काठमाडौँ — कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहालबीच सत्ता दाउपेचको राजनीतिमा धेरै हदमा समानता छ । सत्ताका लागि जस्तोसुकै जोखिम लिन सक्ने चरित्र यी दुवै नेतामा नहुँदो हो त पुस १० मा एउटा गठबन्धनबाट सरकार गठन हुने र फागुन १२ मै अर्को गठबन्धन बन्ने राजनीतिक परिस्थिति निर्माण हुने थिएन ।
देउवाले प्रधानमन्त्रीमा दाबी नछाडेपछि पुस १० मा दाहाल एमालेसहित सात दलको समर्थनमा प्रधानमन्त्री भएका थिए । दुई महिनामै गठबन्धन छाडेर उनले फेरि कांग्रेससँग सहकार्य थालेका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैली असहज मानिरहेका दाहाललाई आफ्नो कित्तामा ल्याइछाड्ने देउवाको रणनीतिकै कारण आठ राजनीतिक दलको नयाँ गठबन्धन बनेको हो । यस गठबन्धनको लक्ष्य तत्काललाई राष्ट्रपति निर्वाचन भए पनि पाँचवर्षे सत्तायात्रासमेत छ ।
अरू घटनाक्रम र परिस्थिति जे भए पनि देउवा र दाहाललाई एकै ठाउँ ल्याउने प्रमुख रसायन संक्रमणकालीन न्यायसँग जोडिएको शान्ति प्रक्रियाका बाँकी काम नै रहेको नेताहरू बताउँछन् । दाहालको नेतृत्वमा माओवादीले २०५२ सालमा सशस्त्र संघर्ष गर्दा देउवा प्रधानमन्त्री थिए । देउवा नै प्रधानमन्त्री भएका बेला २०५८ सालमा माओवादी विद्रोह नियन्त्रणका लागि पहिलो पटक संकटकाल लगाइएको थियो । माओवादीवरुद्ध पहिलो पटक सेना परिचालन पनि त्यही बेला भएको हो । माओवादीलाई ‘आतंककारी’ घोषणा गरिएको पनि त्यतिबेलै हो ।
२०६२/६३ को जनआन्दोलनपछि माओवादी शान्ति प्रक्रियामा आए पनि तत्कालीन राज्य र विद्रोही पक्षबाट पीडित र तिनका परिवारलाई न्याय दिने सवाल अझै टुंगिसकेको छैन । तत्कालीन सरकारको नेतृत्वमा रहेका देउवा र विद्रोह पक्षको नेतृत्व गरेका दाहालले संक्रमणकालीन न्यायलाई टुंगोमा पुर्याउनकै लागि सहकार्यलाई प्राथमिकता दिँदै आएका छन् ।
विश्लेषक गेजा शर्मा वाग्ले दुवै नेतामा सत्ताका लागि जोखिम उठाउने सक्ने र आफ्नो स्वार्थका लागि लचिलो पनि हुन सक्ने समान प्रवृत्ति रहेको बताउँछन् । ‘त्यसको स्रोत पार्टीको शक्ति हो, जहाँ उनीहरूको पकड रहेको छ । आफ्नो स्वार्थअनुसार निर्णय गर्दा पार्टीमा व्यवस्थापन गर्न सक्ने शक्ति छ । त्यसैले देउवा र दाहाल उभिएको ठाउँमा पार्टी पनि सँगै उभिएको हुन्छ,’ उनले भने । उनको बुझाइमा कांग्रेसमा देउवाको ठाउँमा अर्को सभापति हुन्थ्यो भने पुस २६ मा प्रधानमन्त्री दाहाललाई विश्वासको मत नदिएर प्रमुख प्रतिपक्षमा बस्ने निर्णय लिन्थ्यो ।
एमाले अध्यक्ष ओलीले भनेजस्तै सत्ताका लागि ‘ढोक्सा’ थाप्ने काम देउवा भएर मात्रै सम्भव भएको वाग्लेले बताए । ‘दुवैलाई सत्ता सम्झौता पालना हुनेमा अरू नेताको तुलनामा बढी विश्वास छ । सत्ता सम्झौतामा लागि लचिलो हुन्छन् । काम गर्न एकअर्काबीच सहज ठान्छन् । सम्झौतामा उदार छन् । सत्ताका लागि जोखिम लिन सक्छन्,’ उनले भने, ‘बेलाबखत सत्ताको टकराब चल्दा छुट्टिए पनि पछि फेरि एक ठाउँमा आउनुको मुख्य कारण सत्तास्वार्थ मिल्नु नै हो ।’
कांग्रेस केन्द्रीय सदस्य मीन विश्वकर्मा दुई नेतालाई एक ठाउँ ल्याउनुका पछि तीन मुख्य कारण भएको बताउँछन् । उनका अनुसार देउवा बोलीका पक्का छन् । यस्तै, शान्ति प्रक्रियाको काम टुंग्याउने दुवै नेताको मुख्य चासो छ । तेस्रो, देउवासँग दाहाललाई र दाहालसँग देउवालाई काम गर्न सहज हुने ठानिएको छ । ‘पार्टी सभापतिभन्दा पनि अरूका कारणले पुस १० एउटा राजनीतिक दुर्घटना भयो । त्यसलाई सभापतिकै नेतृत्वमा सच्याएर पुरानै ठाउँमा आउने अवस्था बनेको छ । विकसित राजनीतिले दुई नेताबीचको सम्बन्ध अझै बढाएको छ,’ विश्वकर्माले भने, ‘द्वन्द्वरत स्थितिलाई शान्ति प्रक्रियामा रूपान्तरण गर्ने कामको नेतृत्व गिरिजाप्रसाद कोइराला र प्रचण्डजीले गर्नुभएको थियो । कोइरालापछि त्यो दायित्व शेरबहादुर देउवा र प्रचण्डजीमा नै छ । यसलाई पूरा गर्न पनि उहाँहरू एकै ठाउँ उभिनु बढी प्राकृतिक हुन्छ ।’
अर्का विश्लेषक खगेन्द्र प्रसार्इं विकसित नयाँ राजनीतिक घटनाक्रम दुई नेताबीचको आधारभूत सम्बन्ध र चरित्रको मेलभन्दा पनि सत्तास्वार्थ र त्यसका लागि आवश्यक सुरक्षाको खोजी रहेको बताउँछन् । सिद्धान्त र एजेन्डाविपरीत सत्ताका लागि भएका जुनै गठबन्धन पनि अस्थिर र अस्थायी हुने उनको दाबी छ । ‘सत्तास्वार्थको व्यावहारिक सिद्धान्तमा सबै दल छन् । सैद्धान्तिक र दार्शनिक मान्यतालाई कुँडाकर्कटामा हालेर सबै नेता सरकारको वरिपरि घुमेका छन् । सबै पार्टीको केन्द्रमा सरकारमा प्रवेश पाउने र बसिरहने छ,’ उनले भने, ‘आधारभूत रूपमा अहिलेका पार्टीहरू एउटै विधि र पद्धतिमा चलेका छन् । सरकारमा बसियो भने अस्तित्व बच्छ नत्र सबै डुब्छ भन्ने मान्यता सबैमा देखिन्छ ।’
एमालेसहित सात दलको समर्थनमा पुस १० मा प्रधानमन्त्री बनेका दाहाल दुई महिनामै अर्को गठबन्धनमा जानु भनेको सत्ता सुरक्षा र दुवै हातमा लड्डु होस् भन्ने मान्यता रहेको प्रसाईं बताउँछन् । ‘सत्ताका लागि प्रचण्डलाई प्रधानमन्त्री बनाउन एमाले पनि लचिलो भएकै हो । देउवा पनि लचिलै छन् । अहिले सत्ताका लागि जस्तो खालको प्रक्रिया चलेको छ, यसमा कोही पनि सुरक्षित छैन । आज एउटा गठबन्धन बन्यो, केही समयपछि अर्को गठबन्धन बन्न सक्छ,’ उनले भने, ‘सिद्धान्त र एजेन्डाअनुसार गठबन्धन हुन्थ्यो भने त्यसमा मिल्दाजुल्दा पार्टी मात्रै हुन्थे । अहिले सिद्धान्तमा होइन, अंकगणितमा मात्रै सहमति खोजिएको छ । यो अस्थायी हुन्छ ।’ भौतिक, राजनीतिक र वैचारिक हिसाबले देउवा र दाहालबीच इतिहासदेखि मित्रता र दुस्मनीको सम्बन्ध छ । सशस्त्र संघर्षका बेला सरकारको नेतृत्व गर्दा माओवादीलाई दबाउन लागिपरेका देउवाले शान्ति सम्झौता गर्न भूमिगत दाहालसँग पहिलोपल्ट टोलिफोन संवाद गर्दा भने ‘बहादुर नेता’ को संज्ञा दिएका थिए । उनीहरूबीच राजनीतिक हिमचिम भने २०७२ सालपछि नै बढेको हो । २०७२ असोज ३ मा संविधान जारी गर्दा सुशील कोइराला प्रधानमन्त्री थिए । २०७० को दोस्रो संविधानसभा चुनावपछि एमालेको समर्थनमा उनी प्रधानमन्त्री भएका थिए । त्यतिबेला पनि कांग्रेस र एमालेबीच आलोपालो प्रधानमन्त्री हुने समझदारी थियो ।
कोइराला सरकारको नेतृत्वमा रहेकै बेला २०७२ असोज ३ मा संविधान जारी भयो । त्यसपछि कोइरालाले राजीनामा त दिए, तर एमालेलाई सरकारको नेतृत्व दिने पुरानो समझदारी पालना गरेनन्, उनी फेरि पनि आफैं प्रधानमन्त्री हुन अघि सरे । कांग्रेसको साथ नपाएपछि माओवादीको समर्थनमा ओली पहिलो पटक प्रधानमन्त्रीमा निर्वाचित भए । तर, सरकार एकलौटी रूपमा चलाउन थालेको भन्दै दाहालले ओलीलाई हटाउने पृष्ठभूमि बनाउँदै गए । त्यतिबेला देउवा कांग्रेसको १३ औं महाधिवेशनबाट सभापति निर्वाचित भइसकेका थिए । पार्टी नेतृत्वमा आउनासाथ देउवाको नजर सत्तामा पर्न थालिसकेको थियो । दाहालले हात बढाए । कांग्रेस र माओवादीको अविश्वासको प्रस्तावबाट ९ महिनामै ओली नेतृत्वको सरकार ढल्यो । त्यसबेलादेखि देउवा र दाहालको सत्तायात्रा अघि बढ्यो ।
ओलीसँगको दोस्रो यात्रा दाहालले २०७४ को चुनावको ठीक अघि गरे । कांग्रेससँगको गठबन्धन सरकारमै रहेरै दाहालले एमालेसँग चुनावी तालमेल गरेका थिए । चुनावपछि एमाले र माओवादीबीच पार्टी एकीकरण भएर नेकपासमेत बन्यो । ओलीले शक्ति केन्द्रित गर्ने र एकलौटी रूपमा चल्ने पुरानै कार्यशैली अझै बढाए । त्यसबाट सिर्जना भएको शक्ति संघर्षका क्रममा ओलीले दुई पटक प्रतिनिधिसभा विघटन गराए, जसलाई सर्वोच्च अदालतले उल्टाइदियो । अदालतकै फैसलाबाट नेकपा एकतापूर्वको अवस्थामा फर्कियो । ओलीलाई सत्ताबाट च्युत गर्न माओवादी र कांग्रेसबीच गठबन्धन बन्यो । दाहालकै जोडबलमा देउवा प्रधानमन्त्री भए । देउवालाई सत्तामा टिकाउन माधवकुमार नेपालले एमाले नै विभाजन गरे र आफ्नो नेतृत्वमा एकीकृत समाजवादी गठन गरे । त्यसपछि कांग्रेस नेतृत्वमा पाँचदलीय गठबन्धन बन्यो । नेतृत्वमा देउवा रहे पनि सरकारको निर्णायक भूमिकामा दाहाल थिए ।
कांग्रेस, माओवादीलगायत दलले चुनावी गठबन्धन गर्दा पाँच वर्षसँगै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका थिए । तर पहिलो पल्ट प्रधानमन्त्री को हुने भन्ने विषयमा कांग्रेस र माओवादीबीच संघर्ष चल्यो । देउवाले पुस ४ मा दाहाललाई प्रधानमन्त्री छाड्न तयार भएको बताएका थिए । केही सहयोगी र श्रीमती आरजु राणाको दबाबमा परेपछि देउवाले दाहाललाई रोक्न खोजे । त्यसपछि कांग्रेससँगको गठबन्धन तोडेर दाहाल पुस १० मा एमालेसहित सात दलको समर्थनमा प्रधानमन्त्री भएका हुन् ।
माओवादीले नयाँ गठबन्धन बनाएपछि कांग्रेसभित्र देउवाको आलोचना सुरु भएको थियो । तैपनि उनले दाहाललाई ‘धोका’ दिएको भनेर कतै टिप्पणी गरेनन् । बरु दाहालसँग आफैंबाट धोका भएको भनेर मन जित्ने कोसिस गरे । प्रधानमन्त्री दाहालले विश्वासको मत लिने अघिल्लो दिन पुस २५ मा देउवालाई भेटे । पाँचदलीय गठबन्धन छाड्दा देउवा रिसाएका होलान् भन्ने ठान्दै दाहाल उनको धुम्बाराहीस्थित निवास पुगेका थिए । ‘तपाईंको केही गल्ती छैन, मेरै गल्ती हो । यसमा अन्यथा नलिनू । यस घटनालाई बिर्सेर फेरि पनि सहकार्य गर्न सकिन्छ’ भन्दै देउवा दाहालसँग प्रस्तुत भएका थिए । सरकारमा एमाले अध्यक्ष ओलीको हस्तक्षेप बढ्दै गएका बेला देउवाको अभिव्यक्तिले दाहालको मन पग्लियो । उनले भोलिपल्ट कांग्रेसबाट विश्वासको मत पनि पाए । प्रधानमन्त्री भएपछि बसेको माओवादीको पदाधिकारी बैठकमा दाहालले निर्वाचनमा वामशक्ति बीचको तालमेल लाभ हुने र सरकार चलाउँदा कांग्रेससँगै सहज हुने विश्लेषण सुनाएका थिए ।
देउवा र दाहालबीच पछिल्लो पटक पारिवारिक रूपमै पनि सम्बन्ध बढेको छ । उनीहरूबीच बेलाबखत पारिवारिक जमघट र ‘डिनर’ समेत हुने गरेको छ । यस्तो जमघटमा दाहाल देउवासँग खुलस्त भएर बोल्ने गरेको निकट नेताहरू बताउँछन् ।
दुवै नेतामा सत्ताको व्यक्तिगत महत्त्वाकांक्षा प्रबल छ । सत्ताले सबै चिज निर्माण गर्छ भन्ने मान्यतामा रहेका देउवा पाँचौं पटकसम्म प्रधानमन्त्री भएका छन् । उनी छैटौं पटक हुने रोलक्रममा छन् । दाहाल तेस्रो पटक प्रधानमन्त्री भइसकेका छन् । ‘यी दुई नेतामा व्यक्तिगत महत्त्वाकांक्षासँगै सैद्धान्तिक विचलन र अस्थिर स्वभाव छ । त्यसले नै उनीहरूलाई अहिले फेरि एकै ठाउँमा ल्याइपुर्याएको हो,’ कांग्रेसका एक नेताले भने ।
बोल्ने शैलीमा देउवा र दाहालबीच आकाश–जमिनको फरक छ । देउवा सिधासिधा कुरा छोटोमा राख्छन्, भूमिका बाँध्दैनन् । देउवाले सिधा कुरा राख्दा कतिपय बेला बुझ्न कठिनाइ हुन्छ । दाहाल भने कुनै पनि विषयमा घण्टौं बोल्न सक्छन् । सार्वजनिक मञ्चमा पनि धेरै बोल्छन् । देउवाले भने नबोलीकनै सत्ता राजनीतिमा बाजी मार्दै आएका छन् ।