
काठमाडौँ, कात्तिक १५ गते। हेलोविनको रहस्यमय र रमाइलो रातमा पहिलो पटक आयोजना गरिएको काठमान्डु हरर फिल्म फेस्ट २०२५ शुक्रबार साँझ रसियन हाउस, कमलपोखरीमा सुरु भयो ।
नेपाल फिल्म एण्ड कल्चर एकेडेमी (NFCA) को आयोजनामा र रसियन हाउस तथा रुसको राजदूतावासको सहकार्यमा सुरु भएको तीनदिने महोत्सवले नेपाली चलचित्र क्षेत्रमा नयाँ विधा डर, रहस्य र कल्पनाको कलालाई अघि बढाउने उद्देश्य राखेको छ, उपाध्यक्ष शिव पुरीले भने ।
उद्घाटन समारोहमा महोत्सव निर्देशक रसिक पाठकले हरर सिनेमाको भावनात्मक र कलात्मक गहिराइबारे मन्तव्य व्यक्त गर्दै भने,
“दशकौँदेखि नेपाली चलचित्रले प्रेम, समाज र अध्यात्मलाई अन्वेषण गर्दै आएको छ तर आज हामी नयाँ क्षेत्रमा प्रवेश गरेका छौँ: डर, रहस्य र कल्पना। हरर केवल भूत र छायाको कुरा होइन, यो आफैंभित्र र वरिपरि रहेका अज्ञातसँगको सामना हो,” उनले भने ।
पाठकका अनुसार, हेलोविनको दिनमा सुरु भएको यो महोत्सवले नेपाली कथाकार र अन्तर्राष्ट्रिय हररप्रेमीहरूबीच सांस्कृतिक सेतु निर्माण गर्ने लक्ष्य राखेको छ।

मुख्य अतिथि तथा फिल्म विकास बोर्डका अध्यक्ष दिनेश डीसीले हेलोविन र नेपालका गठेँमंगल र गाईजात्राजस्ता परम्परागत चाडबीच समानता उल्लेख गर्दै “संसार एउटै हो, डर र साहसजस्ता भावनाहरू सार्वभौमिक हुन्,” उनले भने । “भौतिकताले भरिएको यो युगमा पनि यस्ता उत्सवहरूले मानवीय सम्बन्धलाई जोगाइराख्छन् र सृजनात्मक सम्बन्ध बलियो बनाउँछन् ।”
डीसीले स्वतन्त्र फिल्म फेस्टिभलहरूको सञ्जाल विस्तार गर्न बोर्डले छिट्टै नेपालभरका महोत्सव आयोजकहरूबीच सहकार्य बढाउने पहल गर्दै गरेको जानकारी दिए ।
प्रख्यात चलचित्रकर्मी तथा नेपाल फिल्म एण्ड कल्चर एकेडेमी (NFCA) का सल्लाहकार तुलसी घिमिरेले महोत्सवलाई “उत्कृष्ट पहल र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सांस्कृतिक आदानप्रदानको उत्कृष्ट प्लेटफर्म” भएको बताउँदै प्रशंसा गरे । उनले भने, “रसियन हाउस र एनएफसीएका बीचको यस्ता सहकार्यहरूले सिर्जनात्मक विकास र सांस्कृतिक समझदारीमा अर्थपूर्ण योगदान पुर्याउँछन् ।”

रसियन हाउसकी निर्देशक तथा रुसको राजदूतावासकी काउन्सिलर आनास्तासिया खोखलोभाले पनि त्यही भावना दोहोर्याउँदै भनिन्, “हामी एनएफसीएसँग सहकार्य गर्न पाउँदा खुसी छौँ । चलचित्रले संस्कृतिहरू जोड्छ, र हामी फिल्म अध्ययन गर्न इच्छुक नेपाली विद्यार्थीहरूका लागि रुसमा छात्रवृत्ति अवसर पनि प्रदान गर्न पाउँदा सन्तुष्ट छौँ ।”

जुरी सदस्य राजभाई सुवालले सहभागीहरूलाई सबै चलचित्र हेर्न र सिकाइको अवसर नछुटाउन आग्रह गरे । “यस्ता महोत्सवहरू चलचित्रप्रेमीका लागि अमूल्य हुन्छन । प्रत्येक कथाबाट केही न केही सिक्न सकिन्छ,” उनले भने । अन्य जुरि सदस्यहरूमा अलेक्जान्द्रा एनबर्ग (स्विडेन), यास्मिन बुचफार (मोरोक्को) र होसम फहमी (जर्मनी) रहेका छन्, जसले अनलाइनमार्फत निर्णय पठाउँदै सहभागी भएका छन् ।
एनएफसीएका उपाध्यक्ष तथा चलचित्रकर्मी एवं सम्पादक शिव पुरीले महोत्सवलाई नयाँ सुरुवातको रूपमा व्याख्या गरे । “यो केवल हरर फिल्म प्रदर्शनको प्लेटफर्म मात्र होइन, नेपाली चलचित्र उद्योगका लागि नयाँ अवधारणा र नयाँ दिशाको सुरुवात हो,” उनले भने । “हाम्रो लक्ष्य नेपाली कथालाई अन्तर्राष्ट्रिय मञ्चमा पुर्याउने र नयाँ पुस्ताका सिर्जनाकर्मीलाई प्रेरित गर्ने हो ।”

महोत्सवको उद्घाटन रुसको चलचित्र Shaman (मिखाइल मर्जलिकिन निर्देशित) बाट गरिएको हो । महोत्सवमा १५ देशका २५ चलचित्र प्रदर्शन हुँदैछन्, जुन ८० भन्दा बढी प्राप्त आवेदनबाट छनोट गरिएका हुन् । यी चलचित्रहरूमा मनोवैज्ञानिक, अलौकिक र सांस्कृतिक आयामका horror कथाहरू समेटिएका छन् ।

महोत्सवले नोभेम्बर २ सम्म प्रदर्शनहरू जारी राख्नेछ । समापन समारोहमा तीन मुख्य पुरस्कार सर्वोत्कृष्ट फिचर फिल्म, सर्वोत्कृष्ट लघु चलचित्र र सर्वोत्कृष्ट यूथ फिल्म (३० वर्ष मुनिका निर्देशकका लागि) प्रदान गरिनेछ ।
फिल्मप्रेमीहरूले खल्ती एपमार्फत टिकट खरिद गरी रुसियन हाउस, कमलपोखरीमा प्रदर्शन हेर्न सक्नेछन् ।
जुनबेला पहिलो चलचित्र सुरु भयो, हलको अन्धकारसँगै नेपाली सिनेमाको नयाँ अध्याय पनि सुरु भएको महसुस भयो डरको मात्र होइन, साहस र सृजनात्मकताको उत्सव ।
“काठमान्डु हरर फिल्म फेस्टमा हामी डर होइन, साहसलाई मनाउँछौं सीमाना पार गर्ने सिर्जनाकर्मीको साहस र अज्ञातलाई अँगाल्ने दर्शकको साहस,” महोत्सव निर्देशक रसिक पाठकले भने ।





