एस् ए टी भी ०९ ज्येष्ठ, काठमाडौंः नेपालका १२ खेलाडीले मे २५ तारिखदेखि बाङ्लादेशमा हुने बिकेएसपी जुडो च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्ने भएका छन्।
आगामी मे २५ देखि २६ तारिखसम्म बाङ्लादेश क्रिरा सिख्रा प्रोतिष्ठान (बिकेएसपी) जुडो च्याम्पियनसिप हुँदै छ। उक्त च्याम्पियनसिपमा १२ खेलाडीसहित कुल १४ सदस्यीय नेपाली टोली सहभागी हुँदै छ।
प्रतियोगितामा सात पुरुष र पाँच महिला गरी १२ खेलाडीले प्रतिस्पर्धा गर्नेछन्। त्यसका लागि नेपाली टोली बिहीबार बाङ्लादेशको ढाका प्रस्थान गरेको छ। पुरुष ४५ केजीमुनि रिवाज लामा तामाङ, ५० केजीमुनि सभर पौडेल, ५५ केजीमुनि बुद्ध गुरुङ, ६० केजीमुनि सविनकुमार दियाली, ६६ केजीमुनि विशेष विक, ७३ केजीमुनि प्रयास तामाङ र ७३ केजीमाथि विज्ञान खत्री रहेका छन्।
महिला ४४ केजीमुनि समिता नेपाली, ४८ केजीमुनि निशा श्रेष्ठ, ५२ केजीमुनि विनीता नेपाली, ५७ केजीमुनि पेमा याङजी शेर्पा र ६३ केजीमुनि रेखा श्रेष्ठ छन्। यी खेलाडीमध्ये समिता, निशा, विनीता, पेमा र सबिनसहित पाँच जना बन्दी सहायता नियोग (पाम) का हुन्।
प्रशिक्षकमा राधादेवी राई र लक्ष्मी तामाङ रहेका छन्। राधाले प्रतियोगितामा निर्णायकको भूमिका पनि निर्वाह गर्ने नेपाल जुडो संघका अध्यक्ष दीपकहर्ष वज्राचार्यले जानकारी दिए। राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङले टोलीलाई सफलताको शुभकामना दिँदै बिहीबारै एक कार्यक्रमबीच बिदाइ गरेका थिए।