
काठमाडौँ, भदौ २५ गते । राष्ट्रियसभाका सदस्यले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । राष्ट्रियसभाको आजको बैठकको शून्य समयमा भाग लिँदै उहाँहरूले दैनिक उपभोग्य वस्तुको अभाव र बाढी पहिरो प्रभावितको राहत र उद्धारका विषयमा सदनमार्फत सरकारको ध्यानाकर्षण गराउनुभएको हो ।
सांसद खम्मबहादुर खातीले बाजुरा जिल्लाको बुढीगण्डकीमा अस्पताल निर्माण सम्पन्न गर्ने सम्झौता बमोजिम काम नभएको भनि स्थास्थ्य मन्त्रालयको ध्यानाकर्षण गराउनुभयो । सभाका अर्का सदस्य चन्द्रबहादुर केसीले बजारमा खाना पकाउने ग्यासको अभाव देखाएर कालोबजारी भइरहेको भन्दै त्यस्ता कार्य तत्काल रोक्न सरकारसँग माग गर्नुभयो । बाढी प्रभावित क्षेत्रमा तत्कालको आवश्यकता पूर्ति गर्न तुइनलगायत यातायातको पहुँच पुर्याउनुपर्नेमा उहाँको जोड थियो ।
सदस्य जगत तिमल्सिनाले सार्वजनिक पदमा बसेका व्यक्ति जिम्मेवार भएर प्रस्तुत हुनुपर्नेमा त्यस्तो नहुँदा अराजकता फैलनेतर्फ सचेत गराउनुभयो । त्यस्तै सदस्य धर्मेन्द्र पासवानले मधेश प्रदेशमा धेरै पुल अधुरो रहेकाले यथाशीघ्र काम अगाडि बढाउन सरकारसँग माग गर्नुभयो । सांसद मीनासिंह रखालले भोटेकोशी बाढीमा परी हराएका श्रीमानको खोजी गरिदिन माग गर्दा सामाजिक सञ्जालमा पीडितप्रति नै अश्लील गालीगलौच गर्नेलाई कारबाही गर्न माग गर्नुभयो ।
सदस्य रञ्जित कर्णले कानुन निर्माण राष्ट्रियसभाबाट अवरोध भयो भनि दिएको अभिव्यक्तिका विषयमा विरोध जनाउनुभयो । सांसद रामकुमारी झाँक्रीले राष्ट्रियसभाबाट कानुन निर्माणमा कहाँ र कहिले अवरोध भएको भन्ने विषय स्पष्ट पार्न आग्रह गर्नुभयो । सांसद रेखाकुमारी झाले भोटेकोशी बाढीबाट प्रभावितलाई उनीहरूको आवश्यकता अनुसार यथाशीघ्र राहत उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराउनुभयो ।
सदस्य रोशनी मेचेले मोरङ कारागारमा भएको झडपको घटनाका बारेमा छानबिन गरी दोषीमाथि काराबाही गर्न आग्रह गर्नुभयो । सदस्य वासुदेव घिमिरेले देशमा मानसिक स्वास्थ्य सम्बन्धी समस्या बढ्दै गएरकाले आत्महत्याको दर पनि बृद्धि हुँदै गएकोप्रति चिन्ता व्यक्त गर्नुभयो ।
अर्का सदस्य सम्झना देवकोटाले गत वर्ष र यो वर्षको भदौमा प्राकृतिक विपति आइलागेको उल्लेख गर्दैै त्यस्ता विपदबाट हुने जनधनको क्षतिको न्यूनीकरण गर्न पूर्वतयारी अपनाउनुपर्नेमा जोड दिनुभयो । सदस्य सुनीलबहादुर थापा र सोमनाथ पोर्तेलले राज्यका जिम्मेवार निकायमा बसेका व्यक्तिका अभिव्यक्तिबाट अरुलाई चोट पुर्याउन नहुनेतर्फ सचेत रहनुपर्ने बताउनुभयो । रासस


















