एस् ए टी भी १६ जेष्ठ, काठमाडौँः सरकारले खेलकुद पूर्वाधार निर्माणलाई प्राथमिकता दिने भएको छ। अर्थमन्त्री विष्णुप्रसाद पौडेलले संघीय संसदमा आर्थिक वर्ष २०८२-८३ को बजेट प्रस्तुत गर्दै खेल पूर्वाधार, खेलाडी प्रशिक्षण कार्यक्रम र प्रतियोगिता सञ्चालन गर्न प्राथमिकता दिने उल्लेख गरेका हुन्।
सरकारले नीजि क्षेत्रलाई खेल पूर्वाधारमा लगानी गर्न आकर्षित गर्ने नीति लिने पनि अर्थमन्त्री पौडेलले बजेटमा उल्लेख गरेका छन्।
यस्तै झापाको दमकमा बहुउद्देश्यीय आधुनिक रंगशाला निर्माण गर्न बजेट विनियोजन गरिएको छ। सोलुखुम्बु, मुस्ताङ र जुम्लामा हाइ अल्टिच्युट रंगशाला निर्माण गरिने सरकारको भनाइ छ।
मुलपानी क्रिकेट रंगशाला, मोरङको गिरिजाप्रसाद कोइराला क्रिकेट रंगशाला, कैलालीको फाप्ला क्रिकेट रंगशाला र रुपन्देहीको सिद्धार्थनगर क्रिकेट रंगशालाको निर्माणका लागि ४२ करोड बिनियोजन गरिएको छ।
कीर्तिपुरको रंगशाला स्तरोन्नती गर्न थप ४० करोड रुपैयाँ छुट्याइएको छ। अहिले झन्डै ९० करोडमा फ्लड लाइट र १० हजार दर्शक क्षमताको प्यारापिटको निर्माण कार्य भइरहेको छ।
चितवनको गौतमबुद्ध क्रिकेट रंशागालाको सिर्जित सम्पत्ती खरिद गर्न शसर्त अनुदानको व्यवस्था गरिएको छ।
यो वर्ष सुर्खेतको वीरेन्द्रनगरमा दशौं राष्ट्रिय खेलकुदका लागि ५४ करोड बिनियोजन गरिएको छ। २०८१ सालमा गर्ने भनिएको दशौं राष्ट्रिय खेलकुद पटक पटक सरेको थियो।
अन्तर्राष्ट्रिय पदक विजेता खेलाडीलाई पुरस्कार र उनीहरुका सन्तानलाई शैक्षिक छात्रबृत्ति प्रदान गर्ने सरकारले घोषणा गरेको छ।
खेलाडी र प्रशिक्षकको प्रोत्साहन भत्ता निरन्तरता दिइएको छ।
प्रत्येक प्रदेशमा कम्तिमा तीन स्पोर्ट्स एकेडेमी सञ्चालन गर्ने सरकारको योजना छ।
आगामी आर्थिक बर्षका लागि सरकारले युवा तथा खेलकुद मन्त्रालयका लागि कुल ६ अर्ब ८ करोड विनियोजन गरेको छ। यो बजेट चालु आर्थिक बर्षको बजेटभन्दा तीन गुणा बजेट हो। चालु वर्षमा २ अर्ब ५८ करोड मात्रै विनियोजन गरिएको थियो।