नेभिगेसन मेनु

धरणीधर ! तिमीलाई एक थुङ्गा बुकी फूल !
सम्पादक:南亚网络电视
लेखक:मनोज न्यौपाने
समय:2025-05-23 12:36


unko sweater hh

एस् ए टी भी ०९ ज्येष्ठ, काठमाडौंः आर्टमान्डुका प्रायः चिज राम्रै हुन्छन् । आर्टमान्डुको केही आउँदै छ भन्दा व्यग्र पर्खिनेहरूको केही गतिलै जनमानस छ। सुन्दर कथावस्तु मन पराउने तथा आर्टमाण्डुबाट प्रकाशित पछिल्ला म्युजिक भिडियो हरूको स्वादको चलचित्र पर्खिरहेकाहरूलाई ऊनको स्विटर त्यस्तै पर्खाई थियो । उसो त चलचित्र धेरै हेर्ने मनुवा म हैन। आफ्नै जिन्दगी चलचित्र जस्तो भनौँ मजा सुनिन्छ पो कि त । पर्खिएर बसेको चलचित्र छिटै हेर्ने ध्याउन्न थियो। तर पनि दोस्रो हप्तामा मात्रै त्यो अवसर जुर्‍यो। घरमा त्यसै अनुसारको माहौल मिलाएर लागेको थिएँ कमलपोखरी सिटी सेन्टर।

बा खलकका माइलोको छोरो धरणीधर यानिकी फूलको बासी काफ्ले यतै कतै दिलको नजिकै कतै धड्किरहने भयो जसरी दूर कतै उसको सम्झनामा सुन्दर श्वास बाँचिरहेकी उसकी फूल छिन्। चलचित्र हेरुन्जेल विपिन कार्कीलाई बिर्सिने प्रयास गर्नु पर्दैन उनले अभिनयमा आफूलाई जहिल्यै अब्बल साबित गरिरहेका छन् र यो पटक पनि करिब त्यस्तै भएको छ। भलै भाषाको पूर्वेली शैली सङ्ग भिजिसकेका भने अलि कम रहेछन्। यसमा केही समय उनले अझै बिताएको भए, २२ क्यारेटको सुन २४को हुन सक्थ्यो। विपिन बिर्सिएर धरणी बाँच्न अझै सहज हुन सक्थ्यो। अन्य कलाकारले पनि अभिनय कुशलता देखाएकै छन्। एउटा खट्किएको पाटो भनेको मिरुनाको विशुद्ध नेपाली वाक शैली रह्यो।

रुने हँसाउने भन्दा पनि मोहमा फसाउने खालको बनेको छ चलचित्र भने। जस्तो चित्र लिएर चलचित्र घरसम्म सम्म पुगिन्छ करिब त्यस्तै त्यस्तै मुटु लिएर घर फर्किन सम्भव बनाएको छ चलचित्रले। सुन्दर संवादका लागि लेखकले श्रेय लिनै पर्छ। उनले कोरिदिएका शब्दहरू धेरै दर्शकले दिलभित्र सजाउन मन लाग्ने , आँखै वरपर डुलाउन मन लाग्ने , लट्ठ बनाउने खालका रहेको बताई रहेका छन्। पात्रहरूमा जस्तो किसिमको आत्मीयताको आशा लिएर हलसम्म पुगिन्छ त्यस्तै त्यस्तै निकटता बोकेर फर्किन पनि सकिन्छ यस मानेमा नवीन चौहानले साँच्चै जीवन्त सिनेमा बनाएका छन् भन्दा केही फरक नपर्ला।

पार्श्वगायन चलचित्रको धड्कन बनिदिएको छ। सुजनले धरणीधरको आँतमा आत्मा भरिदिएका छन् । उनको आवाजको जादुले मोहित नहुने को होला र ? आज पनि त्यस्तै भएको छ । सुजनको स्वरमा त्यति मिठा शब्द भरिदिने हर्क दाइ, युवराज काफ्ले तपाईँहरूलाई सादर प्रेम छ। हर्क साउदका शब्दहरूले अहिलेको समयमा कसका कण्ठमा राज गरेका छैनन् र ? चलचित्रको उस्तो ज्ञान त छैन तर पनि कथावस्तु सङ्ग नवविवाहितताको शृङ्गार जसरी सजिएको हुन्छ त्यसरी नै सज्जित भएको छ सुजनको पार्श्व गायन अनि पार्श्व ध्वनि ।

कथा वस्तु निकै सरल छ। सरल कथामा विभिन्न अवयव छन् जसले त्यसको सुन्दरता अझै बढाएको छ। सुदूर पहाडको एक्लो सुन्दरता झल्काइदिएका छन् छायाकारले चलचित्रमा र यो निकै कलात्मक बनेको छ।

दुई फरक पृष्ठभूमि तथा जातका युवा माझ झाँगिएको प्रेमले निम्त्याएको अवस्थालाई कथामा देखाउने प्रयास भएको छ। पाठकले यसो भन्न पनि सक्छन्, "धरणीधर ! तिमी हिँडेको गोरेटो हिँड्न मन लाग्यो, तिम्रा प्रेमिल स्पर्श पाएको बुकी फूलले पनि सान मार्दै आफ्ना साथीलाई सुनाउँदो हो मैले फिल्म खेलेँ नि त्यो भन्दा अझ काफ्ले ले मलाई छोयो नि।तिमी र फूल नाचेको त्यो सुदूर पूर्वको सुन्दर पहाड, तिम्रो भर परेर आफ्ना प्रियतमलाई पोको पठाएकी आमाका जोडीलाई ती बुढी उडाएर ल्याएका बालाई सबै सबैलाई एकै पटक भए पनि छुन मन लाग्यो नि।तिमीले खिचिआएको त्यो अन्तिम रिल बाँकी रहेको फोटो कस्तो सुन्दर आएको है? तिमीले ख्याल त गर्‍यौ नि? तिमीले छानामा बनाएको झ्यालबाट म मेरी फूललाई पनि जून देखाउन चाहन्छु । मेरी फूल पनि तिम्री फूल जस्तै सुन्दर छे नि।" यसो हुँदा हुँदै केही कथा अधुरा राखेरै कथालाई लम्ब्याइएको भने पक्कै छ। कता कति मन भुलाउन सुजनको गीत पर्खिनु पर्ने बाध्यता पनि आउन सक्छ।

चलचित्रमा फूलको जिन्दगी केही बढी धरणीले बाँचिदिएको छ। आफैँलाई बिर्सिएकी फूललाई धरणीको अटोले सम्झाइदिएको छ। आफ्नो अनुहार उनले त्यही अटोमा देखेकी हुन सक्छिन्। त्यसरी बालापन साँचिदिने कोही भइदिए बाँच्न खुब मजा आउँदो हो। अपुरो प्रेम कथा प्राय प्रेम जगतमा सुन्दर सुनिन्छ सायद त्यस्तै केही भएको छ यस चलचित्रमा। वियोगान्त देखाउन खोजिएको यस चलचित्रले आशाको केही टुसो भने छोडिदिएको छ। फूलले लेखेको चिठ्ठी पढेर हौसिँदै आएका छन् धरणी मोटर गाडीमा। एउटा मानिस हार्दा हार्दै पनि उसलाई बचाउने थुप्रै कारणहरू भइरहने गर्दछन्। त्यस्तै कारणहरूको जालोमा बेरिएको धरणी पनि एउटा त्यान्द्रो मा अल्झिएको देखिन्छ।

उपकथाहरूको समय सापेक्षता अझै उस्तै नै छ। दलित हरू माथिको उत्पीडन केही मिनेटको क्लिपमै सुन्दर तवरले देखाइदिएका छन् नवीन चौहानले। भेदभावका कथामा बनेका धेरै चलचित्र भन्दा अब्बल तरिकाले भेदभाव प्रस्तुत गरिदिएको छ चलचित्रले यसका लागि प्रशंसा गर्नै पर्छ।

नेपाली सांस्कृतिकता देखाउन चलचित्रहरू चुक्छन् लाग्छ केही हद सम्म यसले देखाउने प्रयास गरेको हो तर अझै परिष्कृत बन्न सक्थ्यो भन्न सकिन्छ । जस्तो काफ्लेहरूको कुल पूजा छ त्यहाँ बलि मात्रै दिइँदैन होला, अरू थुप्रै कुरा हुन्छ होला देखाउन सकिने धेरै हुन सक्थ्यो। देउता आउँदा केही सुन्दर ऊर्जा उत्पन्न हुन्छ त्यो मैले नजिक बाट नियालेको छु ती कुराहरूमा अझै केही मेहनत गर्न सकिन्थ्यो भन्ने लाग्छ। भने चलचित्रका प्रत्येक दृश्य एक सुन्दर तस्बिर भन्दा कम थिएनन्। कुहिरोको बादलमा हराएर आफैँलाई खोज्न मन कसलाई नलाग्ला र?

आमाको भूमिकामालाई पनि न्याय गरेकी छन् बत्ती माया काफ्ले अर्थात् शारदा देवी सिलवालले। २०६३/६४ को कथावस्तुमा उक्त अवस्थाका ग्रामीण महिलाको भयावहतालाई झल्काई दिएको छ। मन भरी भरिएको पिडा पछ्यौराको फेरले कम्मरमा बाँध्ने ती महिलाहरू अब भने बिस्तारै बलिया र आफ्ना कुरा राख्न सक्ने भैसकेका छन्। अझै पनि त्यस्तो अवस्था नभेटिएला भन्न सकिन्न। आमाले बाँचेको जिन्दगी बाँच्ने साहस कसले गर्न सक्छ र खै। त्यसैले त होला देवत्व करण गरिएको। सुनिल पोखरेलको अभिनय क्षमतामा कसले प्रश्न उठाओस् र खै? त्यही बेजोडता यस चलचित्रमा पनि देख्न सकिन्छ।

भूतमा बाँचेर समय खेर फाल्नु हुँदैन भन्ने प्रायः सबै करिब तीन घण्टा आफ्नो भूत सम्झेर रमाउनेछन्। अझ भन्दा छोडेर आएको अटो समाउनेछन्, युवा क्लबको अध्यक्ष बनेर अहिले बिर्सिएका हरू त्यो सुन्दर पल सम्झेर मन मनै भक्कानिन सक्छन्। थोरै अघिको समय झट्ट बिर्सिएको जो कसैले आफ्नै स्मृति मन भरी खेलाएर चलचित्र घर बाहिर निस्कन्छ।

सुदूर पहाडको डाँडामा एउटा छुट्टै संसार बनाएर फरक समुदायका बिचमा एक्लै उभिएको एउटा बाहुन काफ्ले परिवारको यस कथामा अलिकति कोमलता छ, अलिकति प्रेम छ, अलिकति आत्मीयता छ, अलिकति शीतलता छ, थोरै रिस राग छ, केही नाचगान छ, केही उपद्रव छ अनि धेरै दुख छ, सङ्घर्ष छ , केही गलतीहरु छन्। सबै भन्दा ठुलो माया छ। सामाजिक कथा र मिठो सङ्गीत मन पराउने जो कोहीको मिठो खुराक बन्न सक्ने यस्ता चलचित्रले मौलिक संस्कृति बचाउने कुरामा दुई मत भने कदापि छैन। सजिलो भाषा, कोमल चलचित्र सुजनको स्वर जस्तै सुन्दर चलचित्र।

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर