
नेपाल–भारत सीमाक्षेत्र जोलजीवीमा सताब्दिऔँ पुरानो ऐतिहासिक, व्यापारिक तथा सांस्कृतिक जोलजीवी मेला सुरु भएको छ । नेपालको दार्चुलास्थित मालिकार्जुन गाउँपालिका–७, जोलजीवी र भारतको पिथौरागढ जिल्लास्थित जौलजीवीमा बर्सौंदेखि लाग्दै आइरहेको मेलाको भारत उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंह धामीले उद्घाटन गर्नुभएको हो । नेपालतर्फ भने मङ्सिर १ गतेदेखि मेला लाग्ने गर्छ ।
भारततर्फ प्रत्येक वर्ष नोभेम्बर १४ देखि सुरु हुने यो मेला नेपालतर्फ भने मङ्सिर १ देखि औपचारिक रूपमा सञ्चालन गर्ने गरिएको छ । मालिकार्जुन गाउँपालिकाका अध्यक्ष हिरासिंह धामीका अनुसार यस वर्ष पनि नेपालको जोलजीवीमा मङ्सिर १ देखि मेला लाग्ने छ ।
काली (महाकाली) नदी र गोरी नदीको सङ्गमस्थलमा लाग्ने जोलजीवी मेला नेपाल र भारतबिचको ऐतिहासिक, व्यापारिक तथा सांस्कृतिक सम्बन्धको प्रतीकका रूपमा लिने गरिएको स्थानीय कला संस्कृतिका जानकारी प्रकाशचन्द्र मिश्रले बताउनुभयो । भारततर्फ अस्कोटका तत्कालीन राजा पुष्कर पालले जोलजीवीमा ज्वालेश्वर मन्दिर स्थापना गरी मेलाको सुरुवात गरेको ऐतिहासिक विवरणमा उल्लेख गरेको उहाँले बताउनुभयो । उहाँका अनुसार मेलाको सुरुवाती समयमा नेपाल, भारत र चीनको तिब्बत क्षेत्रका व्यापारी मेलामा सहभागी हुने गरेका थिए । काली नदी र गोरी नदीको सङ्गमस्थलमा लाग्ने जोलजीवी मेला हिमालय क्षेत्रको एक प्राचीन, ऐतिहासिक र सांस्कृतिक रूपले महत्वपूर्ण व्यापारिक मेला भएको उहाँले बताउनुभयो ।
लगातार १० देखि १५ दिनसम्म चल्ने मेलाको इतिहास सयौँ वर्ष पुरानो मानिन्छ । व्यापार, धर्म, संस्कृति र सामाजिक एकताको मिश्रण मेलामा पाइने उहाँले बताउनुभयो । ऐतिहासिक व्यापारिक मेला भारत, नेपाल र तिब्बत (चीन) को साझा सांस्कृतिक र व्यापारिक सम्बन्धलाई जीवन्त राख्ने प्रतीकका रूपमा परिचित हुँदै आएको उहाँको भनाइ छ । जोलजीवी मेला प्राचीनकालदेखि आधुनिक समयसम्म मनाइँदै आएको छ । सीमान्त क्षेत्रमा व्यापारिक गतिविधि बढाउन मेलाको आयोजना गर्ने गरिएको उहाँले बताउनुभयो ।
यस क्षेत्रको धार्मिक महत्व पनि मेलाको उत्पत्तिको एक प्रमुख आधार हो, मङ्सिर महिनाको वृश्चिक सङ्क्रान्तिका दिन काली र गोरी नदीको सङ्गममा स्नान गरी मेला सुरु हुने परम्परा रहिआएको छ । मेलामा नेपालतर्फ जुम्ला, हुम्ला र बाजुरालगायत जिल्लाबाट घोडा बिक्रीका लागि व्यापारी आउने गर्छन् भने भारततर्फ भारतको आगरा, मथुरा, बरेली, दिल्ली, मुरादाबाद, काशीपुर, रामनगरलगायतका सहरबाट व्यापारी आउने गर्छन् । विशेष गरी जुम्ली घोडाको खरिदबिक्री मेलाको प्रमुख आकर्षणमध्ये एक रहेको उहाँले बताउनुभयो । मेलामा यहाँका किसान तथा व्यापारीले घिउ, मह, निगालोबाट बनेका सामग्री, तिब्बती नुन, उन, पस्मिना र हिमाली जडीबुटी यार्चागुम्बा तथा कट्कीको समेत व्यापार गर्ने गरेको उहाँले बताउनुभयो ।













