एस् ए टी भी ०७ ज्येष्ठ, काठमाडौंः काठमाडौंमा मङ्गलबार साँझ चाइना टुरिजम डे र चाइना साउदर्न एयरलाइन्सको प्रशंसा सहित विशेष कार्यक्रम सफल्तापुर्वक सम्पन्न भएको छ। कार्यक्रम चाइना साउदर्न एयरलाइन्स, चीन राष्ट्रिय पर्यटन कार्यालय र चीन सांस्कृतिक केन्द्र काठमाडौंको संयुक्त आयोजनामा सम्पन्न भएको हो। कार्यक्रममा नेपालका व्यवसायिक क्षेत्र, ट्राभल व्यवसायी, चिनियाँ व्यापारिक समुदाय, सरकारी अधिकारीहरू तथा अन्य सरोकारवालाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
चीनले मे १९ लाई 'चाइना टुरिजम डे' को रूपमा मनाउँदै आएको छ, जुन प्रसिद्ध मिङ वंशका पर्यटक तथा लेखक स्यु स्याखको सम्झनामा समर्पित गरिएको हो।
कार्यक्रममा चाइना साउदर्न एयरलाइन्स काठमाडौं कार्यालयका महाप्रबन्धक याङ वन्फुले चीन–नेपाल हवाई मार्ग सञ्जाललाई अझ सशक्त बनाउने प्रयासहरूबारे चर्चा गर्दै दुवै देशबीचको पर्यटन र हवाई सेवा क्षेत्रको विकासका लागि थप सहकार्यको अपेक्षा व्यक्त गरे
त्यसैगरी, चीन सांस्कृतिक केन्द्र काठमाडौंकी निर्देशक स्याओ च्याङले पर्यटनले राष्ट्र र जनताबीच संवाद र आपसी समझदारी बढाउने माध्यमका रूपमा काम गर्ने उल्लेख गर्दै पर्यटनले विश्वमै शान्ति, मित्रता र सहकार्यलाई प्रवर्द्धन गर्ने बताइन्।
चीन पर्यटन कार्यालय काठमाडौंका प्रतिनिधि मोहन प्रसाद सुवालले चीनको प्राकृतिक सौन्दर्य, सांस्कृतिक विविधता र ऐतिहासिक सम्पदाबारे प्रस्तुति दिँदै चीनका प्रमुख चाडपर्वहरू — वसन्त उत्सव (स्प्रिङ फेस्टिभल), ल्याण्टर्न फेस्टिभल, ड्रागन बोट फेस्टिभल, मिड अटम फेस्टीभल लगायतबारे जानकारी गराएका थिए। उनले सियान सहर, टेराकोटा सेना, बेइजिङको फर्बिडन सिटीलगायत ऐतिहासिक स्थलहरूको पनि विशेष चर्चा गरे।
कार्यक्रममा चाइना साउदर्न एयरलाइन्सले उत्कृष्ट प्रदर्शन गर्ने पाँच टिकट एजेन्सीहरूलाई सम्मान गर्दै थप प्रेरणा प्रदान गर्यो। सहभागीहरूलाई विभिन्न उपहार वितरण गरिएको कार्यक्रममा रमाइलो माहोल सिर्जना भएको थियो। तीन जना भाग्यमानी सहभागीहरूले काठमाडौँ-चीन-काठमाडौँ राउन्ड ट्रिप टिकट जित्दा अन्यलाई पनि आकर्षक गिफ्ट ह्याम्पर प्रदान गरिएको थियो।
५९ युनेस्को विश्व सम्पदा सूचीमा सूचीकृत स्थलहरूको साथ चीन विश्वमै दोस्रो स्थानमा रहेको देश हो। चीन विश्वकै प्रमुख पर्यटक स्रोत राष्ट्र मध्ये एक हो भने, प्रत्येक वर्ष धेरै नेपालीहरू पनि चीन भ्रमणमा जाने गरेका छन्।