनौतीपूर्ण भएकाले अहिलेका युवा गोठमा नबस्ने र पशुचौपाया पाल्नतिर चासो नदिने गरेको स्थानीयहरू बताउँछन् । सामुदायिक वनले चरन क्षेत्रमा प्रवेश निषेध र निकै उच्च मात्रामा राजश्व लिन थालेपछि पनि भेडापालनमा समस्या पर्न थालेको उनीहरूको भनाइ छ ।
सङ्खुवासभाको भोटखोला गाउँपालिकाको हुङहुङ, चेपुवा, छुमसुर, च्याम्ताङ र मकालु गाउँपालिकाको सिस्ने, सिम्मा र वालुङ र सेदुवामा भेडापालन गर्ने गरिन्छ । सिलीचोङ गाउँपालिकाको बाला र ताम्कू, सभापोखरी गाउँपालिकाको पावा र स्वाची, चैनपुर नगरपालिकाको नुनढाकी र गुफापोखरी क्षेत्रमा भेडापालन गर्ने गरिन्छ ।











