
बबई (बर्दिया), माघ ९ गते । बर्दिया जिल्लामा ३६ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा पु¥याउने उद्देश्यले ३७ वर्षअघि सुरु भएको बबई सिँचाइ आयोजनाको काम ७६ प्रतिशत सम्पन्न भएको छ । आर्थिक वर्ष २०४५/४६ देखि सुरु भएको काम आव २०८२/८३ सम्म पनि सकिएको छैन । तोकिएको समयमा काम सम्पन्न नहुँदा राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको आयोजनाको लागतसमेत बढ्दै गएको छ । कृषकको सिँचाइ गर्ने आशासमेत लम्बिँदै गएको छ ।
नेपाल सरकारले अन्तर्राष्ट्रिय विकास संस्था आइडिएको संलग्नतामा २०२४ सालदेखि अध्ययन थालनी गरी संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रमको आर्थिक सहयोगमा सुरु भएको आयोजनाले मूल नहरदेखि पूर्वमा करिब १० हजार हेक्टर र पश्चिममा २१ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा पुर्याउने लक्ष्य लिएको छ ।
आयोजना सम्पन्न हुने मितिभन्दा पाँच वर्ष पर धकेलिएको छ । आयोजना आव २०८५/८६ मा सम्पन्न हुने लक्ष्य राखेर अहिले धमाधम निर्माणको प्रक्रियामा रहेको छ । आयोजना सम्पन्न हुँदा २६ अर्ब ६९ करोड रुपियाँ लागत लाग्ने अनुमान गरिएको छ ।
बबई सिँचाइ आयोजना बर्दियाका आयोजना प्रमुख गोपाल शर्माले आयोजना निर्माणको समय बढ्दा लागत बढेको बताउँदै करिब २७ करोडको लागतमा आव २०८५/८६ सम्म सम्पन्न गर्ने गरी आयोजनाले काम गरिरहेको बताउनुभयो ।
आयोजनाले बबई नदीदेखि पूर्वतर्फ १९ हजार हेक्टर जमिनमा नहर निर्माण सम्पन्न गरिसकेको छ भने पश्चिमतर्फ गुलरिया नगरपालिकामा नहर निर्माण तीव्र गतिमा भइरहेको छ । आयोजना बर्दियाले अबको एक वर्षभित्र बर्दिया जिल्लाको ३६ हजार हेक्टर जमिनमा पानी पुर्याउने गरी काम गरिरहेको छ ।
आयोजना निर्माण सम्पन्न भए बर्दियाका छ वटा स्थानीय तह बारबर्दिया नगरपालिका, बाँसगढी नगरपालिका, ठाकुरबाबा नगरपालिका, मधुवन नगरपालिका, बढैयाताल गाउँपालिका र गुलरिया नगरपालिकाका कृषकलाई राहत मिल्ने छ ।
आकासे पानीको भर पर्ने गरेका गुलरिया नगरपालिकाका कृषकलाई सिँचाइको पानी उपलब्ध भएमा राहत मिल्ने छ । गुलरिया नगरपालिकाका प्रमुख मुक्तिनाथ यादवले आयोजनाको काम तीव्र गतिमा भइरहेकाले समयमा सम्पन्न भए कृषकलाई राहत मिल्ने बताउनुभयो ।
बबई सिँचाइ आयोजनाका लागि अन्तिम स्थानीय तहका रूपमा गुलरियामा काम भइरहेको छ । गुलरिया नगरपालिका–४ का कृषक कुलप्रसाद घिमिरेले सिँचाइको पानी खेतमा पुगे उत्पादन बढ्ने बताउनुभयो । आयोजनाले अहिले मूल नहर र शाखा नहर विस्तारको काम गरिरहेको छ ।
गुलरिया नगरपालिकाभित्र चार किलोमिटर मूल नहर र ११ किलोमिटर शाखा नहरको जिम्मेवारी लिएका निर्माण व्यवसायी विमल केसीले आयोजनाले दिएको समय सीमाभित्र सक्ने गरी नहर निर्माण भइरहेको बताउनुभयो ।





