
काठमाडौँ — पाकिस्तानको कराँचीस्थित एक व्यापारिक मलमा आगलागी हुँदा २१ जनाको मृत्यु भएको छ। शनिबार रातिदेखि सुरु भएको आगलागीमा परी दर्जनौँ व्यक्ति अझै बेपत्ता छन्। मृत्यु हुनेमा अग्नि नियन्त्रकहरू समेत रहेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्।
कराँचीस्थित ‘गुल प्लाजा’ मा लागेको आगो निभाउन अग्नि नियन्त्रकहरूलाई २४ घण्टाभन्दा बढी समय लागेको थियो। करिब ८ हजार वर्गमिटर क्षेत्रफलमा फैलिएको उक्त भवनमा १ हजार २०० भन्दा बढी पसलहरू रहेको बीबीसीले उल्लेख गरेको छ।
भवनको ठूलो हिस्सा भत्किएका कारण भग्नावशेष र भेन्टिलेसनको अभावले उद्धार कार्यमा बाधा पुगेको अधिकारीहरूले बताएका छन्। स्थानीय आपत्कालीन सेवाका अनुसार उद्धार टोली घटनास्थल पुग्दा भवनको अधिकांश भाग आगोको चपेटामा परिसकेको थियो।
आफ्ना आफन्त बेपत्ता भएको भन्दै हालसम्म ६० परिवारले निवेदन दर्ता गराएका छन्। हराइरहेकाहरूको विवरण संकलनका लागि स्थानीय प्रशासनले सहायता कक्ष स्थापना गरेको छ। प्रहरीका अनुसार मोबाइल लोकेसनका आधारमा कम्तीमा २६ जना व्यक्ति आगलागीका बेला भवनभित्रै रहेको पुष्टि भएको छ।
कसरी फैलियो आगो?
‘रेस्क्यु ११२२’ का प्रवक्ता हसन खानका अनुसार भवनभित्र रहेका प्लास्टिक, कपडा र अत्तर (पर्फ्युम) जस्ता प्रज्वलनशील पदार्थका कारण आगो तीव्र गतिमा फैलिएको हो। आइतबार साँझसम्म पनि भवनका केही हिस्साबाट धुवाँ निस्किरहेको र संरचना थप भत्किन सक्ने जोखिम रहेको बताइएको छ।
भग्नावशेष पन्छाउन क्रेनको प्रयोग गरिए पनि अत्यधिक ताप र धुवाँका कारण खोजतलास कार्य प्रभावित भएको छ। स्थानीय व्यवसायी जैनले आगलागी हुँदा भवनभित्र सयौँ मानिस रहेको र आफ्ना धेरै साथीहरू अझै सम्पर्कविहीन रहेको बताएका छन्।
राष्ट्रपति आसिफ अली जरदारीले घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै सिन्ध प्रान्त सरकारलाई व्यावसायिक र आवासीय भवनहरूको सुरक्षा मापदण्डबारे विस्तृत समीक्षा गर्न निर्देशन दिएका छन्। सिन्ध सरकारले मृतकका परिवारलाई १० लाख पाकिस्तानी रुपैयाँ (करिब ४ लाख ८० हजार नेपाली रुपैयाँ) क्षतिपूर्ति दिने घोषणा गरेको छ।





