एस् ए टी भी जेठ १,काठमाडौंः जति बेला भारतीय छनोटकर्ताले इंग्ल्यान्ड भ्रमणमा निस्कने क्रिकेट टिमको घोषणा गर्नेछन्, त्यसमा एक दशकयता पहिलो पटक दुई सफलत्तम खेलाडी विराट कोहली र रोहित शर्मा हुने छैनन् । यससँगै सुरु हुनेछ, भारतीय क्रिकेटको अनिश्चित भविष्य ।
पछिल्लो साता अब्बल ब्याटर कोहली र कप्तान शर्माले टेस्ट क्रिकेटबाट संन्यासको घोषणा गरे । त्यसको अर्थ इंग्ल्यान्ड जाने भारतीय टिम नयाँ जस्तै हुनेछ । अनि शुवमन गिल कप्तानका लागि बलियो प्रत्याशी रहनेछन् । गत वर्ष मात्रै भेट्रान बलर रविचन्द्रन आश्विनले पनि संन्यास लिएका थिए । यस्तोमा इंग्ल्यान्ड जाने भारतीय टिम मेरुदण्डबिनाकै जस्तो हुनेछ ।
त्यति बेला भारत नम्बर १ टेस्ट टिम थियो । भारतले जुन २० देखि इंग्ल्यान्डमा सुरु हुने पाँच टेस्टको शृंखला खेल्दै छ । त्यसको पहिलो खेल हेडिङ्लेमा हुनेछ र यो भारतीय पुनर्निर्माण प्रक्रियाको पहिलो महत्त्वपूर्ण पाइला सावित हुनेछ । क्रिकेट पत्रकार अजय मेनन भन्छन्, ‘सम्भवतः गिल नै नयाँ कप्तान हुन सक्छन् । तर विदेशमा उनको प्रदर्शन राम्रो छैन ।’
गिलले अहिलेसम्म भारतका लागि ३२ टेस्ट खेलिसकेका छन् र त्यसमा ३५.०५ को औसतले १ हजार ८ सय ९३ रन बनाएका छन् । त्यसमा पाँच शतक सामेल छ । उनले विदेशी भूमिमा खेलेका टेस्टको संख्या १३ रहेको छ र त्यसको उनको औसत २९.५० मात्रै रहेको छ । हुन सक्छ, गिलले इनिङ्सको सुरुआत गर्नेछन् ।
उनलाई त्यहाँ २३ वर्षीय खेलाडी यशस्वी जयसवालले साथ दिनेछन् । त्यसपछि कडा प्रहारका लागि माहिर श्रेयस अयरको स्थान पाउने छन् र उनी नै कोहलीको विकल्प मानिएको छ । कोहलीको स्थान पूरा गर्नु असम्भव नै मानिए तापनि त्यसको विकल्पमा सरफराज खान, रजत पातिदार र ध्रुव जुरेललाई पनि मानिएको छ । विकेटकिपर ब्याटर ऋषव पन्तलाई पनि भविष्यका कप्तानका रूपमा हेरिएको छ । उनी आफै पनि खराब लयबाट गुज्रिरहेका छन् ।
त्यति मात्र नभएर इन्डियन प्रिमियर लिगमा लखनउ सुपर जायन्ट्सका लागि उनको कप्तानी फिक्का मानिएको छ । अस्ट्रेलिया भ्रमणमा जाँदा शर्माका उप–कप्तान जसप्रित बुमराह थिए र उनले टेस्टमा नेतृत्व पनि गरे । त्यसमध्येमा एकमा भारत विजयी पनि रहेको थियो । उनी पनि कप्तानका लागि बलियो प्रत्याशी हुन् । चोटबाट मुक्त हुँदै उनी भर्खरै मात्र मैदानमा आएका छन् ।
जनवरीमा सिड्नीमा भएको टेस्टकै क्रममा उनी घाइत भएका थिए । इंग्ल्यान्डमा हुने पाँच टेस्टको शृंखला छ साता चल्नेछ । त्यसको अर्थ भारतले आफ्ना बलरलाई धेरै बोझ नहोस् भनेर एक दुई टेस्टको बीचमा आराम पनि दिनुपर्नेछ । त्यसैले बुमराह कप्तानका लागि राम्रो विकल्प नहुन सक्छ ।
पत्रकार मेनन कोहलीको टेस्ट संन्यासलाई भारतीय क्रिकेटकै एक महत्त्वपूर्ण मोड मान्छन् । तर उनी के पनि मान्छन् भने अहिले भारतीय क्रिकेट कति धेरै बलियो छ भने कोही न कोही विकल्प खेलाडी निस्कने नै छन् ।
‘अहिले पनि टिममा केही सिनियर खेलाडी छन्, जस्तो, मोहमद सामी र रवीन्द्र जडेजा । नयाँ खेलाडी पनि अगाडि आइरहेका छन्, जस्तो जयसवाल, गिल, पन्त । सायद प्रसिद्ध कृष्ण र मोहमद सिराज पनि उत्तिकै राम्रा छन् । आश्विनको स्थानमा वासिङटन सुन्दर पनि राम्रो विकल्प हुनेछन्,’ मेनन भन्छन् ।
सन् २०१५ मा कोहली कप्तान हुँदा प्रमुख छनोटकर्ता रहेको सन्दीप पाटिल मान्छन्, ‘कोहली र शर्मा भारतीय टिमका दुई खम्बा थिए । उनीहरू नरहेपछि अब भारतीय टिम पुनर्निर्माणबाट गुज्रिनेछ र यो चुनौती रहनेछ ।’