नेभिगेसन मेनु

चेपाङ बस्तीमा विद्यालय निर्माण
सम्पादक:南亚网络电视
समय:2026-01-11 11:31

 

 Ichhakamana

चितवन, पुस २७ गते । चितवनको इच्छाकामना गाउँपालिका–१ मा रहेको राष्ट्रिय आधारभूत विद्यालयको पक्की भवन निर्माण भएको छ । 

चेपाङ बालबालिका अध्ययन गर्ने जिल्लाको विकट क्षेत्र भाराङमा विद्यालयको २५ वर्ष पुरानो भवन जीर्ण भएपछि नयाँ भवन निर्माण गरिएको हो । गाउँपालिकाको ५० प्रतिशत र सपना भिलेज सोसल इम्प्याक्टको ५० प्रतिशत लगानीमा निर्माण भएको नौकोठे विद्यालय भवनको गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङले उद्घाटन गर्नुभयो ।

उद्घाटन कार्यक्रममा पालिका अध्यक्ष गुरुङले चेपाङ बस्तीको शैक्षिक सुधारका लागि गाउँपालिकाले प्राथमिकताका साथ काम गर्दै आएको जानकारी दिनुभयो । “गाउँको शैक्षिक उन्नयनका निम्ति हामी सधैँ प्रतिबद्ध छौँ,” उहाँले भन्नुभयो, “विद्यालयमा आवश्यकता अनुसार भौतिक संरचना र शिक्षक दरबन्दी व्यवस्था गरिने छ ।” भौतिक निर्माण र शैक्षिक सुधारका कार्यक्रमलाई सँगसँगै लैजाने अध्यक्ष गुरुङले बताउनुभयो ।

अहिले कक्षा ८ सम्म मात्र पढाइ भइरहेको विद्यालयलाई आगामी शैक्षिक सत्रबाट कक्षा ९ को पढाइ सुरु गराउनका लागि अभिभावक तथा शिक्षकलाई आग्रह गर्नुभयो । उहाँले विद्यालय भवन निर्माणका लागि साझेदारी गर्ने संस्था सपना भिलेज सोसल इम्प्याक्टलाई धन्यवाद दिनुभयो । गाउँपालिकाका उपाध्यक्ष माया सिलवालले गाउँपालिकाले शिक्षाबाट कोही पनि वञ्चित नहोस् भन्नेमा ध्यान केन्द्रित गरिरहेको बताउनुभयो । कुनै पनि बालबालिका शिक्षाबाट वञ्चित भएको पाए शिक्षकले अभिभावक र बालबालिकालाई सम्झाइबुझाइ गरी विद्यालयसम्म ल्याउनुपर्ने कर्तव्य रहने उहाँको भनाइ छ । विकट भनिएको भाराङमा विद्युत्, मोटरबाटो, खानेपानीसहित पक्की विद्यालय भवन बनिसकेको र थप विकासका लागि गाउँपालिका तयार रहेको सिलवालले बताउनुभयो ।

सपना भिलेज सोसल इम्प्याक्टका अध्यक्ष ध्रुव गिरीले इच्छाकामना गाउँपालिकाका विभिन्न वडामा विशेष गरी शिक्षा क्षेत्रको विकासका लागि सहयोग गरिरहेको जानकारी दिनुभयो । नयाँ भवन निर्माण हुनुअघि जीर्ण अवस्थामा रहेको पुरानो विद्यालय भवनका कारण पठनपाठनमा समस्या हुँदै आएको थियो । अहिले आधुनिक संरचना, सुरक्षित कक्षाकोठा र पर्याप्त स्थानसहितको नवनिर्मित भवनले विद्यार्थी तथा शिक्षक दुवैलाई सहज र प्रेरणादायी वातावरण प्रदान गरेको विद्यालय प्रधानाध्यापक दीपबहादुर गुरुङले बताउनुभयो ।

गाउँपालिका र सपना भिलेजको सहकार्यमा एक करोड १३ लाख ६२ हजार २२९ मा आठकोठे पक्की भवन निर्माण गरिएको हो । यस्तै सहरी विकास मन्त्रालयको आर्थिक सहयोगमा चारकोठे भवन निर्माण पनि सम्पन्न भएको छ । कक्षा ८ सम्म पढाइ हुने यस विद्यालयमा २७० बालबालिका अध्ययनरत छन् । सो अवसरमा विद्यालयलाई जग्गा दान गर्ने दातालगायत सहयोगीलाई सम्मान गरिएको थियो । विभिन्न विधामा उत्कृष्ट भएका विद्यार्थीलाई पुरस्कार प्रदान गरिएको थियो । विद्यालयले ५४ औँ वार्षिकोत्सव समेत मनाइएको छ । कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शुद्धबहादुर चेपाङको अध्यक्षतामा सम्पन्न भएको थियो ।  

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर