काठमाडौँ — दक्षिण पूर्वी एसिया र दक्षिण एसियाली फुटबलमा कमजोर मानिएका टिमलाई बोलाइएको प्रतियोगिता ‘प्रधानमन्त्री त्रिदेशीय कप’ मा समूह चरणका दुई खेलमा स्वाभाविक लय गुमाएको मात्रै होइन, निकै फितलो प्रदर्शन गरेकाले नेपाली टिम आलोचित भएको थियो । यद्यपि फाइनलमा स्थान बनाएको नेपालले उपाधि होडमा सुधारिएको प्रदर्शन गर्दै लाओसविरुद्ध पछाडि परेको स्थिति उल्टाएर २–१ को नतिजासहित दशरथ रंगशालामा शुक्रबार उपाधि जितेको छ ।
‘फिफा मेन्स इन्टरनेसनल म्याच क्यालेन्डर’ को अवसरमा आयोजित अनौपचारिक प्रतियोगितामा दुवै टिमले तोकिएका दुई–दुई खेल खेलिसकेकाले फिफाको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण मान्यता प्राप्त खेलको रूपमा नरहेको फाइनल वास्तवमै आकर्षक रह्यो । नयाँ प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसको आगमन र स्थापित खेलाडीको अस्ट्रेलिया पलायनपछि नयाँ फुटबलरको बाहुल्यमा नेपाली टिमले हिउँदे झरीमा रुझ्दै रंगशाला प्रवेश गरेका ९ हजार १ सय ६५ दर्शकसामु जितेको उपाधि अर्थपूर्ण रह्यो । मनीष डाँगीले ८८ औं मिनेटमा निर्णायक गोल गर्दै नेपालले नियमित समयमै सफलता दिलाएका हुन् ।
पहिलो : फिफा वरीयतामा आफूभन्दा तलका टिम र स्तरकै हिसाबले पनि तल्लोस्तरका टिम ल्याएर पनि घरेलु टिमले आफ्नै मैदानमा समूह चरणमा गतिलो प्रदर्शन गर्न सकेको थिएन । नेपालले उद्घाटनमा लाओसलाई २–० ले पराजित गरे पनि प्रदर्शनको आधारमा पाहुना टिम नै बलियो थियो । नयाँ स्ट्राइकर दीपकराज सिंह ठकुरीले इन्ज्युरी समयमा गोल गरेपछि नेपालले भुटानविरुद्ध हार टारेको खेल १–१ मा टुंग्याएको थियो । अर्को पहाडी मुलुकविरुद्ध ३९ वर्ष लामो प्रतिस्पर्धाको इतिहासमा नेपाली टिम पहिलोपल्ट जितबाट वञ्चित भएको थियो । खेलमा वर्चस्व पनि भुटानकै थियो । अर्थात् नतिजा र प्रदर्शन दुवै आधारमा नेपालले भुटानसँग इतिहासकै सबैभन्दा खराब फुटबल प्रधानमन्त्री कपमा आएर खेल्यो ।
दोस्रो : राष्ट्रिय टिमका स्थापित र भविष्यका खेलाडीको अस्ट्रेलिया पलायनले नेपाली फुटबललाई ठूलै असर पारेको छ । नेपालकै सबैभन्दा ठूलो उपलब्धिको रूपमा एएफसी सोलिडारिटी कप (सन् २०१६) को उपाधि जित्ने क्रममा फाइनलमा निर्णायक गोल गरेका सुजल श्रेष्ठले यही प्रतियोगिताकै दौरान देश छाडे । उनीसँगै राष्ट्रिय टिमबाट खेलिसकेका डिफेन्डर रन्जित धिमाल पनि अस्ट्रेलियातिर लागे । फुटबल करिअरभन्दा राम्रो आम्दानीसहित सुरक्षित भविष्य रोज्नेक्रममा दुई वर्षयता ४० भन्दा बढी फुटबलर अस्ट्रेलिया पुगेका छन् । त्यसैले राष्ट्रिय टिममा अनुभवी खेलाडी थोरै छन्, नयाँकै बाहुल्य छ । यसकै उदाहरण हो, त्रिदेशीय कपका लागि छनोट गरिएको टिममा नयाँ ६ खेलाडी ।
नेपाली फुटबल इतिहासकै सबैभन्दा ठूलो उपलब्धिको रूपमा कुचिङ (मलेसिया) मा सोलिडारिटी कपको ट्रफी चुमेको सात वर्ष पनि पूरा भएको छैन । तर, त्यो टिमका गोलकिपर किरण चेम्जोङ, डिफेन्डर अनन्त तामाङ, आदित्य चौधरी, अग्रपंक्तिका अञ्जन विष्ट, नवयुग श्रेष्ठ र भरत खवास गरी ६ खेलाडीमात्रै प्रधानमन्त्री कपको उपाधि विजेता टिममा छन् । धेरै टाढा जानुपर्दैन । प्रशिक्षक बालगोपाल महर्जनले सम्हालेको नेपाली टिमले बंगलादेशको राष्ट्रिय टिम र किर्गिस्तान यू–२३ टिम सहभागी ‘थ्री नेसन्स कप’ को उपाधि यही दशरथ रंगशालामा जितेको ठीक दुई वर्ष दुई दिनमात्रै भयो । तर, विवादास्पद प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी, कार्यबाहक रहेका प्रदीप हुमागाईं र प्रवेश कटुवाल हुँदै इटालियन प्रशिक्षक एनेसको पहिलो जिम्मेवारीसम्म आइपुग्दा नेपाली टिममा आमूल परिवर्तन भएको छ ।
नेपालले सन्जोक राई र विशाल राईले गोल गरेपछि फाइनलमा बंगलादेशलाई २–१ ले हराएर ३७ वर्षपछि घरेलु भूमिमा पहिलो उपाधि (थ्री नेसन्स कप) जितेको थियो । त्यो फाइनलमा पहिलो रोजाइमा उत्रिएका सात खेलाडी (सन्जोक, विशाल, दिनेश राजवंशी, रन्जित धिमाल, सुनील बल, तेज तामाङ र त्रिदेव गुरुङ) अहिले टिममा छैनन् । कप्तान किरण, डिफेन्डर अनन्त, रोहित र अञ्जन विष्टमात्रै निरन्तर छन् एनेसको टिममा । ‘बेन्च’मा रहेका गोलकिपर दीप कार्की, डिफेन्डर निशान खड्का, मिडफिल्डर एरिक विष्ट र विंगर/फरवार्ड भरत खवासले उनीहरूसँगै प्रधानमन्त्री कपमा स्थान पाए । बाँकी आठ खेलाडी (विकेश कुथु, विराज, अजित भण्डारी, छिरिङ गुरुङ, सुजल श्रेष्ठ, अभिषेक रिजाल, रविशंकर पासवान र दर्शन गुरुङ) टिमबाट छुटे/बाहिरिए । केही खेलाडी देशबाहिरै पुगेका छन्, केही छनोटमै परेनन् । अखिल नेपाल फुटबल संघ (एन्फा) ले दुई वर्षपछि त्रिदेशीय प्रतियोगिता आयोजना गर्दा नेपाली टिमका १५ खेलाडी फेरिएका छन् ।
तेस्रो ः नयाँ प्रशिक्षकको आगमनले टिमको रणनीति फरक भयो भने त्यसमा अभ्यस्त हुन समय लाग्छ । तर, प्रशिक्षक एनेसले सम्हालेको यो नेपाली टिमले एकसाथ दुई दिनमात्रै अभ्यास गर्ने अवसर पायो । त्यसैले हुनसक्छ, सुरुका दुई खेलमा के नमिले, के नमिलेजस्तो गरी केही पनि नमिलेको देखिएको थियो । दुई कमजोर प्रतिस्पर्धी भएकाले नयाँ प्रशिक्षकसहितको नेपाली टिमलाई कमजोर प्रतिद्वन्द्वीविरुद्ध जित्नैपर्ने दबाब थियो ।
नयाँ प्रशिक्षक, नयाँ खेलाडी र पुरानावीच मैदानभित्र र बाहिर ‘टिमवर्क’ मिलाउन सुरुमै मुस्किल हुन्छ । त्यस्तो समस्या देखियो पनि । तर, फाइनलमा आएर केही सुधार गर्यो । घरेलु मैदानमा खेलाडीहरू चिनजानकै जसरी खेल्न थालेजस्तो भयो । उनीहरू चार–पाँच पास खेल्न सक्ने भयो । त्यसैले सुरुमै पछाडि परेर पनि नेपालले दुई गोल फर्काएर प्रधानमन्त्री कपको ट्रफी स्वदेशमै राख्न सक्यो ।
फोथाभोङ साङभिलेले १८ औं मिनेटमा गोल गर्दै लाओसलाई १–० को अग्रता दिलाउँदा केही सेकेन्ड रंगशालामा सन्नाटा छायो । त्यसमा बोनपछान बोन्कोङको पास यति उत्कृष्ट रह्यो कि उनले दिएको बल पेनाल्टी क्षेत्रभित्र फोथाभोङ पुग्दासम्म नेपालका सबै डिफेन्स बिट भइसकेको थियो । त्यसपछि कप्तान किरणको ठीक अगाडिबाट ‘भली’ मार्फत् फोथाभोङले बल जाली चुमाउँदै पाहुना टिमलाई उसको इतिहासकै पहिलो फाइनलमा अगाडि बढाएका थिए ।
लाओसको अग्रता धेरैबेर टिकेन । आयुष घलानले १२ औं मिनेटमा गोल गर्दै खेल १–१ को बराबरी बनाए । एरिकले दिएको बल अगाडि बढाउँदै पेनाल्टी क्षेत्रभित्रैबाट उनले बायाँ खुट्टाले राम्रो ‘फिनिसिङ’ गर्दै घरेलु टिमलाई खेलमा फर्काए । त्यसअघि नवीन लामाको फ्रि–किकमा सनिश श्रेष्ठले प्रहार गरेको बल गोलकिपर सासाभाथ सुकाफोनले रोकेका थिए । बराबरी गरेको दुई मिनेटपछि नै नेपालले अग्रता लिने मौका पायो । तर, मनीषको पासमा नवीन आफैले प्रहार गर्नुपर्नेमा ढिलाइ गर्दै बल आयुषलाई दिए, जसमा आयुषको प्रहार फितलो भयो, सिधै गालकिपरको हातमा पुग्यो ।
पहिलो हाफ प्रतिस्पर्धात्मक रह्यो । दोस्रो हाफमा नेपाली टिमले आक्रामक रूप लियो । मनीषले सिर्जना गरेको अवसरमा ५६ औं मिनेटमा आयुष बललाई पोस्टको दिशा दिन चुके । सब्स्टिच्युट डिफेन्डर निशान खड्काले फ्रिकिकमा प्रहार गरेको बल ६९ औं मिनेटमा बारमा लागेर फर्कियो । ७१ औं मिनेटमा मनीषको फ्रि–हेडरमा पनि बल पोस्टतिर गएन । अञ्जनले हानेको बल गोलकिपर सुकाफोनले रोकेपछि ७४ औं मिनेटमा मनीषले गोललाइन पार गराए पनि त्यसमा सहायक रेफ्रीले अफसाइड दिएपछि नेपाल फेरि अग्रता लिनबाट रोकियो । अतिरिक्त समयतिर उन्मुख खेलको ८८ औं मिनेटमा अञ्जनको पासमा मनीषले दायाँ क्षेत्रबाट बललाई जाली चुमाउँदै निर्णायक गोल गर्दै नियमित समयमै नेपाललाई उपाधि दिलाए । तेस्रो अन्तर्राष्ट्रिय गोलमा उनको फिनिसिङ उत्कृष्ट रह्यो ।
पछाडि परेपछि लाओस हतारिएको अवस्थामा अफसाइड भएपछि अञ्जनले बल गोलपोस्टतर्फ हानेका थिए । लगत्तै उनलाई गोलकिपर सुकाफोनले धकेलेपछि दुई टिमका खेलाडीबीच एक मिनेट तनावपूर्ण अवस्था बन्यो । तर, तुरुन्तै खेल सुरु भयो र इन्ज्युरीको अन्तिम समयमा आयुष र मनीषले सहज अवसरमा पनि बललाई गोलमा परिणत गर्न सकेनन् । निलम्बनमा परेका डिफेन्सिभ मिडफिल्डर पूजन उपरकोटीको स्थानमा आएका मणिकुमार लामा, मनीष र आयुषको प्रदर्शन राम्रो रह्यो । मनीष फाइनलको उत्कृष्ट खेलाडी चुनिए । आयुष प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडी भए ।