
काठमाडौँ, कात्तिक १० गते । कात्तिक ७ गते कैलालीको जानकी गाउँपालिका–५, गुजरुवामा रहेको रानीजमरा सिँचाइ आयोजनाको नहरमा नुहाउन गएका तीन बालिकाको डुबेर मृत्यु भएपछि सिङ्गो गाउँ शोकमा डुबेको छ । टीकापुरकी १० वर्षीय निशा बजगाईं, उनकी ८ वर्षीय बहिनी मानुषी र उनीहरूसँगै गएकी जानकी गाउँपालिका–५ की १२ वर्षीय डम्बरा उपाध्यायको डुबेर अकालमा ज्यान गयो ।
गर्मी छल्न र रमाइलो गर्न नदी, नहर वा खाल्डोमा पसेका बालबालिका घर फर्केर नआएका यस्ता घटना कैलालीमा धेरै छन् । यी घटनाले अभिभावक, समाज र सरोकारवाला सबैलाई गम्भीर बनाएको धनगढी–३ की टीका थापाको भनाइ छ ।
विगत तीन महिनाको अवधिमा मात्रै कैलालीमा डुबेर कम्तीमा १० बालबालिका तथा किशोरकिशोरीले ज्यान गुमाइसकेका छन् । यी घटना कुनै एक ठाउँमा मात्र सीमित छैन । जिल्लाका विभिन्न भागमा यस्ता दुर्घटना भएका छन् ।
गत भदौमा गोदावरी नगरपालिकाको खुटिया नदीमा नुहाउन गएका धनगढीका १७ वर्षीय जुम्ल्याहा दाजुभाइ जेव र जाबेज भण्डारी तथा उनीहरूका साथी १७ वर्षीय सक्षम जोशी र १५ वर्षीय प्रतीक चौधरीको डुबेर मृत्यु भयो ।
साउनमा पनि लम्कीचुहा नगरपालिकाको रोरा खोलामा नुहाउन गएका ९ वर्षीय बालक रोशन बोहोराको ज्यान गयो । सोही महिना लम्कीचुहामै रानीजमरा सिँचाइ आयोजनाको नहरमा नुहाउन गएका २२ वर्षीय प्रेम रसाइलीको मृत्यु भयो । सोही महिना गौरीगंगा नगरपालिकाको लिक्मा नदीमा नुहाउँदा २५ वर्षीय उमेश धामी र २० वर्षीय प्रकाश धामी (सहोदर दाजुभाइ) ले ज्यान गुमाए ।
असारको महिना घोडाघोडी नगरपालिकाको डोडा नदीमा साथीसँग नुहाउन गएका १७ वर्षीय सुन्दरप्रसाद भट्टको पनि डुबेर मृत्यु भयो ।
सुदूरपश्चिमका ९ मध्ये तराईका जिल्ला कैलाली र कञ्चनपुरमा हरेक वर्ष दोहोरिने दुःखद् घटनाको यो एक उदाहरण हो । उसो त पहाडी जिल्लाका नदी, खोला, नहर, तलाउ, खाल्डोमा बालबालिका, किशोरकिशोरी र युवा सुरक्षित छैनन् । तराईका जिल्लामा अझ बढी जोखिम छ । त्यसमा पनि कैलालीमा यस्ता घटना बढी हुने गरेको छ ।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका डीएसपी निशान्त श्रीवास्तवका अनुसार प्रदेशमा २४ दिनको अवधिमा ७ जना बालबालिकाले खोला, नहरमा नुहाउने क्रममा डुबेर ज्यान गुमाए । उनका अनुसार वर्षायाम र त्यसपछिको समयमा नदीमा पानीको बहाव बढी हुने तथा नहरहरूमा पनि पानी भरिने हुँदा डुब्ने घटना बढ्ने गरेको छ ।
उनले अभिभावकको निगरानीको कमीलाई यस्तो दुर्घटनाको प्रमुख कारण मानेका छन् । नहर र नदीको सतह हेर्दा सामान्य लागे पनि भित्र कति गहिरो छ भन्ने अनुमान गर्न नसक्दा धेरै जना डुब्ने गरेका जानकारहरू बताउँछन् ।
बालबालिका कहाँ जाँदैछन्, के गर्दैछन् भन्नेबारे अभिभावकले पर्याप्त निगरानी नगर्दा उनीहरू जोखिमपूर्ण ठाउँमा पुग्ने गरेको डीएसपी श्रीवास्तवको भनाइ छ ।
उनका अनुसार अधिकांश नदी, नहर र खतरनाक खाल्डाहरूको छेउछाउमा खतराको संकेत गर्ने वा नुहाउन मनाही गरिएका सूचनापाटी राखिएका छैनन् । नदी र नहर किनारमा बार लगाउने वा अन्य सुरक्षा उपाय नअपनाइनुले पनि दुर्घटनालाई बढावा दिएको छ । धेरैजसो बालबालिकालाई पौडी खेल्ने सिप नहुँदा पानीमा डुब्न थालेपछि आफूलाई बचाउन सक्दैनन् ।
खेल्ने, रमाउने कलिलो उमेरमै बालबालिकाको ज्यान जाँदा परिवारमा पर्ने चोट असह्य हुन्छ । यस्ता घटनालाई नियति मानेर बस्नुको सट्टा समयमै सावधानी अपनाउन सके धेरैको ज्यान बचाउन सकिने जानकारहरू बताउँछन् ।
यसका लागि परिवार, समाज र स्थानीय सरकार सबैले मिलेर काम गर्न आवश्यक रहेको पञ्चोदय माध्यमिक विद्यालयकी शिक्षकी रञ्जना जोशीले बताइन् । उनका अनुसार आफ्ना बालबालिकालाई एक्लै नदी, नहर, तलाउ वा पोखरीतर्फ जान दिनु हुँदैन । उनीहरूको साथीसंगत र गतिविधिबारे सधैँ चनाखो रहनुपर्छ ।
स्थानीय सरकारले आफ्नो क्षेत्रभित्रका जोखिमपूर्ण जलस्रोत क्षेत्र (नदी, नहर, खाल्डा) पहिचान गरी त्यहाँ चेतावनीमूलक सूचना बोर्ड राख्ने र सम्भव भएसम्म बार लगाउने व्यवस्था गर्नुपर्ने जोशीको भनाइ छ ।
जानकारहरूका अनुसार विद्यालय र समुदायस्तरमा बालबालिका तथा किशोरकिशोरीका लागि पौडी खेल्ने सिप र पानीमा अपनाउनुपर्ने सुरक्षाबारे तालिम सञ्चालन गर्न सकिन्छ । हरेक वडा वा स्थानीयस्तरमा आपतकालीन अवस्थामा तत्काल उद्धार गर्न सक्ने ‘रेस्क्यु टिम’ तयार गर्नुपर्छ । यसले दुर्घटना भइहालेमा मानवीय क्षति कम गर्न मद्दत गर्छ ।
वर्षा याममा वा नदीमा बाढी आएका बेला पानीको बहाव तीव्र हुने हुँदा नदी किनारमा जानुहुँदैन भन्ने सन्देश घर–घरमा पुर्याउनु जरुरी रहेको जोशीले बताइन् ।





