एस् ए टी भी ०१ ज्येष्ठ, काठमाडौंः हिमाली जिल्ला हुम्लाको सदरमुकाम समेत रहेको सिमकोट र खार्पुनाथ गाउँपालिकामा दैनिक बाह्र घण्टा लोड सेडिङ हुने गरेको छ । उपभोक्ताको माग बढी र हिल्दुम विद्युत वितरण केन्द्रले उत्पादन गर्ने विद्युत कम भएको कारण लोड सेडिङ समय बढेको हो ।
सोबर्ण खाद्य उद्योगका सञ्चालक मुकुन्द रोकायाले लोड सेडिङ समय वृद्धि भएको कारण आफ्नो कुटानी पिसानी मिल समस्यामा परेको बताउनुभयो । उहाँले दैनिक बाह्र घण्टासम्म बिहानदेखि राती नौ बजेसम्म लोड सेडिङ हुँदै आएको बताउनुभयो । स्थानीयहरू दैनिक तेल पेल्न र अन्न पिस्न आउने भए पनि लोड सेडिङको कारण समयमा काम गर्न नपाउने उहाँले बताउनुभयो ।
बिस केजी जौ पिस्नका लागि एक दिन पालो कुरेर पिस्नु पर्ने बाध्यता रहेको बताउँदै उहाँले यसले गर्दा उद्योग नै धरापमा परेको बताउनुभयो । त्यसैसरि बढ्दो लोड सेडिङले प्रिन्टिङ प्रेस, फर्निचर उद्योग, ईलोक्ट्रोनिक्सका व्यवसाय सबैलाई प्रभाव पारेको छ ।
केन्द्रका प्रमुख जितेन्द्र यादवलेविद्युतको माग बढी र उत्पादन कम भएको कारण दैनिक लोड सेडिङ समय बढी रहेको बताउनुभयो । मुल्यगरि पावर हाउसका लागि आवश्यक पर्ने पानीको श्रोत कम भएको कारण आयोजनाले क्षमता अनुसारको विद्युत उत्पादन नहुँने भएको कारण लोड सेडिङ समस्या भई रहेको उहाँले बताउनुभयो । हाल सदरमुकाम सिमकोटमा मात्र पिक समयमा सात सय किलोवाट माग हुने गरेको र अरू बेला चारदेखि पाँच सय किलोवाट विद्युतको माग हुने गरेको उहाँको भनाई छ । राती दश बजेबाट बिहान छ बजेसम्म भने लोड सेडिङ हुने गरेको छैन ।
त्यसैसरि सिमकोट गाउँपालिकाका अन्य छ वटा वडाहरू र खार्पुनाथ गाउँपालिकाका चार वटा वडामा गरी दुई सय किलोवाट विद्युतको माग रहेको बताउँदै उहाँले केन्द्रले जम्मा डेढ सय विद्युत उत्पादन गरी रहेको कारण लोडङ समय नबढाउनुको विकल्प केन्द्रसँग नभएको बताउनुभयो । पाँच सय किलोवाट विद्युत उत्पादन गर्ने क्षमता भएको केन्द्रले कहिल्यै पनि पुरा क्षमताको विद्युत उत्पादन गर्न सकेको छैन ।
लोड सेडिङको कारण विद्युतसंग सम्बन्धी अन्य व्यवसाय मर्कामा परेका छन् भने वित्तीय कारोबार गर्ने निकायहरू कार्यालयमा सोलार जडान गर्न बाध्य हुँदै आएका छन् । हालसम्म हुम्ला जिल्ला राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छैन ।