
काठमाडौँ, माघ १२ गते । नेपाल–चीन मैत्रीपूर्ण फुटबल खेलको तेस्रो संस्करण आगामी माघ १८ गते दशरथ रंगशालामा आयोजना हुने भएको छ। खेल नेपाल फुटबल संघ (एन्फा), युनान विश्वविद्यालय तथा सम्बन्धित निकायहरूको सहकार्यमा आयोजना हुन लागेको हो।

खेलसम्बन्धी जानकारी दिन आयोजित प्रेस मिटमा नेपालस्थित चिनियाँ दूतावासका चार्ज द’एफेयर (कन्सुलर) चउ फानले नेपाल–चीन मैत्रीपूर्ण फुटबल खेल दुवै देशका जनताबीच मित्रता, खेलकुद र सांस्कृतिक आदान–प्रदान विस्तार गर्ने महत्वपूर्ण माध्यम बनेको बताए। उनले यस वर्षको खेल विशेष रूपमा महिला फुटबलमा केन्द्रित गरिएको उल्लेख गर्दै चीनको युनान प्रान्तको युवा महिला फुटबल टोली र नेपालको राष्ट्रिय यू–२० महिला फुटबल टोलीबीच प्रतिस्पर्धा हुने जानकारी दिए। यसले नेपाली महिला फुटबल टोलीलाई अन्तर्राष्ट्रिय अनुभव प्रदान गर्नुका साथै महिला फुटबलको विकासमा सहयोग पुग्ने उनको भनाइ थियो। साथै, दर्शकका लागि केही टिकट निःशुल्क वितरण गरिने र खेलस्थलमै लक्की ड्र आयोजना गरिने जानकारी पनि उनले दिए। लक्की ड्रको विजेताले काठमाडौं–युनान आवतजावतको हवाई टिकट प्राप्त गर्ने छ। प्रेस मिटमा चिनियाँ नयाँ वर्षको अवसरमा नेपालमा विभिन्न सांस्कृतिक कार्यक्रम, चिनियाँ लालटिन महोत्सव तथा उच्चस्तरीय कला प्रस्तुतिहरू आयोजना गरिने जानकारी पनि दिइयो। कन्सुलर चउ फानले खेलकुद र संस्कृतिमार्फत नेपाल–चीन सम्बन्ध अझ सुदृढ हुँदै जाने विश्वास व्यक्त गरे।
खेलको प्रत्यक्ष प्रसारण साउथ एसिया नेटवर्क टेलिभिजनको वेबसाइटमार्फत हुने छ।






