
दक्षिण एसियाकै पहिलो मानवनिर्मित सुरुङमार्गका रूपमा चिनिने मकवानपुरको चुरियामाई सुरुङ पर्यटकीय गन्तव्य बन्न सकेको छैन । पुनर्निर्माणमा तीन करोडभन्दा बढी रुपियाँ खर्च गरेर सर्वसाधारणका लागि खुला गरिएको २३ महिनामा जम्मा एक हजार ८९१ जनाले मात्रै सुरुङ अवलोकन गरेका छन् । त्यसमध्ये पनि अधिकांश चुरियामाई मन्दिर दर्शन गर्न आउने स्थानीयवासी हुन् । विदेशी पर्यटक भने अहिलेसम्म सुरुङ अवलोकन गर्न आएका छैनन् ।
हेटौँडा उपमहानगरपालिका–१५ मा पर्ने यो सुरुङ पुनर्निर्माणपछि सर्वसाधारणका लागि खुला गरिएको छ । सुरुङ व्यवस्थापन समितिका अनुसार हालसम्म तोकिएको शुल्क तिरेर एक हजार ७३१ नेपाली नागरिक र विद्यार्थी शुल्कमा १६० जनाले अवलोकन गरेका छन् । जीर्ण अवस्थामा रहेको सुरुङलाई आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बनाउने उद्देश्यले तीन करोड ३६ लाख १३ हजार रुपियाँ खर्च गरेर पुनर्निर्माण गरिएको थियो ।
सुरुङ अवलोकन गर्न आउने पर्यटकको पर्खाइमा दिन बिताउनुपर्ने अवस्था रहेको कर्मचारी प्रिया सिँजाली मगर बताउनुहुन्छ । उहाँका अनुसार शनिबार पाँचदेखि सात जनासम्म अवलोकनकर्ता आउने गरे पनि अन्य दिन प्रायः सुनसान हुन्छ । आउनेमध्ये अधिकांश सुरुङसँगै रहेको चुरियामाई मन्दिरका दर्शनार्थी हुन् । मन्दिरमा भक्तजन नआउने हो भने सुरुङ अवलोकन गर्नेको सङ्ख्या अझै न्यून हुने उहाँको भनाइ छ ।
सुरुङ व्यवस्थापन समितिका अध्यक्ष प्रेम भोम्जनका अनुसार १०९ वर्ष पुरानो संरचनाको पुनर्निर्माणले ऐतिहासिक महत्वको अध्ययन तथा अवलोकन गर्ने अवसर दिएको छ तर सुरुङपरिसरको अवस्था भने सन्तोषजनक छैन । अवलोकनका लागि बनाइएका सिँढीमा झाडी पलाएर हिँड्नसमेत असहज भएको छ । नियमित सरसफाइ र संरक्षणमा ध्यान नदिइँदा पर्यटकीय आकर्षण थप कमजोर बनेको छ ।
अवलोकनका लागि उपमहानगरपालिकाले निर्धारण गरेको प्रवेश शुल्क पनि केहीका लागि महँगो भएको गुनासो आउने गरेको अध्यक्ष भोम्जन बताउनुहुन्छ । सुरुङभित्र थप आकर्षक संरचना, मूर्ति तथा कलात्मक सामग्री राख्नसके पर्यटकको आकर्षण बढ्न सक्ने सुझाव अवलोकनकर्ताले दिने गरेको उहाँले बताउनुभयो ।
उपमहानगरपालिकाका शाखा अधिकृत जगन्नाथ सापकोटाले सुरुङको ऐतिहासिक महत्वबारे पर्याप्त प्रचारप्रसार हुन नसकेको स्वीकार गर्नुभयो । उहाँले भन्नुभयो, “समस्याका कारण पहिचान गरेका छौँ । सुरुङमा थप संरचना राख्नुभन्दा पनि यसको ऐतिहासिक पक्षबारे प्रचारप्रसार आवश्यक देखिएको छ ।” उपमहानगरपालिकाले प्रवेश शुल्कसम्बन्धी कार्यविधिमा संशोधन गर्ने र नगरभित्रका पर्यटकीय स्थललाई समेटेर एकीकृत कार्यक्रम बनाउने तयारी गरेको उहाँले बताउनुभयो । कार्यविधि अनुसार सुरुङ अवलोकनका लागि नेपाली नागरिकलाई ५० रुपियाँ, विदेशीलाई एक सय रुपियाँ र विद्यार्थीलाई १० रुपियाँ प्रवेश शुल्क निर्धारण गरिएको छ । पाँच वर्षमुनिका बालबालिका, अपाङ्गता भएका व्यक्ति तथा ज्येष्ठ नागरिकलाई निःशुल्क प्रवेशको व्यवस्था छ । चलचित्र तथा म्युजिक भिडियो छायाङ्कनका लागि एक हजार रुपियाँ शुल्क तोकिएको छ ।
ऐतिहासिक महत्व
सुरुङमार्ग पुनर्निर्माणका लागि २०७८ साउन १४ गते शिलान्यास गरिएको थियो । २०८० साउन २२ गते पुनर्निर्माण सम्पन्न भए पनि स्थानीय तहलाई हस्तान्तरण गर्ने प्रव्रिmया पूरा हुन थप समय लागेको थियो । निर्माण सम्पन्न भएको १७ महिनापछि २०८१ पुस ८ गते हेटौँडा उपमहानगरपालिकालाई हस्तान्तरण गरी सर्वसाधारणका लागि खुला गरिएको थियो ।
विसं १९७४ मा राणा प्रधानमन्त्री चन्द्रशमशेरको पालामा निर्माण गरिएको यो सुरुङ नेपालका प्रथम स्नातक इन्जिनियर मानिने ब्रिगेडियर जनरल डिल्लीजङ्ग थापाले डिजाइन गर्नुभएको थियो । करिब पाँच सय मिटर लम्बाइको सुरुङ चुरे पर्वत छिचोलेर तराई र पहाडबिच यातायात सम्पर्क सहज बनाउने उद्देश्यले निर्माण गरिएको थियो । माटो, इँटा, चुना र सुर्की प्रयोग गरी बनाइएको सुरुङ साढे दुई मिटर चौडा र तीन मिटर अग्लो छ । सुरुङको एकापट्टिको भाग पुरिएपछि यसको करिब २८० मिटर मात्र बाँकी रहेको थियो । सन् १९६३ सम्म यसबाट सवारीसाधन आवतजावत हुने गरेको इतिहास छ । त्रिभुवन राजपथ निर्माणका क्रममा सुरुङको बिच भाग भत्काएर त्यसमाथि सडक बनाइएको थियो । २०७२ सालको भूकम्पले थप क्षति पुर्याएपछि सुरुङ प्रयोगविहीन बनेको थियो ।


















