
काठमाडौँ, भदौ १५ गते । प्रधानमन्त्री वालेन्द्र शाहले नागरिकको सुरक्षा र अभिभावकत्व प्रदान गर्नु सरकारको सर्वोच्च दायित्व रहेको बताउँदै यसलाई पूर्ण निष्ठाका साथ पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । आइतबार साँझ सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै उहाँले भन्नुभएको छ, “हाम्रो एकता र सामूहिक प्रयासबाट नै हामी यस सङ्कटलाई परास्त गर्न सफल हुने छौँ । नेपाल सरकार हरेक प्रभावित नागरिकको अभिभावक बनेर उभिएको छ । प्रभावित प्रत्येक व्यक्तिसम्म राहत पुर्याउने र पुनर्निर्माण तथा पुनस्र्थापनाको पूर्ण नतिजा नआएसम्म काम निरन्तर जारी राख्ने प्रतिबद्धता व्यक्त गर्छु ।”
हामी कुनै पनि बहाना नबनाई सम्पूर्ण राज्य संयन्त्रलाई युद्धस्तरमा परिचालन गरेर प्रभावित क्षेत्रका प्रत्येक नागरिकको जीवनरक्षा र राहतमा अहोरात्र खटिरहेका छौँ । आफ्ना नागरिक सङ्कटमा परेको यस दुःखद घडीमा नेपाल सरकार अत्यन्तै गम्भीर, स्तब्ध र संवेदनशील छ । आफ्ना प्रियजन, घरबार र जायजेथा गुमाउँदाको पीडाभन्दा ठुलो अन्य केही हुन नसक्ने उहाँले बताउनुभयो ।
राहत कोषमा पाँच अर्ब सन्ताउन्न करोड
प्रधानमन्त्री शाहले प्रधानमन्त्री राहत कोषमा पाँच अर्ब २४ करोड ७९ लाख ४४ हजार ५८५ रुपियाँ जम्मा भएको पनि जानकारी दिनुभएको छ । त्यसै गरी हिमालयन र लक्ष्मी बैङ्कमा थप २१ लाख २३२ अमेरिकी डलर जम्मा भएको छ । दुवै रकम जोड्दा करिब पाँच अर्ब ५७ करोड रुपियाँ हुन्छ । आइतबार मध्याह्नसम्म नौ वटा वाणिज्य बैङ्कका खातामा सो रकम जम्मा भएको प्रधानमन्त्रीले जानकारी दिनुभएको हो ।
भोटेकोशीमा गएको बाढीको पछिल्लो अवस्थाबारे सामाजिक सञ्जाल (फेसबुक) मा आइतबार साँझ स्ट्याटस लेख्दै प्रधानमन्त्री शाहले सङ्कलित रकम प्रभावकारी रूपमा खर्च गर्नेबारे छलफल भइरहेको जानकारी गराउनुभएको छ ।
त्यसै गरी एसियाली विकास बैङ्क (एडिबी) बाट बजेटरी सहयोग (अनुदान) का लागि पाँच मिलियन अमेरिकी डलर, विश्व बैङ्कबाट १६७ मिलियन अमेरिकी डलरको सहुलियतपूर्ण कर्जा, अमेरिकी सरकारबाट पाँच लाख अमेरिकी डलर र अस्ट्रेलिया सरकारबाट एक मिलियन अमेरिकी डलर (नगद सहयोग), एसियाली विकास बैङ्कबाट प्राविधिक सहायताका लागि एक लाख ५० हजार अमेरिकी डलर उपलब्ध गराउने प्रतिबद्धता आएको उहाँले जानकारी गराउनुभएको हो ।
त्यसै गरी भारत सरकारबाट अहिलेसम्म चार चरणमा कुल ६८.५ टन मानवीय सहायता तथा अत्यावश्यक औषधी प्राप्त भएको छ । चीन र अमेरिकाबाट पनि सोही किसिमको सहायता आउँदै छ । चीनबाट ३० वटा बेलिब्रिज सहयोगका लागि अनुरोध गरिएको छ । भारतले आइतबार २३० फिट सिङ्गल लेन मोडुलर स्टिल ब्रिज पठाएको छ । बाढी प्रभावितको उद्धार तथा राहतका
लागि भइरहेका प्रयासबारे जानकारी गराउँदै उहाँले प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले ‘उद्धार अनुरोध पोर्टल’ सञ्चालन गरेको र शवहरूको व्यवस्थापन कानुन अनुसार भइरहेको पनि बताउनुभएको छ ।
नौ हजार ४३५ जनाको उद्धार
उहाँले प्रतिकूल मौसम र विकट भौगोलिक परिस्थितिबिच पनि प्रभावित क्षेत्रबाट आइतबार साँझसम्म नौ हजार ४३५ जनालाई हवाई र स्थलमार्गमार्फत उद्धार गरी सुरक्षित स्थानमा पुर्याएको बताउनुभएको छ । रसुवाको माथिल्लो त्रिशूली–१ आसपासबाट चिनियाँ र कोरियन विशेषज्ञ टोलीले नेपाली सेनासँग समन्वय गरी उद्धारको प्रयास जारी राखेको छ, साथै चिनियाँ टोलीले सुरुङभित्र तीन किलोमिटरसम्म खोज गरिसकेको छ ।
सामाजिक सञ्जालमा उहाँले उल्लेख गर्नुभएको छ, “नुवाकोटको माथिल्लो त्रिशूली ३ ‘ए’ आयोजनाको सुरुङमा उद्धारको प्रयास जारी राखिएको छ । घटनास्थलमा नेपाली सेना, तालिम प्राप्त कुकुरसहित सशस्त्र प्रहरी बल नेपाल र नेपाल प्रहरीका विशेषज्ञ गरी ९० जनाको संयुक्त टोली खटिएको छ । टोलीले आइतबार दिउँसो सुरुङको मुख्य भागमा पुगेर २×३ फिटको प्वाल बनाएको थियो । डोरीको सहायताले टोली तल झरेर बोलाउँदा भित्रबाट कुनै प्रतिक्रिया आएन । त्यसैले ठुला उपकरण, ब्लास्टिङ तथा प्वाल फराकिलो पार्ने काम एकसाथ जारी राखिएको छ ।”
उहाँका अनुसार नुवाकोटको माथिल्लो त्रिशूली ३ ‘बी’ जलविद्युत् आयोजनामा पनि उद्धारको प्रयास जारी छ । यस क्षेत्रमा चिनियाँ विशेषज्ञ टोलीले नेपाली सेनासँगको समन्वयमा काम गरिरहेको छ ।
रसुवाको चिलिमे जलविद्युत् आयोजनामा नेपाली सेनासँगको समन्वयमा भारतीय टोलीले ‘रेकी’ गरी पम्प र एक्साभेटर लगेर उद्धारको प्रयास गरिरहेको छ । रसुवाको लामटाङ खोला जलविद्युत् आयोजनामा नेपाली सेनाद्वारा खोज तथा उद्धार भइरहेको छ । रसुवाकै मैलुङखोला जलविद्युत् आयोजनामा कोरियन विशेषज्ञको टोलीले नेपाली सेनासँग समन्वय गरी हवाई रेकी भई काम सुरु भइसकेको उहाँले उल्लेख गर्नुभएको छ ।
प्रभावित क्षेत्रमा स्याटेलाइट फोन
प्रधानमन्त्रीले प्रभावित क्षेत्रका अधिकांश स्थानमा सञ्चार सेवा पुनः सुरु भइसकेको जानकारी गराउनुभएको छ । आइतबार मात्रै नेपाल दूरसञ्चार प्राधिकरणको सहयोगमा प्राप्त २० वटा स्याटेलाइट फोन प्रभावित क्षेत्रमा पठाएको छ । नेपाल टेलिकमका १२० र एनसेलका ७८ वटा बिटिएस टावर सञ्चालनमा रहेकोमा बाढीका कारण नेपाल टेलिकमका ३८ र एनसेलका २७ वटा टावरको सेवा अवरुद्ध भएको थियो । जसमध्ये अहिलेसम्म नेपाल टेलिकमका १०६ र एनसेलका ७५ वटा टावर सञ्चालनमा आइसकेका छन् भने बाँकी टावर पनि चाँडै सञ्चालनमा ल्याउने प्रयास भइरहेको छ ।


















