नेभिगेसन मेनु

रैथाने उत्पादनको बजारीकरणसँगै बदलिँदै ग्रामीण महिलाको दैनिकी
सम्पादक:南亚网络电视
समय:2026-11-06 16:42

converted_image---2026-11-06T134809.833

 कैलालीका ग्रामीण महिलाका लागि हाटबजार उत्पादन बिक्री गर्ने थलो मात्र बनेको छैन, घरखर्च चलाउने र नियमित आम्दानी गर्ने माध्यमसमेत बनेको छ । गाउँघरमा आफूले उत्पादन गरेका तर आवश्यकताभन्दा बढी भएका तरकारी, दाल, फलफूल, माछा तथा अन्य स्थानीय खाद्यवस्तु बिक्री गर्न पाएपछि महिलालाई घरायसी खर्च व्यवस्थापन गर्न सहज भएको छ ।

घोडाघोडी नगरपालिका–५ राजीपुरकी ५५ वर्षीया बास्मति चौधरी हाटबजार लाग्ने दिन घरमा बढी भएका खाद्यवस्तु बोकेर सुखड पुग्नुहुन्छ । उहाँले बिक्रीकै लागि छुट्टै उत्पादन नगरे पनि घरमा खाएर बाँकी रहेका वस्तु बिक्री गरी आम्दानी गर्ने गरेको बताउनुहुन्छ ।

“बेच्नकै लागि भनेर लगाएको त हुँदैन, आफूले खाएर बचेको खानेकुरा ल्याएर बेच्ने गरेको छु,” उहाँले भन्नुभयो, “कहिले तरकारी, कहिले दाल, कहिले फलफूल ल्याएर बेच्छु ।”

बास्मतिजस्तै राजीपुर, चर्रा, देउकलियालगायत गाउँका धेरै महिला हाटबजार लाग्ने दिन साइकल, अटो तथा अन्य सवारीसाधन प्रयोग गरेर सुखड पुग्ने गरेका छन् । कतिपय महिला घरबाट करिब १० किलोमिटर दूरी पार गरेर आफ्ना उत्पादन बिक्री गर्न आउने गर्छन् ।

पहिले गाउँमै सीमित हुने वा घरमै खपत हुने उत्पादन बजारसम्म पुग्न थालेपछि त्यसबाट नगद आम्दानीसमेत हुन थालेको उनीहरूको अनुभव छ ।

बास्मतिसँगै तरकारी बिक्री गरिरहनुभएकी भानुमति चौधरीका लागि हाटबजार घरखर्चको सानो सहारा बनेको छ । हप्तामा दुई दिन लाग्ने हाटबजारमा आफूलाई आवश्यकताभन्दा बढी भएका खानेकुरा बिक्री गरेर घरका सामान्य आवश्यकता पूरा गर्न सहयोग पुग्ने उहाँ बताउनुहुन्छ ।

“धेरै ठूलो रकम नभए पनि चार–पाँच सयदेखि हजार–बाह्र सय रुपियाँसम्मको बिक्री हुन्छ,” उहाँले भन्नुभयो, “घरमा नुन–तेल किन्न, छोराछोरीका कापी–कलम किन्न र मासिक बचत गर्न सहयोग पुगेको छ ।”

हाटबजारले महिलालाई उत्पादन बिक्री गर्न घरघर डुल्नुपर्ने बाध्यताबाट पनि राहत दिएको छ । घोडाघोडी नगरपालिका–१ लोहरपुर गाउँका दर्जनभन्दा बढी महिला केही वर्षअघिसम्म टाउकोमा ढकिया बोकेर गाउँघर डुल्दै तरकारी बिक्री गर्ने गर्थे । अहिले भने उनीहरू एकै ठाउँमा बसेर ग्राहकलाई आफ्ना उत्पादन बिक्री गर्न थालेका छन् ।

स्थानीय सुमित्रा चौधरीका अनुसार हाटबजार सुरु भएपछि महिलाको समय र श्रम दुवै बचत भएको छ ।

“हामी सबै एकै गाउँका हौँ । पहिला हामी डुलाएर तरकारी बेच्थ्यौँ,” उहाँले भन्नुभयो, “तीन वर्षजति भयो हाटबजार लाग्न थालेको । अहिले एकै ठाउँमा बसेर बेच्न सजिलो भएको छ । घरमा फलेको तरकारी, लसुन, दाल, माछा र सिन्की ल्याएर बेच्छौँ । लोकल खानेकुरा भन्दै सबैले किनेर लैजानुहुन्छ ।”

हाटबजारले स्थानीय उत्पादनलाई बजारसँग जोड्नुका साथै गाउँघरमा पाइने रैथाने तथा परम्परागत खाद्यवस्तुको बजारीकरणमा पनि सहयोग पुर्‍याएको छ । दैनिक उपभोगका विभिन्न वस्तु हाटबजारमा बिक्री हुन थालेपछि किसान तथा स्थानीय महिलाले जङ्गल र आसपासका क्षेत्रमा पाइने खाद्यवस्तु सङ्कलन गरेर बिक्री गर्न थालेका छन् ।

राजीपुरकी सितारानी चौधरीले हाटबजारमा बिक्रीका लागि पिप्ला र निगुरो ल्याउनुभएको छ । उहाँका अनुसार पिप्ला प्रतिपाउ करिब ७० रुपियाँमा बिक्री हुने गरेको छ । सामान्य बजारमा सहजै नपाइने यस्ता स्थानीय खाद्यवस्तु हाटबजारमा उपलब्ध हुन थालेपछि उपभोक्ताले पनि खोजीखोजी खरिद गर्ने गरेका छन् ।

विशेषगरी ओसिलो तथा निश्चित भौगोलिक क्षेत्रमा पाइने पिप्ला र निगुरोजस्ता वनजन्य खाद्यवस्तु स्थानीय समुदायको परम्परागत खानपानसँग जोडिएका छन् । यस्ता वस्तु बिक्री गर्ने अवसरले महिलाको आम्दानीमा योगदान पुर्‍याउनुका साथै स्थानीय रैथाने खाद्यसंस्कृति संरक्षणमा समेत सहयोग पुग्ने देखिएको छ ।

घोडाघोडी उद्योग वाणिज्य सङ्घका निवर्तमान अध्यक्ष दुर्गाप्रसाद गौतम हाटबजारले किसान र उपभोक्ता दुवैलाई प्रत्यक्ष फाइदा पुर्‍याएको बताउनुहुन्छ । किसानले आफ्ना उत्पादनको बजार पाएका छन् भने उपभोक्ताले स्थानीय तथा रैथाने खाद्यवस्तु सहज रूपमा खरिद गर्न पाएका छन् ।

“हाटबजारबाट किसानले आम्दानी गरेका छन् भने उपभोक्ताले पनि हराउँदै गएका स्थानीय रैथाने खानेकुराको स्वाद लिन पाएका छन्,” गौतमले भन्नुभयो ।

घोडाघोडी नगरपालिका र घोडाघोडी उद्योग वाणिज्य सङ्घको पहलमा सञ्चालनमा आएको हाटबजार हाल सुखड र पहलमानपुर बजार आसपासमा हप्ताको दुई दिन सञ्चालन हुने गरेको छ । हाटबजारमा गाउँका साना किसान, महिला तथा स्थानीय उत्पादकले आफ्ना उत्पादन प्रत्यक्ष रूपमा उपभोक्तासम्म पुर्‍याउने गरेका छन् ।

स्थानीयस्तरमा उत्पादित वस्तु बिक्रीका लागि छुट्टै बजार नहुँदा किसानले बिचौलियामार्फत सस्तो मूल्यमा उत्पादन बेच्नुपर्ने वा बजार नपाएर घरमै खपत गर्नुपर्ने अवस्था थियो । हाटबजारले उत्पादक र उपभोक्ताबीच प्रत्यक्ष सम्पर्कको अवसर दिएको छ ।

यसबाट किसानले आफ्ना उत्पादनको मूल्य आफैँ निर्धारण गर्न पाउने र उपभोक्ताले पनि ताजा तथा स्थानीय उत्पादन खरिद गर्न पाउने वातावरण बनेको गौतम बताउनुहुन्छ ।

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
प्रकाशन
पृष्ठ सूची
स्पोन्सर AD
पृष्ठ सूची

नयाँ समाचार

माथी