
काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले पदबाट राजीनामा दिएका छन्। शाहले उपप्रमुखलाई राजीनामा बुझाएका हुन्।
२१ फागुनमा हुने प्रतिनिधिसभा सदस्यकाे निर्वाचनमा उम्मेदवारी दिनका लागि शाहले मेयर पदबाट राजीनामा दिएका हुन्। उनले झापा क्षेत्र नम्बर ५ मा पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओलीसँग प्रतिस्पर्धा गर्ने तयारी गरेका छन्।
राजीनामा दिने निर्धारित तालिका रहे पनि यसअघि केहीबेर अलमल भएको थियो। तर, बाँकी चुनावी तयारीमा आफूलाई केन्द्रित गराउन उनले आजै राजीनामा दिएका बताइएकाे छ।
‘उहाँले राजीनामा दिइसक्नुभएको छ, बिहानसम्म त आज नदिने कि भन्ने थियो, तर चुनावमा केन्द्रित हुनका लागि आजै दिँदा सजिलो हुने भएकोले आज नै राजीनामा दिनुभयो,’ मेयर शाहका सचिवालयका एक सदस्यले भने, ‘रास्वपाको बैठकमा जानुअघि उहाँले राजीनामा दिनुभएको हो ।’
काठमाडौं महानगरका सहप्रवक्ता ध्रुव काफ्लेले केही समयअघि मेयरको सचिवालयले उपप्रमुखको कार्यकक्षमा ल्याएर राजीनामापत्र बुझाएको पुष्टि गरे। ‘संविधानको धारा २१६ को उपधारा ८ बमोजिम उपप्रमुखलाई राजीनामा बुझाउनुभएको हो,’ काफ्लेले भने, ‘राजीनामा उपप्रमुखज्यूकोमा दर्ता भएको छ।’
राजीनामा बुझाउन मेयर शाह आफैँ भने उपस्थित थिएनन्।

614910102_1371899460918214_4460286123315042488_n2026-01-18-03-30-25





