खैरहनी नगरपालिका–४ चैनपुरका श्याम गुरुङ व्यावसायिक रूपमा मौरीपालन गर्न थालेको २४ वर्ष पुग्यो। यो अवधिमा गुरुङलाई मह बिक्री भएन भन्नुपरेको थिएन। तर, पछिल्लो तीन वर्षयता उनलाई मह बिक्री गर्न सकस परिरहेको छ।
‘यतिखेर मह बेच्न भ्याइनभ्याइ हुन्थ्यो। काठमाडौंदेखि देशका विभिन्न ठाउँबाट व्यापारी घरसम्मै आइपुग्थे विगतको अवस्था सुनाउँदै गुरुङले भने, ‘यसपटक भने मह बिक्री नभएर गोदाममै थुप्रिएको छ।’
उनको गोदामा दुई बर्षदेखिको मह छ। गत वर्षको तोरीको मह १८ क्विन्टल र यस वर्षको चिउरीको मह पाँच टन बिक्री भएको छैन,’ उनले भने, ‘सस्तोमा दिन खोज्दासमेत कोही लिन आउँदैनन्।’
मनु वि फर्म दर्ता गरी २०५६ देखि गुरुङले व्यावसायिक रूपमा मौरी पालन गर्दै आएका हुन्। उनको फार्ममा हाल एक सय ३४ आधुनिक घार छन्। यी घारबाट वर्षमा करिब पाँच टन मह उत्पादन हुन्छ। उनले बाहिरबाट पनि खरिद गरेर मह बेच्दै आएका थिए।
यस वर्ष पनि उनले किसानबाट १० टन मह खरिद गरेका थिए। तर, बेच्न सकेका छैनन्। यसअघि उनले नियमित रूपमा डाबर नेपाल र पतञ्जलीलाई मह बेच्ने गर्दथे। अहिले उनीहरूले नेपाली मह लैजान छाडेको उनले बताए।
‘डाबर नेपाल र पतञ्जलीले तीन वर्ष नेपाली मह खरिद गरे। अहिले अन्य मुलुकबाट मह खरिद गर्छन्,’ उनले भने, ‘नेपाली महभन्दा बाहिरको मह सस्तो भएर हो कि?’
बजारमा हाल प्रतिकिलो सात सयमा मह बिक्री हुने गरेको छ। यहाँ उत्पादित महको मुख्य बजार काठमाडौं नै हो। नेपालमा तीन हजार मेट्रिक टन हाराहारीमा मह बिक्री नभएको नेपाल मौरीपालक महासंघका निर्वतनमा अध्यक्ष शिवप्रसाद पौडेलले बताए।
उनका अनुसार, सबैभन्दा धेरै चितवनमा एक हजार दुई सय मेट्रिक टन को हाराहारीमा टन मह सञ्चित छ। दाङ, झापा, स्याङ्जा, सुर्खेत, कपिलवस्तु, रूपन्देही, मकवानपुर, पाल्पा, नवलपरासी लगायतका जिल्लाका किसानले मह बिक्री गर्न सकेका छैनन्।
नक्कली महको बिगबिगीका कारण नेपालमा उत्पादित महको बिक्री हुन छाडेको नेपाल मौरी पालन महासंघ चितवनका अध्यक्ष दुर्गालाल लामा बताउँछन्। ‘भारत र चाइनाबाट मह भित्रिएको छ। काठमाडौंमा यसअघि चिनी प्रयोग गरेको मह समातियो। त्यसको असर नेपालको गुणस्तरीय महमा परेको छ,’ उनले भने।
उनका अनुसार नेपालमा नौ सय मेट्रिक टन महको आवश्यकता छ। तर, नेपालमा उत्पादन भने पाँच सय मेट्रिक टन मह उत्पादन हुने गरेको उनले बताए। बाहिरी मुलुकबाट मह आयात हुँदा स्वदेशी उत्पादनले मूल्य पाउन नसकेको उनले बताए।
एक केजी मह उत्पादन गर्न चार सय ३२ रूपैयाँ लागत लाग्ने किसानको अनुमान छ। उनीहरूले अहिले तीन सय रूपैयाँमा दिँदासमेत बिक्री भएको छैन। तर, बजारमा उपभोक्ताले भने सात सय रूपैयाँसम्ममा खरिद गरेर उपभोग गर्न बाध्य छन्।
कोरोनाका कारण मानिसहरूको क्रयशक्ति कम हुँदा पनि मानिसहरूले मह कम प्रयोग गर्न थालेको उनको भनाइ छ। तोरी, चिउरी, फापर, मसला, जामुन, सिसौँ, चिलाउने, कटुस, मियल, पैयुँ र रुदिलो मह उत्पादनका स्रोत हुन्। व्यापारीले तोरी र फापरको मह लैजान नमान्ने गरेको किसान बताउँछन्।
रुदिलो र चिउरीको मह भने अरूको तुलनामा बिक्ने गरेको छ। नेपालमा व्यवसायीक रूपमा मौरीपालन गर्ने किसान १३ हजारको हाराहारीमा छन्। नेपालमा मेलीफेरा मौरी एक लाख ३० हजार, सेरना मौरी एक लाख १७ हजार गरी दुई लाख ४७ हजार गोला मौरी छन्।
नेपालमा वार्षिक चार हजार मेट्रिक टन मह उत्पादन हुँदै आएको छ। त्यसमध्ये चितवनमा दुई सय ६८ मेट्रिक टन उत्पादन हुने गरेको सरकारी तथ्यांक छ। तोरी र फापरको स्रोतबाट ३० प्रतिशत र अन्य स्रोतबाट ७० प्रतिशत मह उत्पादन हुन्छ।
नेपाली महको खपतका लागि सरकारले छुट्टै नीति बनाउनुपर्ने कृषि ज्ञान केन्द्र चितवनका सूचना अधिकारी उमराज अर्याल बताउँछन्। ‘सरकारले गोष्ठी तथा सेमिनारमा महपानी खुवाउने कार्यक्रम ल्याउनुपर्छ।