नेभिगेसन मेनु

उच्च लयमा नेपाल
सम्पादक:南亚网络电视
समय:2023-04-19 13:49

thumb (3)

एसीसी प्रिमियर कप क्रिकेटमा उत्रनुअघि नेपाल निकै उच्च लयमा थियो । विश्वकप लिग २ का १२ मध्ये ११ खेल जितेर विश्वकप छनोटमा पुग्दै नेपाल एसिया कप छनोट समेत रहेको यो प्रतियोगितामा उत्रिएको थियो । 

त्यसैले त कप्तान रोहित पौडेल मंगलबार मलेसियामाथि प्राप्त ६ विकेटको आरामदायी विजय पछि भन्दै थिए, ‘जहाँ हामीले अन्त्य गरेको थियौं, त्यहींबाट सुरु गरेका छौं । हाम्रो राम्रो सुरुआत भएको छ ।’

मलेसियाले छाडेको २ सय ३६ रनको लक्ष्य नेपालले भीम सार्की र कुशल मल्लको अर्धशतकपछि ३६.२ ओभरमै पूरा गरेको थियो ।

प्रिमियर कप विजेताले सेप्टेम्बरमा हुने एसिया कपमा भारत र पाकिस्तानसँग खेल्न पाउने छ । लिग २ को प्रदर्शनले नेपाललाई प्रिमियर कपको दाबेदार टोलीमा हेरिएको छ । मलेसियासँग कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले त्यही दाबेदारिता प्रस्तुत गरेको थियो । ओमान, कतार र साउदी अरेबियासम्मिलित समूह ‘ए’ मा मलेसियालाई पराजित गरेपछि नेपालको सेमिफाइनल बाटो सहज बन्दै गएको छ ।

भीम र कुशलले असाधारण ब्याटिङ गरेपछि नेपालको जित सहज भएको रोहितको निचोड थियो । ‘म र कुशल भुर्तेल आउट भएपछि दबाबमा रहेको अवस्थामा पनि भीमले इनिङ्स होल्ड गरेर खेले, कुशलले पनि आक्रामक इनिङ्स खेले,’ रोहितले भने, ‘मलेसिया पनि राम्रो टोली हो, २–३ वर्षदेखि नियमित क्रिकेट खेलिरहेको छ । मलेसियालाई यसरी जित्नु भनेको हामीले आफ्नो स्तर कायम राखेको छ भन्ने पनि हो ।’

भीम र कुशलको शतकीय साझेदारी

भीम र कुशलले चौथो विकेटमा १ सय १२ रनको साझेदारी गरे । भीमले ७१ रन बनाए । नेपाल विजयभन्दा ५ रन बाँकी हुँदा आउट भएका भीमले ९८ बल खेल्दै ५ चौका प्रहार गरे । प्लेयर अफ द म्याच कुशलले अविजित ७० रन बनाए । उनले ४० बल खेल्दा समान ५ चौका र छक्का प्रहार गरे । दीपेन्द्रसिंह ऐरी ३ बलमा ५ रन बनाई अविजित रहे ।

नेपालको सुरुआत राम्रो थिएन । आसिफ शेख (१) पहिलो ओभरमै आउट भए । उनलाई मोहम्मद वाफिकले कट एन्ड बोल्ड गरे । कुशल भुर्तेल र भीमले दोस्रो विकेटमा ४८ रनको साझेदारी गरे । कुशलले ३१ बलमा ५ चौका र २ छक्कासहित ३८ रन बनाए ।

रोहितले पनि छिटो गतिमा रन जोड । उनले ४३ बल खेल्दै ५ चौकासहित ४२ रन बनाए । २२ औं ओभरमा उनले क्याच दिँदा नेपालको खातामा १ सय १९ रन थियो । त्यसपछि भीमले संयमित र कुशल मल्लले आक्रामक खेल्दै नेपाललाई विजयी गराए ।

यसअघि कप्तान अहमद फैज र वीरनदीप सिंहले शतकीय साझेदारी गरेपछि मलेसियाले तुलनात्मक रूपमा बलियो मानिएको नेपालविरुद्ध राम्रो स्कोर बनाएर चुनौती दिएको थियो । मलेसियाले टस जितेर ९ विकेट गुमाई २ सय ३५ रन बनायो । फैजले ७६ रन बनाए । उनले ९५ बल खेल्दै ८ चौका र १ छक्का प्रहार गरे । उनले वीरनदीपसँग दोस्रो विकेटमा १ सय १६ रनको साझेदारी गरे । उनी भने अर्धशतक बनाउन चुके । उनले ९४ बलमा ४६ रन बनाउँदा २ चौका प्रहार गरे ।

मोहम्मद अमिरलाई १८ रनमा गुलशन झाले आउट गरेपछि फैज र वीरनदीपको जोडी जमेको थियो । फैजलाई आउट गरेपछि नेपालले नियमित जस्तो विकेट लिन सुरु गर्‍यो । विजय युनी १२ र सैयद अजिज १३ रनमा आउट भए । सोमपाल कामीले लगातार बलमा खिजार हायत र फिर्ती सामलाई आउट गरे । हायतले २५ बल खेल्दै १ चौका र १ छक्कासहित २२ रन बनाए ।

सोमपाल र सन्दीप लामिछानेले ३–३ विकेट लिए । सोमपालले ९ ओभरमा ४० र सन्दीपले १० ओभरमा १ मेडन राख्दै ४८ रन खर्चे । ललित राजवंशीले १० ओभरमा ३४ रन खर्चेर २–२ विकेट लिए । नेपालले शुक्रबार ओमानसँग कीर्तिपुरमै खेल्नेछ ।

मूलपानीमा पहिलो अन्तर्राष्ट्रिय खेल

मूलपानीको माथिल्लो क्रिकेट मैदानमा पहिलोपल्ट अन्तर्राष्ट्रिय क्रिकेट भएको छ । हङकङ र सिंगापुरबीच मंगलबार प्रिमियर कपको समूह ‘बी’ को प्रतिस्पर्धा भएको खेल नेपाल क्रिकेट संघको मुख्यालयमा भएको पहिलो अन्तर्राष्ट्रिय खेल हो ।

हङकङका बाबर हायतले शतक बनाएर मूलपानीको पहिलो अन्तर्राष्ट्रिय खेल स्मरणीय बनाइदिए । टस हारेपछि ब्याटिङमा आएको सिंगापुर ४२.१ ओभरमा १ सय ७४ रनमा अलआउट भयो । बाबरले अविजित १ सय ८ र निजाकत खानले अविजित ५१ रन बनाएपछि हङकङले ३३ ओभरमै लक्ष्य पूरा गर्‍यो ।

बुधबार कीर्तिपुरमा यूएई र कुवेत तथा मूलपानीमा ओमान र कतारले प्रतिस्पर्धा गर्नेछन् ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर