नेभिगेसन मेनु

नेपाली क्रिकेटलाई जोगाऊ
सम्पादक:南亚网络电视
समय:2023-01-12 12:44

मुलुकको क्रिकेटको सर्वोच्च संस्था नेपाल क्रिकेट संघ (क्यान) ले पहिलो पटक आयोजना गरेको नेपाल टी–२० लिग जसोतसो सम्पन्न भएको छ । तर यो पहिलो गाँसमै ढुंगा भनेजस्तो भएको छ ।प्रतियोगिताका क्रममा भएका ‘बेटिङ’, ‘स्पट फिक्सिङ’, ‘म्याच फिक्सिङ’, पारिश्रमिक विवाद र आयोजकमध्ये एक पक्ष फरार हुनुजस्ता प्रकरणले नेपाली क्रिकेटको अँध्यारो पाटोलाई सतहमा ल्याइदिएका छन् ।

यसका कारण बाहिरी विश्वमा मुलुकको छवि धूमिल भएको छ । यी घटना यति गम्भीर छन्, दोषीहरूमाथि कारबाही प्रक्रिया अघि बढाई नेपाली क्रिकेटको साख जोगाउनका लागि सम्बद्ध निकायले यथाशीघ्र पहल थाल्नु जरुरी छ ।

विश्व वर्ष उत्कृष्ट खेलाडीको मनोनयन सूचीमा परेका जिम्बावेका सिकन्दर राजादेखि इंग्ल्यान्डका एलेक्स ब्लेक, प्याट ब्राउन, मलेसियाका वीरनद्वीप सिंहसम्म समावेश प्रतियोगिताले राम्रो चर्चा पाउनुपर्थ्यो, सकारात्मक सन्देश प्रवाह गर्नुपर्थ्यो । तर यी अनपेक्षित घटनाक्रमसँगै ती खेलाडी प्रतियोगिताको बीचमै स्वदेश फर्किए । आफ्ना चारै विदेशी खेलाडी घर फर्किंदा काठमाडौं नाइट्सले एउटा खेल ११ नेपाली खेलाडीका भरमा मात्र खेल्नुपर्‍यो । प्रतियोगिता सकिए पनि अझै खेलाडीहरू पूरा पारिश्रमिक पाउनेमा विश्वस्त हुन सकेका छैनन् । फिक्सिङ काण्डपछि अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को टोली आएर छानबिन गरीवरी फर्किएको छ । गृह मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले समेत छुट्टाछुट्टै छानबिन समिति बनाएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल टी–२० लिगको घटना विवरण एक साताभित्र बुझाउन राखेपलाई निर्देशन दिएको छ ।

नेपाली क्रिकेट यति दयनीय अवस्थामा कहिल्यै पुगेको थिएन । नेपाली खेलाडीले ५ लाखदेखि १५ लाख तथा विदेशी खेलाडीले ५० लाख रुपैयाँसम्म पारिश्रमिक पाउने भएकाले क्यानले यसलाई एसोसिएट राष्ट्रकै उत्कृष्ट लिग बनाउने उद्घोष गरेको थियो । तर त्यस अनुसारको गम्भीरता क्यानमा देखिएन । क्यान खेलाडीको पारिश्रमिकलाई मुख्य एजेन्डा बनाउँदा नराम्रोसँग चिप्लिएको छ । यही कारण भोलिका दिनमा अर्को राम्रो फ्रेन्चाइज प्रतियोगिता आयोजना गर्दा कुनै पनि विदेशी खेलाडीले नेपालमा खेल्न आउनुअघि दुईपल्ट सोच्नुपर्ने अवस्था बनेको छ । यसबाट अन्तर्राष्ट्रिय जगत्मा नेपाली क्रिकेटबारे थप नराम्रो प्रचार भएको छ ।

कमर्सियल एन्ड स्ट्राटेजिक पार्टनरका रूपमा भारतीय कम्पनी सेभेन थ्री स्पोर्ट्सलाई साझेदार बनाएर वार्षिक ४ करोड रुपैयाँजति दस्तुरबापत आउने भएपछि क्यान आफू मुख्य आयोजकभन्दा पनि ‘सेरेमोनियल’ भएर बस्दा नेपाली क्रिकेट यति ठूलो दुर्घटनामा परेको हो । सेभेन थ्री स्पोर्ट्स भित्रिनेबित्तिकै नेपाल टी–२० लिग विवादमा मुछिएको थियो । सार्वजनिक खरिद ऐनलाई बेवास्ता गर्दै क्यानले बिनाटेन्डर भारतीय कम्पनीलाई साझेदार बनाएको थियो । क्यानभित्रकै एउटा समूहले त्यसविरुद्ध आवाज नउठाएको होइन तर उक्त आवाजलाई संस्थापन पक्षको हठले थिच्दै नेपाल टी–२० लिग भित्र्याइएको थियो । त्यही सेभेन थ्री स्पोर्ट्स क्यानको दस्तुर र खेलाडीको पारिश्रमिकको विषयलाई अन्योलमै छाडेर प्रतियोगिताबीचमै फरार भएको थियो । यसैले त्यस्तो निर्णय गर्ने क्यान पदाधिकारीलाई मुख्य रूपमा छानबिनको दायरामा ल्याउनुपर्ने देखिन्छ ।

भनिन्छ, क्रिकेट भलादमीको खेल हो र यो सफा हिसाबले खेलिनुपर्छ । बेटिङ, स्पट फिक्सिङ र म्याच फिक्सिङ लगायत यो भलादमी खेलका ऐंजेरु हुन्, जसलाई बेवास्ता गर्दा नेपाली क्रिकेटको यो हविगत भएको हो । नेपाल टी–२० लिगमा कमेन्ट्री गरिरहेका सचिन तिमिल्सेनाले खुल्लमखुला ‘लाइभ बेटिङ’ र ‘स्पट फिक्सिङ’ भइरहेको आक्षेप लगाउँदै आफू प्रतियोगिताबाट अलग भएको घोषणा गर्नु, काठमाडौं नाइट्सका कप्तान ज्ञानेन्द्र मल्लले आफ्ना एक खेलाडीलाई सट्टेबाजले प्रस्ताव गरेपछि एन्टी–करप्सन युनिट (एसीयू) मा उजुरी दिनुले यो काण्डले जरा कति फैलाएको थियो भन्ने छर्लंग हुन्छ ।

प्रायः सबैतिर खेलाडीहरूलाई सट्टेबाजले बेटिङ र स्पट फिक्सिङको प्रस्ताव राख्ने गर्छन्, जुन खेल जगत्मा सामान्य नै मानिन्छ । सम्बद्ध खेलाडीले आईसीसी र स्थानीय आयोजकमा उजुरी गरेपछि सट्टेबाजमाथि कारबाही अगाडि बढ्ने गर्छ । तर, केही खेलाडीले नेपाल टी–२० लिगमा आयोजकले नै बेटिङ र स्पट फिक्सिङको प्रस्ताव राखेको संगीन आरोप लगाएका छन् । यही आरोप र आईसीसीको ‘इन्टिग्रिटी युनिट’ को दुईसदस्यीय टोली छानबिनका लागि नेपाल आउनु ठीक अगाडि सेभेन थ्री स्पोर्ट्सका दुई प्रमुख व्यक्ति नेपालबाट फरार भएका थिए । अझ डरलाग्दो पक्ष हो— नेपाली खेलाडी पनि स्पष्ट फिक्सिङ र लाइभ बेटिङमा मुछिनु । आईसीसीले म्याच फिक्सिङ, बेटिङ र स्पट फिक्सिङमा शून्य सहनशीलता अपनाउने गरेको छ । नेपालका निकायहरू पनि यसबारे बढी गम्भीर हुनुपर्छ ।

क्रिकेटबाट पाएको सफलताले मुलुकलाई धेरै पटक गौरवान्वित तुल्याएको छ । ट्वान्टी–२० विश्वकप खेल्दा होस् वा एकदिवसीय मान्यताका लागि विश्वकप छनोटमा खेल्दा, नेपाली क्रिकेटले मुलुकलाई एकजुट बनाउने गरेको छ । सामूहिक हिसाबमा खेलिने खेलमा क्रिकेटबाहेक अन्य खेलमा नेपाली खेलकुदले विश्वकपको कल्पना गर्नसम्म गाह्रो छ । क्रिकेट खेलाडीलाई जसरी राम्रो खेल्दा पुरस्कृत गर्ने गरिन्छ, नेपाली क्रिकेट बचाउनका लागि नेपाल टी–२० लिगमा जानाजानी गरिएका गल्तीमा पदाधिकारीलाई पनि त्यसरी नै सजायको भागीदार बनाउन आवश्यक छ । नत्र नेपाली क्रिकेटको अधोगति रोकिने छैन ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर