एस् ए टी भी ०८ वैशाख, काठमाडौँः पर्साका सरकारी कार्यालयको विकास निर्माणका लागि छुट्याइएको पुँजीगत खर्च कम भएको छ। चालु आर्थिक वर्षमा पर्साका सरकारी कार्यालयलाई २ अर्ब ७३ करोड रुपैयाँ पुँजीगत खर्चका लागि विनियोजन भएकोमा चैत मसान्तसम्म २७.९६ प्रतिशत अर्थात् ७६ करोड ६० लाख रुपैयाँ मात्र खर्च भएको छ।
कोष तथा लेखा नियन्त्रक कार्यालय पर्साका प्रमुख मनोजकुमार जोशीले सरकारी कार्यालयले अपेक्षित रूपमा पुँजीगत खर्च गर्न नसकेको बताए। ‘चालु आर्थिक वर्ष सकिन अब तीन महिनाभन्दा कम समय छ,’ उनले भने, ‘संघीय सरकारको तुलनामा पनि यहाँका कार्यालयले पुँजीगत खर्च गर्न सकिरहेका छैनन्।’ उनले विकास निर्माणका काम अघि बढाउन पुँजीगत खर्च बढाउन अनुरोध गरे।
चालु आर्थिक वर्षमा पर्साका सरकारी कार्यालयका लागि चालु खर्चतर्फ १० अर्ब ६२ करोड रुपैयाँ विनियोजन भएकोमा ६४.८९ प्रतिशत अर्थात् ६ अर्ब ८९ करोड रुपैयाँ खर्च भएको छ। यस्तै, चैत मसान्तसम्म पर्साका सरकारी कार्यालयले १ खर्ब ६१ करोड रुपैयाँ राजस्व संकलन गरेका छन्। गत आर्थिक वर्षको सोही अवधिमा १ खर्ब ५१ करोड रुपैयाँ राजस्व संकलन भएको थियो। पर्सामा ६० भन्दा बढी संघीय सरकार मातहतका कार्यालय छन्।