मञ्चमा आसिन दोस्रो सत्रका विज्ञहरु। तस्बिर - रिया श्रेष्ठ / एस् ए टि भी
एस ए टि भी, माघ २७ गते। फ्रेन्ड्स अफ सिल्क रोड क्लब - नेपालले आइतबार काठमाण्डौंस्थित होटल मल्लमा "दक्षिण एसियाको भूराजनीति परिवर्तनमा नेपालको राष्ट्रिय हितको रक्षा" शिर्षकिय कार्यक्रमको आयोजना गरेको छ। भूराजनीतिको विकासमा नेपालको स्थिति र भूमिकाको मूल्याङ्कन गर्ने र पछिल्लो समय छिमेकी र अन्य देशहरूसँगको संलग्नताको मूल्याङ्कन गर्ने उद्देश्य सहित यस कार्यक्रमको आयोजना गरिएको थियो।
कार्यक्रममा कुशाग्र कुटनीतिज्ञ, राजनीतिक विश्लेषक, विज्ञ, बुद्धिजीवी, विद्यार्थी लगायत मिडियाको बाक्लो उपस्थिति रहेको थियो। यस समारोहले समसामयिक विश्वव्यापी शक्ति संरचनामा भएका परिवर्तनहरूलाई सन्तुलनमा राख्ने प्रयासहरूको विश्लेषण गर्दै राष्ट्रियताको रक्षा गर्न र नेपालको परराष्ट्र नीतिमा व्यावहारिक सफलता सुनिश्चित गर्न सम्भावित रणनीतिक दृष्टिकोणको अन्वेषण गरेको छ।
सेमिनारले क्षेत्रीय सहयोग, कनेक्टिभिटीमा सम्भावना, पानी, ऊर्जा र खाद्य जस्ता विषयलाई सम्बोधन गरेको थियो र नेपालले विदेशी हितलाई कसरी सदुपयोग गर्न सक्छ भन्नेमा सहमति निर्माण गर्ने प्रयास गरेको छ। कार्यक्रमले विदेशी मामिलाका विज्ञ, अनुसन्धानकर्ता, प्राज्ञ, निजी क्षेत्र र अन्य सम्बन्धित सरोकारवाला, विद्यार्थी र सञ्चारमाध्यमलाई एकै मंचमा भेला गराई छलफल गर्ने मौका समेत प्रधान गरेको थियो।
समारोहलाई ३ वटा मुद्धामा विभाजन गरिएको थियो। पहिलो सत्रमा, "शक्तिको उदयः नेपाललाई केन्द्रमा राखेर भूराजनीतिलाई सन्तुलनमा कसरि राख्ने" भन्ने विषयमा छलफल भएको थियो। पहिलो सत्रमा डा. चन्द्र देभ भट्ट, गोपाल खनाल, अखिलेश उपाध्यायले माथि उल्लेखित मुद्धामा आफ्नो विज्ञता र ज्ञान साझा गर्नु भएको थियो।
त्यसै गरी दोस्रो सत्रमा, "कनेक्टिभिटी मुख्य छ: क्षेत्रीयमा नेपालको सहयोगी भूमिका" विषयमा छलफल गरिएको थियो। दोस्रो सत्रमा डा. दिनेश भट्टराई, डा. निरञ्जन मान सिंह बस्नेत, मातृका पौडेलले आफ्नो अनुभव र विज्ञता प्रस्तुत गर्नु भएको थियो।
अन्त्यमा, "अवसरहरू अन्वेषण गर्दै: पानी-ऊर्जा-खाना नेक्सस" मा छलफल गरिएको थियो। तेस्रो सत्रमा गणेश शाह, प्रबल अधिकारी, विश्व पराजुली, आशिष गार्गले छलफलमा उठेका विषयहरूमा आफ्नो विज्ञता प्रस्तुत गर्नुभएको थियो।
पहिलो छलफलमा नेपालको सीमावर्ती बस्ती बिस्तारै लोप हुँदै गएको छ भने अन्य देशहरूले बोर्डर गाउँहरू स्थापना गरिरहेका छन्। समस्त नेपाली चेतनालाई जगाउन र जोड्न आत्मनिर्भरताका लागि नेपालमा पनि आन्तरिक कथा निर्माण हुनुपर्ने प्यानेलिस्टको निष्कर्ष थियो । दोस्रो सत्रमा सार्क र बिमस्टेक जस्ता दक्षिण एसियाली राष्ट्रहरूको विकासका लागि निर्माण गरिएका विभिन्न दक्षिण एसियाली संस्थाहरूमा केन्द्रित थियो। तर भारत र पाकिस्तानजस्ता राष्ट्रहरूबीचको आन्तरिक द्वन्द्वका कारण १० वर्षदेखि नेपालमा मुख्यालय स्थापना गरिसकेको सार्क अहिले गतिशीलताको अभावमा पीडित राष्ट्रजस्तै छ ।
सार्क द्विपक्षीय टसलले सिङ्गो क्षेत्रलाई पीडित बनायो। पाकिस्तान सहित सार्कका तीन देश बिमस्टेकको सदस्य नभएको र सार्कलाई लगभग मृत अवस्थामा पुर्याउने पाकिस्तानलाई भारतले एक्लो पार्न चाहेको विज्ञहरुको भनाइ थियो । तेस्रो सत्रमा राष्ट्रको खानेपानी र ऊर्जाका विषयमा छलफल हुँदा चीनले ब्रम्हपुत्र नदीमा ६० हजार मेगावाटको जलविद्युत स्थापना गर्न लागेको विज्ञहरुले खुलासा गरेका छन् । भारतले आफ्नो सुरक्षाप्रति सचेत भएर नदीमा १० हजार मेगावाट विद्युत स्थापना गर्ने योजना बनाएको छ । नेपाल पनि आफ्नो उर्जा उत्पादनमा सचेत हुन जरुरी रहेको विज्ञहरुले जनाएका छन्।
राष्ट्रिय स्वार्थले विदेश नीतिलाई निर्देश गर्न आवश्यक रहेको भूराजनीतिक मामिलाका जानकारहरुले बताएका छन् । भूराजीतिक जानकारहरुले नेपालले मुलुकको अर्थतन्त्रलाई बलियो बनाएपछि मात्र भूराजनीतिक रुपमा बलियो हुने पनि प्रस्ट पारेका छन् ।
‘राइज अफ पावर्स : ब्यालेन्सिङ जियोपोलिटिक्स बाई किपिङ नेपाल एट सेन्टर’ शीर्षकमाथि बोल्ने क्रममा भूराजनीतिक जानकार चन्द्रदेव भट्टले भने, ‘हाम्रो पहिलो काम मुलुकको अर्थतन्त्र निर्माण गर्ने हो । त्यसपछि राष्ट्रिय स्वार्थअनुसार विदेश नीतिलाई निर्देश गर्नु पर्छ । जबसम्म हाम्रो अर्थतन्त्र बलियो हुँदैन, तबसम्म राष्ट्रिय स्वाधिनताको कुरा गर्न गाह्रो हुन्छ ।’
भूराजनीतिक विषयका अनुसन्धानकर्ता तथा पत्रकार अखिलेश उपाध्यायले ऐतिहासिकरुपमा हेर्दा यो क्षेत्रमा भूराजनीतिक चुनौती रहँदै आएको उल्लेख गरे । उनले पृथ्वीनारायण शाहले ‘दुई ढुंगा बीचको तरुल’ भनेको उल्लेख गर्दै नेपाललाई भूराजनीतिक चुनौती नयाँ नभएको प्रस्ट पारे । उनले भने, ‘अब मल्टि एलाइन्मेटको कुरा हुन्छ । कुनै भारत, कुनै चीन र कुनै अमेरिकासँग नेपालले गरेका निर्णय मिल्न सक्छ । हामीले आफ्नो अटोनोमी आफै निर्णय गर्ने हो ।’
अर्का भूराजनीतिक जानकार गोपाल खनालले भूराजनीतिमा सन्तुलित सिद्धान्तभन्दा पनि त्यसको कार्यान्वयन पक्ष महत्वपूर्ण भएको बताए । उनले भने, ‘सन्तुलित भन्ने शब्दसांपेक्ष रुपमा हुन्छ । नेपालको तीनतिर भारत छ भने एकतिर चीन छ । सांपेक्षरुपमा सन्तुलन हुन्छ तर ठ्याक्कै सन्तुलन भन्ने हुन्न ।’
कार्यक्रममा थप दुई सत्रहरुमा क्षेत्रीय सहकार्य तथा पानी, उर्जा र खाद्य सुरक्षाबारेमा चर्चा भएको थियो । फेन्ड्स अफ सिल्करोड क्लब–नेपालका महासचिव कल्याणराज शर्माले नेपालको भूराजनीति विभिन्न चरणमा जटिल मोडहरुबाट आइरहेको उल्लेख गर्दै २०४६ सालको परिवर्तनपछि सबल र स्थिर हुनुको साटो अस्थिर र कमजोर भएको उल्लेख गरे ।