नेभिगेसन मेनु

७ माथि बस्ने, ८ पुगेपछि अवकाश
सम्पादक:南亚网络电视
समय:2026-09-26 16:38

 

 Photo of  Thapa Shailendra Bahadur. (1)

थापा शैलेन्द्र बहादुर

काठमाडौँ, असोज १० गते । चीन सम्बन्ध मामिलासँग सम्बन्धित विषयको एक विद्यार्थीको नाताले चिनियाँ राष्ट्रप्रमुख, सरकार प्रमुख र विभागीय मन्त्रीहरुको शासकीय इतिहासलाई अवलोकन गर्दा चीन एक स्थिर देश रहेको महशुस हुन्छ । चीनको राजनीतिक इतिहासमा त्यस्ता धेरै उदाहरणहरु छन् । जसमध्ये चिनियाँ सम्राट छियानलोङले चीनमा वि.सं. १७९२ देखि वि.सं. १८५३ सम्म निरन्तर ६१ वर्षसम्म चिनियाँ जनताको मन जितेर सफलतापूर्वक शासन गर्नुभयो । उहाँले चीनमा आफ्नो शासनकाल सम्हालीरहँदा यता, नेपालका राजा नरभुपाल शाह (शासनकाल वि.सं. १७७५–१७९९), राजा पृथ्वीनारायण शाह, राजा प्रतापसिंह शाह र राजा रणबहादुर शाह यी ४ राजाहरुले आ–आफ्नो पालामा कुशलतापूर्वक शासन सम्हालेका थिए । उता, छियानलोङले चीनमा शासन गरिरहँदा यता, नेपालमा बडामहाराजधिराज पृथ्वीनारायण शाहले आफ्नो शासनकालमा आधुनिक नेपाल एकीकरणको अभियान चलाइरहनु भएको थियो । त्यसैगरी वर्तमान चिनियाँ राष्ट्रपति सि चिनफिङको शासनकालभरि पनि नेपालतर्फ शासकीय नेतृत्वहरुले अस्थिरताको समयको सामना गर्नु परेको थियो । उता, चिनियाँ विदेशमन्त्री वाङ यीले पनि लामो समयदेखि विदेशनीतिको अनुभव हासिल गरिरहँदा यता, नेपालतर्फ परराष्ट्रमन्त्रीहरुले पनि अस्थिरताको लामो समयको सामना गर्नु परेको थियो । यी प्रतिनिधिमूलक उदाहरण मात्र हुन् ।

चीन पनि संविधानमा आधारित देश हो । तर पश्चिमा सभ्यतामा आधारित संविधानवाद जस्तो नभई समाजवादी कानूनी शासनमा आधारित देश हो । डिसेम्बर ४, १९८२ मा ५औं राष्ट्रिय जनकङ्ग्रेसको ५औं अधिवेशनले पारित गरेको चीनको वर्तमान संविधानलाई पछिल्लो समय सन् २०१८ मा संशोधन गरिएको छ । चिनियाँ कम्युनिष्ट पार्टीको नोभेम्बर ८ देखि १४ सम्म, २०१२ मा चलेको १८औं केन्द्रीय समितिको पहिलो प्लेनम (बैठक) ले सि चिनफिङलाई नोभेम्बर १५, २०१२ मा चिनियाँ कम्युनिष्ट पार्टीको महासचिव र केन्द्रीय सैनिक आयोगको अध्यक्षमा निर्वाचित गरेको थियो ।

मार्च १४, २०१३ मा १२औं राष्ट्रिय जनकङ्ग्रेसको पहिलो अधिवेशनको चौथो पूर्ण बैठकमा निर्धारित उपस्थित हुनुपर्ने प्रतिनिधिहरुको कुल संख्या २९८६ जनामध्ये तत्काल उपस्थित संख्या २९६३ जना राष्ट्रिय जनकङ्ग्रेसका प्रतिनिधिहरुमध्येबाट गोप्य मतदान गरी सि चिनफिङको पक्षमा २९५२ मत, विपक्षमा १ मत, तटस्थ ३ मत र मतपत्र जारी भएर बाकसमा नखसेका ७ मत र अनुपस्थित संख्या २३ जना रहेको थियो । यसरी मार्च १४, २०१३ मा सि चिनफिङ चीनको राष्ट्रपति र राज्यको केन्द्रीय सैनिक आयोगका अध्यक्ष हुनुभयो ।   

सन् २०१७ मा चिनियाँ कम्युनिष्ट पार्टीको महासचिवको दोस्रो कार्यकालमा प्रवेश गर्नु भयो । राष्ट्रपति सि चिनफिङको राष्ट्रपतीय कालखण्ड समग्रमा महत्वपूर्ण रहयो । त्यसमा पनि सि चिनफिङले अक्टोबर १८, २०१७ मा १९औं चिनियाँ कम्युनिष्ट पार्टीको राष्ट्रिय जनकङ्ग्रेसको उद्धघाटन भाषणमा “एउटा नयाँ युगको लागि चिनियाँ विशेषता सुहाउँदो समाजवाद सम्बन्धी विचार” प्रस्तुत गरी त्यसलाई पार्टीको मार्गदर्शक विचारका रुपमा स्थापित गराउनु भयो । अक्टोबर २४, २०१७ मा १९औं चिनियाँ कम्युनिष्ट पार्टीको राष्ट्रिय जनकङ्ग्रेसले “नयाँ युगको लागि चिनियाँ विशेषता सुहाउँदो समाजवादमा सि चिनफिङ विचार” लाई चिनियाँ कम्युनिष्ट पार्टीको विधानमा औपचारिक रुपमा समावेश गरियो ।

जनवरी १८–१९, २०१८ मा बसेको चिनियाँ कम्युनिष्ट पार्टीको १९औं केन्द्रीय कमिटीको दोस्रो प्लेनमले संविधान संशोधन सम्बन्धी प्रस्तावमाथि छलफल गरी पारित ग¥यो । चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय कमिटीले राष्ट्रिय जनकङ्ग्रेसको स्थायी कमिटी समक्ष संविधानका केही प्रावधान संशोधन गर्ने प्रस्ताव राख्यो । चिनियाँ संविधानको धारा (६४) अनुसार संविधान संशोधन पारित गर्न राष्ट्रिय जनकङ्ग्रेसका कम्तिमा दुई तिहाइ प्रतिनिधिको समर्थन आवश्यक हुन्छ ।

मार्च ११, २०१८ मा चीनको १३औं राष्ट्रिय जनकङ्ग्रेसले संविधान संशोधन पारित गरी संशोधनका लागि गरेको कूल २९६३ मतदाताहरुको मतमध्ये संविधान संशोधनको पक्षमा २९५८ मत, विपक्षमा २ मत र तटस्थमा ३ मत खसेर ठूलो बहुमतले संविधान संशोधन पारित भयो । जसले संविधानको धारा ४५ द्धारा धारा ७९ (३) को पुरानो वाक्यांशलाई हटाइदियो । पुरानो धारा ७९ (३) मा “राष्ट्रपति र उपराष्ट्रपतिको कार्यकाल राष्ट्रिय जनकङ्ग्रेसको कार्यकाल बराबर हुनेछ र लगातार दुई कार्यकाल भन्दा बढी सेवा गर्न पाउने छैनन्” भन्ने व्यवस्था गरेको थियो ।

मार्च १७, २०१८ मा सि चिनफिङ दोस्रो पटक चिनियाँ राष्ट्रिय जनकङ्ग्रेसको पहिलो अधिवेशनको ५औं पूर्ण बैठकबाट जनगणतन्त्र चीनको राष्ट्रपतिमा निर्वाचित हुनुभयो । चीनको केन्द्रीय सैनिक आयोगको अध्यक्षमा पनि निर्वाचित हुनु भयो । तत्कालीन चिनियाँ राष्ट्रिय जनकङ्ग्रेसका कुल २९८० प्रतिनिधिहरुमध्ये निर्वाचनको समयमा उपस्थित प्रतिनिधिको संख्या २९७० थियो । जसमा २९७० मतदाताले नै राष्ट्रपतिको निर्वाचानमा सि चिनफिङको पक्षमा मतदान गरे । अनुपस्थित १० जना थिए र विपक्षमा शुन्य मत थियो । यसरी सर्वसम्मतले सि चिनफिङ दोस्रो कार्यकाल पनि राष्ट्रपति हुनुभयो । त्यसपछि सि चिनफिङले ४ महिना अगाडि प्रतिपादन गर्नु भएको आफ्नो विचारलाई मार्च ११, २०१८ मा जनगणतन्त्र चीनको संविधानमा समावेश गरेपछि सि विचारधारा चिनियाँ जनता र समग्र चीनको “संवैधानिक मार्गदर्शक सिद्धान्त” को हिस्सा बन्यो । यसरी आधुनिक एशियाली सभ्यतामाझ सि चिनफिङको विचार उदाइरहेको छ ।       

सन् २०२२ मा राष्ट्रपति सि चिनफिङ तेस्रो पटक चिनियाँ कम्युनिष्ट पार्टीको महासचिव भई, सन् २०२३ मा चिनियाँ कम्युनिष्ट पार्टीले सि चिनफिङलाई राष्ट्रपतिको तेस्रो कार्यकालका लागि निर्वाचित ग¥यो । सन् २०२३ को चिनियाँ राष्ट्रिय जनकङ्ग्रेसको निर्वाचन नियम अनुसार राष्ट्रपतिको उम्मेदरवार चिनियाँ राष्ट्रिय जनकङ्ग्रेसको अध्यक्षमण्डल (प्रेसिडियम) ले प्रस्ताव गर्छ । विभिन्न प्रतिनिधिमण्डलसँग छलफल गर्छ र बहुमत प्रतिनिधिको रायका आधारमा औपचारिक उम्मेदवार सूची तय गर्छ । त्यसपछि राष्ट्रपतिको औपचारिक निर्वाचन “एक पदका लागि एक उम्मेदवार” (इक्वायल–नम्बर इलेक्सन) को रुपमा हुन्छ । यसरी पद्धतिगत्, प्रक्रियागतरुपमा एशियाले दशककै शक्तिशाली विकासप्रेमी चिनियाँ राष्ट्रपति पाएको छ ।

चिनियाँ राष्ट्रिय जनकङ्ग्रेसको अभिलेख अनुसार मार्च १०, २०२३ मा सि चिनफिङलाई तेस्रो कार्यकालको लागि राष्ट्रपति निर्वाचित गर्दा वास्तविक कुल प्रतिनिधिको संख्या २९७७ थियो । त्यसमा उपस्थित मतदाता संख्या २९५२ थियो । अनुपस्थित २५ जना थिए । सि चिनफिङको पक्षमा तत्काल उपस्थित मतदाता प्रतिनिधि संख्या २९५२ ले नै सि चिनफिङलाई राष्ट्रपतिमा निर्वाचित गर्ने पक्षमा मतदान गरे । विपक्षमा शुन्य मत र तटस्थमा पनि शुन्य मत प्राप्त गरी सर्वसम्मत रुपमा राष्ट्रपति सि चिनफिङले हाल तेस्रो पटकको कार्यकाल चलाइरहनु भएको छ । निर्वाचनको प्रक्रिया हेर्दा, चीनमा सर्वप्रथम चिनियाँ कम्युनिष्ट पार्टीको नेतृत्व चयन गरिन्छ । त्यसपछि राष्ट्रपतिका लागि उम्मेदवार तय/सिफारिश हुन्छ । पार्टीको शीर्ष नेतृत्व र राष्ट्रिय जनकङ्ग्रेसद्वारा राष्ट्रपतिको औपचारिक निर्वाचन हुने गर्छ । राष्ट्रिय जनकङ्ग्रेसको पूर्ण अधिवेशनमा राष्ट्रपतिको निर्वाचन हुन्छ । जसको लागि चिनियाँ कम्युनिष्ट पार्टीको शीर्ष नेतृत्वले उम्मेदवार अघि सार्छ । त्यसमा राष्ट्रिय जनकङ्ग्रेसले औपचारिक निर्वाचन गर्छ र राष्ट्रपति निर्वाचित हुन्छ । यसरी चीनको राष्ट्रपतीय निर्वाचन चिनियाँ कम्युनिष्ट पार्टी नेतृत्व र राज्य संस्थाबीचको संयुक्त राजनीतिक प्रक्रियाको परिणाम रहेको बुझ्न सकिन्छ ।

अतः चीनमा वर्तमान १४औं राष्ट्रिय जनकङ्ग्रेसमा ५ वर्षे कार्यकाल (सन् २०२३ देखि सन् २०२८) को लागि २,९७७ जना प्रतिनिधि निर्वाचित भएका छन् । जसमा हाल अध्यक्ष चाओ लेजी, १४ जना उपाध्यक्ष, महासचिव लिउ छि र १५९ जना स्थायी समिति सदस्यहरु छन् । हाल चीनमा सि चिनफिङ सर्वोच्च राजनीतिक नेता, लि छिआङ सरकार/प्रशासनका प्रमुख, मार्च २०२३ मा उपराष्ट्रपति बनेका हान झेङ, काइ छि  शीर्ष पार्टी नेतृत्व तथा केन्द्रीय समन्वयकर्ता र वाङ यि विदेश नीतिका प्रमुख प्रभावशाली नेता हुनुहुन्छ । हाल चीनमा दिङ सुएसिआङ, हि लिफङ, झाङ फुओछिङ र लिउ छिआङ यी ४ जना उपप्रधानमन्त्रीहरु हुनुहुन्छ । वहाँहरु चारै जना मार्च २०२३ मा प्रधानमन्त्री लि छिआङको नेतृत्वमा रहेको नयाँ राज्य परिषद्मा उपप्रधानमन्त्री नियुक्त हुनु भएको हो । वाङ यि चीनका धेरै वरिष्ठ कूटनीतिज्ञ तथा राजनीतिज्ञ हुनुहुन्छ । हाल वहाँ एकैपटक चिनियाँ कम्युनिष्ट पार्टीको पोलिटब्युरो सदस्य, केन्द्रीय विदेश मामिला आयोगको कार्यालयका निर्देशक र चीनका विदेश मन्त्री यी ३ महत्वपूर्ण जिम्मेवारीमा हुनुहुन्छ । यसप्रकार चीनको सर्वोच्च राजनीतिक नेता सि चिनफिङले अमेरिकामा आफुसँगै पार्टीको केन्द्रीय प्रशासन/समन्वयका वरिष्ठ नेता काइ छि र विदेश नीति तथा कूटनीतिका वरिष्ठ नेता वाङ यिलाई साथ लिएर जानुभएको थियो ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको १३–१५ मे, २०२६ मा जनगणतन्त्र चीनको राजकीय भ्रमणको क्रममा वेइजिङ जाँदा अमेरिका–चीन व्यापार र शुल्क (टेरिफ), दूर्लभ खनिज आपूर्ति, बोइङ विमान खरिद, आर्थिक तथा लगानी सम्बन्ध, बौद्धिक कृत्रिमता (एआइ) तथा प्रविधि र अन्तराष्ट्रिय तथा क्षेत्रीय समस्या समाधान सम्बन्धी विषयहरुमा छलफल र निर्णयहरु भएका थिए । त्यसैगरी चीन र अमेरिकाबीच विदेश नीति, सैन्य सम्बन्ध, अर्थतन्त्र, कृषि, स्वास्थ्य, पर्यटन र जनस्तरको सम्बन्धमा थप संवाद गर्दै अगाडि बढ्ने सहमति भएको थियो । वेइजिङमा सि र ट्रम्पबीच भएका अघिल्ला सम्झौता र निर्णयहरुलाई थप कार्यान्वयन तथा निरन्तरता दिन चिनियाँ राष्ट्रपति सि चिनफिङ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निमन्त्रणामा सेप्टेम्बर २३–२५, २०२६ मा अमेरिकाको राजकीय भ्रमणमा जानु भएको हो । यो भ्रमणमा पनि व्यापार, दुर्लभ खनिज, सेमिकन्डक्टर, एआइ, दूरसञ्चार, ताइवान मामिला र समग्र चीन–अमेरिका सम्बन्ध लगायतका प्रमुख विषयहरुमा छलफल र निर्णय भएका छन् । ती मध्ये दूर्लभ खनिजहरुको समूह मोबाइल, विद्युतीय गाडी, मोटर, मिसाइल तथा रक्षा प्रणाली, पवनचक्की (वायु टर्वाइन) आदि विभिन्न प्रविधिमा प्रयोग हुन्छन् जुन चीनसँग पर्याप्त छ । चीनमा प्रचुर मात्रामा पाइने दुर्लभ खनिजप्रति अमेरिका आकर्षित देखिएको छ ।  

चिनियाँ विदेश मन्त्रालयका अनुसार चिनियाँ राष्ट्रपति सि चिनफिङको सेप्टेम्बर २०२६ मा भएको अमेरिका भ्रमणको सबैभन्दा महत्वपूर्ण विषय यस अघि नै मे १४, २०२६ मा वेइजिङमा सम्पन्न भइसकेको सि र ट्रम्पको शिखर वार्ताले चीन र अमेरिका सम्बन्धलाई “कन्स्ट्रक्टिभ रिलेसनसिप अफ स्ट्रयाटेजिक स्ट्याविलिटी” अर्थात “रणनीतिक स्थिरतामा आधारित रचनात्मक सम्बन्ध” तर्फ अगाडि बढ्ने मूल राजनीतिक दृष्टिकोणको सहमतिलाई नै अमेरिकामा गएर वार्ता गरी निरन्तरता दिनु मुख्य एजेण्डा रहेको देखिन्छ । यी लगायतका विषयहरुमा वार्तालाई अगाडि बढाउने उद्देश्यका साथ यस अघि चीन भ्रमणमा जानु भएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ राष्ट्रपति सि चिनफिङलाई अमेरिकाको भ्रमणको लागि निमन्त्रणा दिनु भएको थियो ।

तद्अनुरुप सि चिनफिङ अमेरिका गइसकेपछि सि र ट्रम्पबीच सेप्टेम्बर २४, २०२६ मा भएको वार्तामा चीन र अमेरिकी सहकार्यलाई मुख्य आधार बनाउने, प्रतिस्पर्धालाई निश्चित सीमाभित्र राख्ने, मतभेदलाई व्यवस्थापन गर्ने, शान्ति र स्थिरताको सम्भावना कायम गर्ने तथ्यहरुमा जोड दिएको पाइन्छ भने त्यसको भोलिपल्ट सेप्टेम्बर २५, २०२६ मा भएको वार्तामा समानता, निष्पक्षता र पारस्परिकतामा जोड दिने तथ्यहरुलाई थपेको पाइएको छ । यसरी सेप्टेम्बर २०२६ मा भएको चीन र अमेरिकाबीचको वार्ता पूर्ण रुपमा नयाँ व्यापक व्यापार सन्धि (कम्प्रिहेन्सिभ ट्रेड ट्रिटी) भन्दा पनि पहिलेको “वुसान ट्रेड एग्रिमेण्ट/ट्रुस” को विस्तार र “नयाँ आर्थिक–व्यापारिक समझदारी” अर्थात् “व्यापार युद्धमा अस्थायी युद्ध–विराम” गर्ने पक्षको रुपमा वासिङटन वार्ताले बढी महत्व पाएको देखिन्छ ।

जसअनुरुप अमेरिका र चीनको व्यापार युद्ध–विराम (वुसान एग्रिमेण्ट/ट्रेड ट्रुस) पहिले नोभेम्बर १०, २०२६ मा समाप्त हुने थियो भने अव, अहिले यसलाई २ महिना लम्ब्याएर जनवरी १०, २०२७ सम्म पु¥याएको पाइन्छ । उता, अमेरिकी ट्रेजरी सेक्रेटरी स्कट बेस्सेन्टले पनि सि चिनफिङको भ्रमण टोलीमा सहभागी चिनियाँ उपप्रधानमन्त्री हि लिफङसँग २३ सेप्टेम्बरमा भएको वार्तापछि उक्त “व्यापार युद्ध–विराम” विस्तार भएको बताउनु भएको छ । यसपाली, चिनियाँ राष्ट्रपति सि चिनफिङको अमेरिकी भ्रमणका केही महत्वपूर्ण उपलब्धीहरुमध्ये यो पनि एउटा हो । यसरी चीन र अमेरिकी सम्बन्धले एशिया र उत्तर अमेरिकी महादेशका मनहरुलाई जोडेको पाइन्छ । यसले दुई देशीय, महादेशीय र सभ्यताको सुमधुर सम्बन्धको ढोका खोलिदिएको छ । विश्वका २ महाशक्ति राष्ट्रहरु रणनीतिक रुपमै भए पनि यसरी शान्तिका लागि सुझबुझका साथ संवेदनशील भएर अगाडि बढ्न सके भने एशियाका तारा एवं विश्वशान्तिका अग्रनायक गौतम बुद्ध र विश्वशान्तिकी अग्रनायिका भृकुटीले हिँड्न सिकाएको बाटोले सही गन्तव्य पहिल्याउन सक्ने छ ।

यता, सेप्टेम्बर २०२६ मा नै संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुट्रेसले विश्वव्यापि जलवायु परिवर्तन लगायतका विषयहरुमा छलफलको लागि आयोजना गर्नुभएको बैठकलाई लक्षित गर्दै, चीनको विदेश मन्त्रालयले २२ सेप्टेम्बरमा घोषणा गरे बमोजिम चिनियाँ उपराष्ट्रपति हान झेङ सेप्टेम्बर २४–२६, २०२६ मा न्यूयोर्कमा हुने संयुक्त राष्ट्रसंघको ८१औं महासभाको वैठकमा सहभागी हुन अमेरिका जानु भएको देखिन्छ । यसरी सेप्टेम्बर २०२६ मा चिनियाँ राष्ट्रपति सि चिनफिङको वासिङटन भ्रमण र उपराष्ट्रपति हान झेङको न्यूयोर्क भ्रमणको उद्देश्य अलग अलग रहेको पाइन्छ । अप्रिल १९५४ मा जन्मिनु भएका चिनियाँ उपराष्ट्रपति हान झेङ हाल (सन् २०२६ मा) ७२ वर्षको हुनुहुन्छ । यस अघि हान झेङ जनवरी २०, २०२५ मा ट्रम्पको दोस्रो राष्ट्रपतीय कार्यकालको उद्धघाटन समारोहमा चीनका राष्ट्रपतिको विशेष प्रतिनिधिका रुपमा अमेरिका जानु भएको थियो । यसरी सेप्टेम्बर २०२६ मा अमेरिकामा सञ्चालित अलग अलग कार्यक्रमको लागि चिनियाँ राष्ट्रपति सि चिनफिङ वासिङटनमा ट्रम्पसँग भेट्न र चिनियाँ उपराष्ट्रपति हान झेङ न्यूयोर्कमा संयुक्त राष्ट्रसंघको महासभामा चीनको प्रतिनिधित्व गर्न जानु भएको हो । हान झेङले विश्वको वर्तमान अवस्था, प्रमुख अन्तर्राष्ट्रिय तथा क्षेत्रीय समस्या र संयुक्त राष्ट्रसंघको भूमिकालाई बलियो बनाउनु पर्ने तथ्यमा जोड दिएको पाइन्छ । चीन र अमेरिकाको सम्बन्धलाई हेर्दा समग्रमा चीनले बहुपक्षीयता, विश्व शान्ति तथा विकास र संयुक्त राष्ट्रसंघको भूमिकालाई बलियो बनाउनु पर्ने तथ्यमा जोड दिएको देखिन्छ । अमेरिका र चीनबीचको यो सम्बन्धले विश्वव्यापि रुपमा शान्ति, मेलमिलाप, सहकार्य र उन्नति प्रगतिको शुभ सन्देश दिएको बुझ्नु पर्छ ।

जुन १५, १९५३ मा चीनको शान्सी प्रान्तको फुपिङमा जन्मिनु भएका ७३ वर्षीय सि चिनफिङ चिनियाँ कम्युनिष्ट पार्टीको महासचिव एवं सर्वोच्च नेता, राष्ट्रको औपचारिक राष्ट्राध्यक्ष र केन्द्रीय सैनिक आयोगका अध्यक्ष (सेनाको सर्वोच्च नेतृत्वकर्ता) हुनुहुन्छ । चीनमा सरकारी पदको तुलनामा चिनियाँ कम्युनिष्ट पार्टीको नेतृत्व पद धेरै निर्णायक हुने भएकाले सि चिनफिङसँगै जानुभएको काइ छि चिनियाँ कम्युनिष्ट पार्टीको पोलिटव्युरो स्ट्याण्डिङ्ग कमिटीका सदस्य हुनुहुन्छ । त्यसैगरी काइ छि चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय सचिवालयको सदस्य पनि हुनुहुन्छ । साथै वहाँ चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको केन्द्रीय कार्यालयका निर्देशक पनि हुनुहुन्छ । काइ छिलाई राष्ट्रपति सि चिनफिङका निकटतम वरिष्ठ राजनीतिक सहयोगीहररुमध्ये एकका रुपमा हेर्ने गरिन्छ । काइ छि प्रायः राष्ट्रपति सि चिनफिङसँग हुने विदेश भ्रमणमा पनि सँगै जाने गर्नुहुन्छ । भारतको नयाँ दिल्लीमा मे १४–१५, २०२६ मा सम्पन्न व्रिक्स सम्मेलनमा पनि सि चिनफिङसँगै काइ छि  र विदेशमन्त्री वाङ यि जानु भएको थियो ।

सेप्टेम्बर १३, १९६२ मा चीनको जियाङ्सु प्रान्त स्थित नान्टोङमा जन्मिनु भएका ६४ वर्षीय प्रथम उपप्रधानमन्त्री दिङ सुएसिआङ हाल चीनको प्रविधि, एआइ र रणनीतिक उद्योगसँग सम्बन्धित महत्वपूर्ण जिम्मेवारीमा हुनुहुन्छ । दिङ सुएसिआङको राजनीतिक अनुभव मुख्यतः सि चिनफिङको नेतृत्वसँगै विकसित भएको मानिन्छ । सम्भवतः २०२७ मा हुन सक्ने अपेक्षा गरिएको चिनियाँ कम्युनिष्ट पार्टीको २१औं राष्ट्रिय जनकङ्ग्रेसमा सि चिनफिङ आफैं पार्टी महासचिवको रुपमा रहेर अर्को चौथो कार्यकालको राष्ट्रपति पदको तयारी गर्नुहुने हो कि, उत्तराधिकारी अघि सार्नुहुने हो भन्ने तथ्य मौन छ । यदि, चीनले परम्परागत “७ माथि बस्ने, ८ पुगेपछि अवकाश” को प्रचलनलाई अपनायो भने यस्तो अवस्थामा कतै दिङ सुएसिआङले चिनियाँ राष्ट्रपतिको बाजी मार्ने त होइनन् भन्ने यो पंक्तिकारलाई शंका लागेको छ । तर राष्ट्रपतिका आकांक्षी अरु पनि धेरै देखिएका छन् । त्यसैगरी, चीनको झेजियाङ प्रान्त स्थित रुइआनमा जुलाई १९५९ मा जन्मिनु भएका ६७ वर्षीय लि छिआङ हाल राज्य परिषद्का प्रिमियर र पोलिटव्युरो स्थायी समितिका सदस्य हुनुहुन्छ । वहाँ सि चिनफिङको समयदेखि राजनीतिक रुपमा नजिकिदै हाल राज्य सञ्चालन र अर्थतन्त्रमा प्रत्यक्ष अनुभव राख्नु हुन्छ ।

उमेरले ७१ वर्षका काइ छि पनि सन् २०२७ मा ७२ लाग्नु हुन्छ । यदि त्यो बेला सामान्य अवकाश उमेरको परम्परा लागू भयो भने काइ छिको निरन्तरता कठिन हुन सक्ने देखिएको छ । यसरी सन् २०२७ को २१औं चिनियाँ पार्टी कङ्ग्रेसलाई सक्सेसनको परम्परागत “७ माथि बस्ने, ८ पुगेपछि अवकाश” (सेवेन अप, यट डाउन) भन्ने उमेर मान्यता उमेर कन्भेन्सनलाई निरन्तरता दिइन्छ कि सि चीनफिङको नेतृत्वमा त्यसलाई थप लचिलो बनाइन्छ भन्ने सवाल फेरि पनि महत्वपूर्ण छ । यद्यपि, परम्परागत “७ माथि बस्ने, ८ पुगेपछि अवकाश” भन्ने यो प्रचलन चिनियाँ कानून वा संविधानमा लेखिएको व्यवस्था होइन । तर यो प्रचलन चिनियाँ कम्युनिष्ट पार्टीको उच्च नेतृत्वमा लामो समयदेखि देखिएको ‘अनौपचारिक राजनीतिक परम्परा’ हो । उदाहरणका लागि सन् २०२६ मा ६७ वर्ष पुगेको कुनै नेतृत्वको उमेर ६७ को पछाडिको अङ्क ‘७’, सन् २०२७ मा ६८ वर्ष उमेर पुगेपछि ६८ को पछाडिको अङ्क ‘८’ मा अवकाश हुन सक्ने अनौपचारिक परम्पराको मापदण्ड लाग्यो भने अवकाश हुने ८ माथि बस्ने ७ सम्मले नयाँ राष्ट्रपतिको बाजी मार्ने प्रचलन दोहोरिएला ? यदि उत्तराधिकारीको उमेरलाई आधार मान्ने हो भने उमेर हदका कारण वर्तमान स्थायी समितिका केही सदस्यहरु हटनु पर्ने सम्भावना बढी देखिएकाले ६४ वर्षीय दिङ सुएसिआङको स्थिति सन् २०२७ मा ६५ वर्ष पुग्दा तुलनात्मक रुपमा ‘७ अङ्क तल’ को ५ अङ्क बढी महत्वपूर्ण हुन सक्ने पुनः अनुमान गर्न सकिन्छ । तर चिनियाँ नियम र वैकल्पिक अभ्यासमा यो पनि अन्तिम विकल्प भने होइन ।

निष्कर्षतः चिनियाँ राजनीतिक इतिहास र संविधानको मर्म अनुसार वर्तमान चिनियाँ राजनीतिक क्रियाकलापले विश्व समुदायमाझ राजनीतिक सन्तुलन कायम राख्न सफल भएको छ । वर्तमान चिनियाँ राष्ट्रपति सि चिनफिङ नेतृत्वको समुहले विश्वव्यवस्थामाझ एशियाली सभ्यताको मर्यादा उच्च राख्न सफल भएको छ । त्यो सफलतालाई चीन र अमेरिकी सम्बन्धले पनि मापन गरेको छ । यद्यपि, भावी चिनियाँ नेतृत्व–शक्तिको सवालमा नेतृत्वपंक्तीको उमेर हद, पार्टी पोजिसन, पोलिसी पोर्टफोलियो र इलाइट÷पोलिटिकल नेटवर्क जस्ता सुचकाङ्क (इण्डिकेटर) हरुलाई आधार मानेर हेर्दा नियमित संरचनागत पद्धति र परिवर्तनबाट भावी चिनियाँ राष्ट्रपति निर्वाचित हुन्छन् कि “७ माथि बस्ने, ८ पुगेपछि अवकाश” हुने जस्तो अनौपचारिक परम्पराबाट निर्वाचित हुन्छन् भन्ने चासोलाई आँकलन गर्न कठिन भएकोहुँदा यहाँ एउटा अनुसन्धान अन्तराल रहेको छ ।

(लेखक थापा ‘नेपाल–चीन सम्बन्ध’ मामिलाका विद्यावारिधि शोधार्थी हुनुहुन्छ ।)

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर