नेभिगेसन मेनु

हिमाल र नेपाल बुझाउने नेपाल मण्डप
सम्पादक:南亚网络电视
समय:2026-11-17 13:47

Nepal-Pevilion

गत भदौ १० गते रसुवा भोटेकोशीको बाढीको घटना विश्व समुदायका लागि चाँसोको विषय बनेको थियो ।

हिमाल पग्लिनु, हिमताल फुट्नु, बाढीले बितन्डा मच्चाउनु र सयौँ मानिसले मृत्युवरण गरेको घटनाका बारेमा सबिस्तार रूपमा सुन्ने र बुझ्ने विश्व समुदायको इच्छा र आकांक्षा यो पटक जलवायु विश्व सम्मेलनको ३१औँ संस्करण (कोप ३१) ले केही हदसम्म पूरा गरिदिएको छ । 

हिमाली मुलुकको समस्याबारे विश्व समुदायलाई सुनाउने उद्देश्यले यसपटक नेपालले कोप सम्मेलन स्थल टर्कीएको अन्तल्यामा नेपाल मण्डप (नेपाल पेभिलिएन) राखेको छ ।

पेभिलियन जोनमा संसारका एक सय भन्दा बढी मुलुकले आआफ्ना देशका बारेमा जानकारी दिने पेभिलिएन स्थापना गरेका छन् । ती मध्ये सबैको आकर्षणको केन्द्र नेपाल मण्डप (नेपाल पेभिलिएन) बनेको छ । 

नेपाल मण्डपमा सबै महादेशबाट प्रतिनिधित्व गर्ने मुलुकका प्रतिनिधिहरूले बसेर नेपालको समस्या र सम्भावना बारे सुन्ने गरेका छन् । कृषि, वन तथा पर्यावरण मन्त्री गिता चौधरीले नेपाल मण्डपलाई नेपालको समस्या चिनाउने, सुनाउने र सम्भावना बारे जानकारी दिने बुझाउने बिसौनी बनेको प्रतिक्रिया दिनुभयो ।

मन्त्री चौधरीले भन्नुभयो, “यो ठाउँ नेपालका बारेमा बुझाउने साझा थलो भएको छ । नेपाल बारे जान्न खोज्ने, बुझ्न चाहाने विदेशीका लागि गन्तव्य जस्तै बनेको छ ।”

कोप ३१ सम्मेलनको औपचारिक उद्घाटन भएको दिनदेखि आठौँ दिनसम्म नेपालका बारेमा कुरा सुन्ने विदेशीको भीड लाग्ने गरेको छ । नेपाल मण्डपको व्यवस्थापनमा सक्रिय प्रकाश लामिछानेका अनुसार नेपाल मण्डपमा हरेक दिन कम्तिमा तीन देखि छ वटा साइट इभेन्ट्सहरु आयोजना हुने गरेका छन् । 

विशेष गरी रसुवा भोटेकोशीका बाढी, बाढीबाट भएको हानी नोक्सानी, जलवायु परिवर्तनले नेपालको हिमाली क्षेत्र देखि तराईका आदिवासी जनजातिमा पारेको असर, हिमाली अर्थतन्त्र, जलवायु परिवर्तनले नेपाली समाजमा देखिएका जीवनशैली र आर्थिक, सामाजिक, सांस्कृतिक प्रभाव, युवायुवतीमा पारेको मनोवैज्ञानिक असर लगायतका विज्ञान र प्रविधिका विषयहरुमा नेपाल मण्डपमा छलफल र बहस हुने गरेका छन् । 

यहाँ भइरहेका छलफल तथा बहसहरू वैज्ञानिक तथ्य र अध्ययनमा आधारित हुने गरेको कृषि, वन तथा पर्यावरण मन्त्रालयका सचिव डा. राजेन्द्रप्रसाद मिश्रले जानकारी दिनुभयो । डा. मिश्रले भन्नुभयो, “नेपाल पेभिलिएनमा नेपालका बारेमा जान्न चाहाने, सुन्न चाहाने विदेशी वैज्ञानिक, अनुसन्धानकर्ता, कुटनीतिज्ञहरूको भेटघाट हुने थलो बनेको छ । यस पटकको पेभिलिएन नेपाललाई चिन्ने र चिनाउने चौतारी जस्तै भएको छ ।”

सम्मेलनका सहभागी गैर सरकारी संस्था महासङ्घका अध्यक्ष अर्जुन भट्टराईका अनुसार गत भदौमा नेपालमा भएको प्राकृतिक महाविपत्तिबारे जानकारी लिन चाहाने, हिमालका मुद्धा बारे जिज्ञासा राख्ने चाहने जोकोहीका लागि सम्मेलन स्थलको नेपाल मण्डप निकै प्रभावकारी देखिएको छ । 

उहाँले भन्नुभयो, “नेपालका शुभचिन्तक देश, दाता, सहयोगी बहुराष्ट्रिय कम्पनीका प्रतिनिधिहरूले यसपटक नेपाल मण्डप भिजिट गरेको देखियो । यो नेपालका लागि ठुलो अवसर पनि हो । भावी दिनमा नेपालको प्राकृतिक विपत्तिमा सहयोग गर्ने हातहरु बढ्न सक्ने सम्भावना बढेको छ ।”

नेपालका तर्फबाट विभिन्न समझदारी र संवादमा सक्रिय सहभागी हुँदै आउनुभएका जलवायु विज्ञ डा. सिन्धुप्रसाद ढुङ्गानाले भन्नुभयो, “नेपाल मण्डपका कारण नेपालका बारेमा कुनै पनि दातृ निकाय, शुभेच्छुक मुलुकका प्रतिनिधिसँग कहाँ बसेर कुरा गर्ने समस्या टरेको छ । सम्मेलनस्थलमा महत्वपूर्ण बैठक, छलफल गर्नुपर्ने हुन्छ, ती बैठक र छलफल गर्ने, आफ्ना कुरा भन्ने, सुनाउने थलोको रूपमा यसले काम गरेको छ ।” 

कृषि, वन तथा पर्यावरण मन्त्रालयका प्रवक्ता तथा जलवायु परिवर्तन व्यवस्थापन महाशाखा प्रमुख डा. महेश्वर ढकालका अनुसार नेपाल र हिमालका विषयबारे बहस गर्ने साझा बिसौनी नेपाल पेभिलिएन भएको छ । नेपालका सबै शुभचिन्तक विदेशीले समेत हाम्रो पेभिलिएन भिजिट गर्ने गरेका छन् । 

सोमबारसम्ममा भएका साइट इभेन्टसमा करिब २०० विज्ञ, अध्येता, प्राध्यापक, वैज्ञानिकहरूले बोलिसकेका छन् । ती मध्य ४० प्रतिशत महिला रहेका छन् भने ६० प्रतिशत विदेशी वक्ताहरूले बोलेका छन् । कुरा सुन्ने र जिज्ञासा राख्ने विदेशीको संख्या झण्डैले पाँच सय भन्दा बढी रहेको छ । 

नेपाल मण्डपमा नेपालका साइट इभेन्टस सञ्चालन गर्न दातृ निकाय, दातृ मुलुक, बहुराष्ट्रिय कम्पनी, विकास साझेदार संस्था, संयुक्त राष्ट्र सङ्घ र उसका नियोगहरूले नेपाललाई सहयोग गरिरहेका कुरा कृषि, वन तथा पर्यावरण मन्त्रालयले जानकारी दिएको छ । 

नेपाल मण्डपमा परराष्ट्र मन्त्री शिशिर खनाल, अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, कृषि, वन तथा पर्यावरण मन्त्री गिता चौधरी, शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले विभिन्न साइट इभेन्ट्समा सहभागि भएर विदेशी कुटनीतिज्ञ, विकास साझेदार संस्थाका प्रतिनिधिहरूसँग छलफल र अन्तक्रिया गरिसकेका छन् ।

नेपाल मण्डपमा आयोजना भएका कार्यक्रममा विभिन्न मुलुकका मन्त्री, कुटनीतिक नियोगका प्रतिनिधि, विकास साझेदार संस्थाका प्रमुखहरूले भाग लिइसकेका छन् ।  

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
माथी