
वाशुलिङ-बैतडी, माघ ८ गते । बैतडीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । धनगढीबाट दार्चुलातर्फ जाँदै गरेको म. १ त. १०१३ नम्बरको ट्याक्टर आज बिहान पाटन नगरपालिका–८, अनारखोलीमा दुर्घटनामा परेको हो ।
दुर्घटनामा परी दार्चुला जिल्लाका अन्दाजी २०–२१ वर्षीया करन बुढा मगरको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । दुर्घटनामा घाइते भएका तीन जनाको उद्धार गरी उपचारका लागि डडेल्धुरा अस्पताल पठाइएको छ ।
जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक सुरज सिंहका अनुसार ट्याक्टर अनियन्त्रित भई सडकबाट करिब ५० मिटर तल खसेको थियो । ट्याक्टरमा चालकसहित चार जना सवार थिए।
दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।





