
काठमाडौं । चकलेटी अनुहार र उम्दा अभिनयले प्रदीप खड्का युवा दर्शकमाझ प्रिय छन् । प्रदीपको डेब्यु फिल्म ‘प्रेमगीत’ नै हिट भयो । त्यसपछि प्रेमगीत २, लिलीबिली र प्रेमगीत ३ बाट अभिनेताको रूपमा स्थापित भए ।
सन्तोष सेन निर्देशित ‘प्रेमगीत ३’ लाई त बलिउडसम्म पुर्याएर उनले नेपाली फिल्मको इतिहासमा नयाँ मानक स्थापित गरे । प्रदीप व्यावसायिक सफलतामा मात्र सीमित नभई ‘प्रकाश’, ‘पुजार सार्की’ जस्तो यथार्थपरक फिल्ममा ग्रामीण परिवेशको चरित्र निर्वाह गरेर आफूलाई एक गम्भीर र परिपक्व अभिनेताको रूपमा समेत प्रमाणित गर्न सक्षम छन् ।
हाल उनी नेपालकै पहिलो साइ–फाइ फिल्म ‘एक्लो’ मार्फत अभिनेता र निर्माताको रूपमा नयाँ प्रयोग गरिरहेका छन् । फिल्म आइतबार अमेरिकाको न्युयोर्कस्थित विश्व प्रसिद्ध म्युजियम ‘अफ द मुभिङ इमेज’मा प्रिमियर भएको छ । हलिउडका केही विशिष्ट फिल्म र विश्वप्रसिद्ध कलाकारहरूको फिल्म मात्र प्रिमियर हुने यस स्थानमा ‘एक्लो’ले अवसर पाएको हो । फिल्म प्रदीप शाहीले निर्देशन गरेका हुन् । व्यावसायिक रेकर्ड भन्दा नयाँपन दिनुलाई सफलता मान्ने प्रदीपसँग ‘एक्लो’ र समग्र नेपाली फिल्म क्षेत्रसँग सम्बन्धित रहेर गरिएको कुराकानीको सम्पादित अंश :
लामो समयदेखि फिल्म ‘एक्लो’कै नाम जप्दै आउनुभएको छ । फिल्ममा अभिनय मात्र हो कि अन्य जिम्मेवारी पनि छ ?
‘एक्लो’मा अभिनेता र निर्माता दुवैको जिम्मेवारी छ । दोहोरो जिम्मेवारी भएपछि धेरै समय दिनुपर्यो । केही समयको अन्तरालपछि मेरो फिल्म आउँदैछ । फिल्मको बारेमा सबैलाई जानकारी दिएर सफल बनाउने पनि मेरो जिम्मेवारी नै हो । अहिले म अमेरिकाको न्युयोर्कमा छु । आइतबार आयोजित फिल्मको प्रिमियरमा सहभागी हुन यहाँ आएको हुँ । प्रिमियरमा फिल्मले सकारात्मक प्रतिक्रिया पाएको छ । अब नेपाल फर्किएर फिल्मको प्रचारप्रसारमा नै व्यस्त हुनेछु ।
‘एक्लो’ कस्तो खालको फिल्म हो ?
यो एक कल्पनामा आधारित फिल्म हो । एउटा भाइरसका कारण संसार बस्न अयोग्य भएपछि शक्तिशाली देशहरू ‘स्पेस’ (अन्तरिक्ष) मा सर्छन् । तर नेपाल जस्तो अल्पविकसित र भ्रष्टाचारले गाँजेको देशको अवस्था के हुन्छ होला भन्ने कल्पनामा यो फिल्म आधारित छ । यो ७०–८० वर्षपछिको भविष्यको कथा हो ।
तपाईंलाई कस्तो भूमिकामा देख्न पाइन्छ ?

यसमा मेरो क्यारेक्टरको नाम ‘कल्की’ हो । हिन्दु मिथोलोजीमा कल्कीलाई विष्णुको दशौँ अवतार मानिन्छ, जसले संहार गरेर नयाँ युगको सुरुवात गर्छन् । यसमा १०० वर्षपछिको ‘फ्युचरिस्टिक’ सोच र पुरानो मिथकलाई मिसाएर मेरो क्यारेक्टर तयार पारिएको छ । दर्शकले मलाई अहिलेसम्म देखेको र कल्पना गरेको भन्दा फरक भूमिकामा पाउनुहुनेछ ।
दर्शकबिच तपाईंको चकलेटी छवि छ । त्यसलाई भत्काएर ‘एक्लो’ नयाँ प्रयोग गर्नुभयो । यसमा कत्तिको रिस्क देख्नु भएको छ ?
म सधैँ नयाँ प्रयोग गर्न रुचाउँछु । ‘प्रकाश’ र ‘पुजार सार्की’ पनि मेरा लागि नयाँ प्रयास थिए । ‘प्रेमगीत ३’ एउटा नयाँ प्रयास थियो मार्केटका लागि । ‘एक्लो’ आफैंमा नयाँ प्रयोग हो । अडियन्सले यसको प्रचार सामग्री स्वीकारिसक्नुभएको छ । त्यसले पनि नयाँ स्वाद दिँदा दर्शकले सधैँ साथ दिनुहुन्छ भन्ने प्रमाणित गर्छ ।
करिअरका लागि चुनौती कति छ ?
नयाँ भूमिकाका लागि करिअरको चुनौती त छ, तर असफल हुने डरले नयाँ प्रयोग गर्न छोड्नु हुँदैन । सफल भए पनि, असफल भए पनि मैले केही नयाँ सिकाउन सक्षम भएँ भन्नेमा म खुसी हुन्छु । यसमा आत्मसन्तुष्टि चाहिँ शतप्रतिशत हुन्छ । इतिहासलाई फर्केर भोलि हेर्दा अहिले बन्ने कुनै रेकर्डले खासै अर्थ राख्दैन । मेरो विचारमा नयाँ के चीज दिन सक्षम भयो भन्ने कुराले सफलताको मापन गर्छ ।
नेपाली बजारमा यस्ता ‘साइ–फाइ’ फिल्म चल्लान् त ?
चल्छ भन्नेमा म विश्वस्त छु । संसारमा ठुला बजेटका मात्र साइ–फाइ फिल्म सफल भएका छैनन्, राम्रा कन्सेप्ट भएका फिल्मले पनि बजार पाएका छन् । हामीले नेपाली फिल्मको सोचमा परिवर्तन ल्याउन र यसलाई अन्तर्राष्ट्रिय स्तरको बनाउन यस्ता प्रयास गर्नैपर्छ ।
दर्शक यो फिल्मको कथामा कन्भिन्सिङ होलान् त ?
संसारका दुई–चारवटा फिल्म यस्ता छन्, जुन हेर्नुभयो भने हामीलाई पनि कस्तो फिल हुन्छ भने ‘ओहो यो त हामीले पनि गर्न सक्थ्यौँ’ । ‘नोप’ भन्ने एउटा फिल्म छ, त्यो फिल्ममा बादलको पछाडिपट्टि एउटा एलियन लुकेर बसेको हुन्छ, त्यसले गाई अनि घोडा खाइरहेको हुन्छ ।

एक दिन त्यो गाई–घोडा कहाँ हरायो भनेर खोज्दै जाँदाखेरि एलियन हुन्छ । त्यो फिल्म हेर्दा त्यस्ता खालका फिल्महरू इभन हाम्रो नेपालीले किन त्यस्तो फिल्म सोच्न सकेन होला त ? मुस्ताङ जस्तो जहाँ एकदमै पपुलेसन कम छ, त्यहाँ एलियनहरू लुकेर बसेका छन् कि त ? त्यस्तो खालको सोच हामीमा किन आएन होला जस्तो फिल हुन्छ । त्यस्तै कथा लिएर एक्लोका निर्देशक आउनुभयो । म कन्भिन्स भए दर्शक पनि हुन्छन् ।
नेपालमा किन बन्नुपर्छ यस्ता फिल्म ?
फिल्म उद्योगलाई फूलबारीको हिसाबले हेर्ने हो भने यो अलग्गै खालको फूल हो । एउटा बगैंचामा व्यवसाय नभएपनि विविध फूलहरू भयो भने गार्डेनमा घुम्न, हेर्न राम्रो देखिन्छ । फिल्म व्यवसाय होला, नहोला यो कलाको पनि पाटो हो । नयाँ खालको एक्सप्लोर गर्ने काम भएको हो ।
विश्वमा अर्को अडियन्सको पाटो के छ भने नेपाली फिल्मको ग्रोथ भएन, नेपाली फिल्मले नयाँ डाइभर्सिफाइ गर्न सकेन भन्ने छ । हामीले त्यसलाई एकपटक ‘एड्रेस’ गर्न खोजेका हौं । जसले ‘नेपाली फिल्म वर्ल्ड क्लासको भएन, सोचमा परिवर्तन आएन’ भनिरहनुभएको छ, सायद उहाँहरूले यो फिल्म हेर्नुपर्छ होला अझै सबैभन्दा पहिले ।
तपाईंको फिल्म आउन अन्य कलाकारको भन्दा लामो समय लाग्दा यो दर्शकप्रति अन्याय भएजस्तो लाग्दैन ?
ग्याप देखिएको पक्कै हो । व्यक्तिगत रूपमा हेर्ने हो भनेदेखि त घाटा छ । तर म यो समयलाई ‘वेस्ट’ (खेर गएको) भन्दा पनि ‘इन्भेस्ट’ (लगानी) गरेको मान्छु । एउटा ड्याममा पानी जम्मा भएपछि मात्र बिजुली निस्किए जस्तै यो समयले मलाई थप ऊर्जा र परिपक्वता दिएको छ । अब ‘एल्लो’पछि मेरा फिल्महरूको गति बढ्नेछ ।
भारतमा नियमित ढंगले पहिलो पटक नेपाली फिल्म रिलिज भयो ‘प्रेमगीत ३’, अमेरिकाको न्युयोर्कस्थित विश्व प्रसिद्ध म्युजियम अफ द मुभिङ इमेजमा पहिलो पटक नेपाली फिल्म प्रिमियर भयो ‘एक्लो’ । यी दुवै तपाईंका फिल्म हुन् । यो उपलब्धिलाई कसरी लिनुहुन्छ ?

मैले यस्तो यस्तो चीज यसरी एक्सप्लोर गर्न मिल्छ है भन्ने पाटोबाट हेरेको छु । मसँग अब एउटा लिबर्टी के छ भने मेरो दुई–चार वटा फिल्म तलमाथि भएर म इन्डस्ट्रीबाट आउट नै हुनुपर्ने अवस्था नरहला । त्यो हिसाबले म अलिकति कम्फर्ट जोनमा छु । कम्फर्ट जोन फिल्मका लागि होइन कि रिस्क लिनका लागि । त्यही भएर मैले रिक्स लिइरहेको छु । फरक-फरक चीज एक्प्लोर गर्न खोजिरहेको छु । सफलता भएन भने कुनै पनि बेला म दुई स्टेप ब्याक आएर म फेरि पुरानो आफ्नो काममा फर्किन सक्छु ।
अब कस्ता कथामा काम गर्ने योजना छ ?
म अहिले तीनवटा क्षेत्रमा काम गरिरहेको छु । पहिलो– ‘प्रकाश’ जस्ता अवार्ड र फेस्टिभल लक्षित गम्भीर फिल्म, दोस्रो– ‘प्रेम गीत ३’ जस्तो ठुलो व्यावसायिक मार्केट भएका फिल्म र तेस्रो– ‘एक्लो’ जस्तो ओटीटी प्रविधिमा आधारित फिल्म । यी तीनै धारलाई म सँगै लैजानेछु । तीनवटा एभेन्युजमा म अलग–अलग फिल्डमा जम्प गरेको देखिएपनि निरन्तर काम गर्ने टिम चाहिँ मैले सिर्जना गरेको छु । म दर्शकका लागि फरक फिल्म दिन कहिल्यै पछि हट्दिनँ ।
केही समयअघि रास्वपा सभापति रवि लामिछानेलाई जेलमै पुगेर भेट्नुभयो, राजनीतिमा लाग्न खोज्नु भएको हो ?
त्यो भेटघाट न फिल्म प्रचारका लागि थियो, न राजनीतिका लागि । देशको संवेदनशील अवस्था र परिवर्तनको पक्षमा उभिनु एक सजग नागरिकको कर्तव्य हो । सोही अनुरुप नितान्त पर्सनल भेटका लागि पुगेको थिएँ । त्यस्तो संवेदनशील ठाउँमा गएर म मनोरञ्जन या फिल्मलाई घुसाउने गल्ती त गर्दिनँ ।
राजनीतिको कुरा गर्दा अहिले हाम फाल्नका लागि मसँग पर्याप्त अध्ययन छैन । डिप्लोमेसी, पोलिसी मेकिङ र गभर्नेन्स नबुझी राजनीतिमा आउनु हुँदैन । अहिले म फिल्म क्षेत्रमै केही नयाँ गर्न चाहन्छु । भविष्यमा कुनै बिन्दुमा आफूलाई तयार भएको महसुस गरेँ भने अलि सिरियस भएर सोचौँला । अहिलेलाई मेरो राजनीति भनेकै चलचित्र हो ।






