नेभिगेसन मेनु

त्रिदेशीय कप फाइनल आज
सम्पादक:南亚网络电视
समय:2023-03-31 13:10

thumb (1)

काठमाडौँ — दैनन्दिनै खेल्नुपर्ने लिगका खेल र खेलाडीहरू अस्ट्रेलिया पलायनको पीडासँगै उपलब्ध फुटबलरले पनि स्वाभाविक लय गुमाएपछि नेपाली राष्ट्रिय टिमले दशरथ रंगशालामा भइरहेको प्रधानमन्त्री त्रिदेशीय कप फुटबलमा समूह चरणका दुई खेलमा राम्रो प्रदर्शन गर्न सकेन । भुटानविरुद्ध पहिलोपल्ट बराबरी खेलेर पनि फाइनलमा उभिएको घरेलु टिमले उपाधि होडमा आज शुक्रबार लाओसविरुद्ध सुधारिएको खेल पस्कने अपेक्षा गरिएको छ ।

दक्षिण–पूर्वी एसियाली टिम लाओस राम्रो वा बलियो टिम होइन । भुटान दक्षिण एसियाकै सबैभन्दा कमजोर भइहाल्यो । तर, दुवै खेलमा नेपालको प्रदर्शन गतिलो थिएन । नियमित चार–पाँच पास खेल्न पनि सकेको छैन । अनन्त तामाङ र नवयुग श्रेष्ठको गोलमा लाओसविरुद्ध २–० को जित हात पारेको खेलमा पनि घरेलु टिमको प्रदर्शनले दर्शकलाई खुसी पार्न सकेको थिएन । भुटानविरुद्ध त सम्भवतः अहिलेसम्मकै खराब प्रदर्शन हुनुपर्छ । त्यसैले नतिजा पनि त्यस्तै निस्कियो १–१ को बराबरी । दुवै खेलमा पहुना टिमले वर्चस्व राखेको थियो ।

इटालियन प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेस संक्रमणकालमा नेपाली राष्ट्रिय टिम सम्हाल्न आइपुगेका हुन् । कोभिड–१९ महामारीले थलिएको र अनियमित बनेको लिगसँगै खेलाडी पलायनले पूरा टिम नै संकटग्रस्त बनाएको थियो । नयाँ खेलाडीको बाहुल्य रहेको टिमले नयाँ प्रशिक्षकको रणनीतिलाई मैदानमा उतार्न पो नसकेको हो कि ? फिफाले पुरुष टिमका लागि दिएको यो ‘मार्च’ महिनामा तोकिदिएको अवधि सकिएपछि हुन लागेको लाओसविरुद्धको फाइनलमा प्रदर्शन सच्याउने वा सुधार गर्ने अवसर नेपाली टिमले पाएको छ, जसबाट पूरा टिम र प्रशिक्षकले आलोचकलाई केही शान्त पार्न सक्नेछन् ।

‘फाइनल भनेको फाइनल हो’

‘तयारी राम्रो गरेका छौं । लाओसको सामना गर्दै छौं । पक्कै राम्रो गर्नेछौं । राम्रो नतिजा आउने छ,’ फाइनलबारे प्रशिक्षक एनेसले भने, ‘नतिजाका लागि पनि राम्रो खेल्नु महत्त्वपूर्ण हुनेछ । त्यसको लागि हामी शारीरिक र मानसिक रूपमा तयार छौं । राष्ट्रिय टिममा धेरै खेलाडी नयाँ भएकाले पनि खेल (फाइनल) सबैको लागि राम्रो अवसर हुनेछ ।’ पहिलो खेलमा लाओसविरुद्ध हात पारेको जितको हुनसक्ने फाइदाबारे उनी बोले, ‘फाइनल भनेको फाइनल हो । त्यहाँ त्यस्तो केही हुँदैन । हामी सबै किसिमले तयार हुनुपर्छ र यसैको आवश्यकता छ ।’

तत्कालीन प्रशिक्षक बालगोपाल महर्जनले सम्हालेको नेपाली टिमले ठीक यही बेला दशरथ रंगशालामा दुई वर्षअघि बंगलादेशको राष्ट्रिय टिम र किर्गिस्तानको यू–२३ टिम बोलाइएको थ्री नेसन्स कपको उपाधि जितेको थियो ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले दुई वर्षपछि त्रिदेशीय प्रतियोगिता गर्दा नेपाली टिमका १५ खेलाडी फेरिएका छन् । ‘मेरो टिमप्रति गर्व छ,’ प्रशिक्षक एनेसले भने, ‘हामीसँग कुनै समस्या छैन । नेपाली खेलाडीको बलियो मानसिकताबाट आकर्षित छु । खेलाडीको यो समूहबाट तीन खेल खेल्दैछौं र हामी फाइनलमा पुगेका छौं । अर्को थ्री नेसन्स प्रतियोगिता जित्न चाहन्छौं ।’ नेपालका कप्तान किरण चेम्जोङले भने, ‘कोचले भनेजस्तै फाइनलका लागि मानसिक रूपमा हामी तयार छौं । शारीरिक रूपमा तयार छौं । केही कठिन हुन्छ भन्ने लागेको छ ।’

‘नेपाली टिम फेवरेट’

‘नेपाल राम्रो टिम हो,’ फिफा वरीयतामा नेपालभन्दा १२ स्थानमुनिको टिम लाओसका मुख्य प्रशिक्षक माइकल वेसले भने, ‘नेपालले पनि खेलाडी गुमाएको छ । कोच आएको छोटो समयमात्रै भयो । यो समयमै पनि नेपाली टिम बलियो र संगठित देखिएको छ । उमेरसँगै राम्रो नेतृत्व गर्ने अनुभवी खेलाडीको पनि साथ छ । त्यसैले घरेलु भूमिमा नेपाली टिम ‘बिग फेवरेट’ हो । तर, हामी उसलाई सकेसम्मै गाह्रो बनाउने प्रयास गर्नेछौं ।’

नेपाल र लाओस चौथोपल्ट भिड्न लागेका हुन् । दुई जित र एक बराबरी नेपालको पक्षमा छ ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर