एस् ए टी भी ०४ ज्येष्ठ, काठमाडौंः भारतले शनिबारदेखि बंगलादेशबाट हुने केही वस्तुको आयातमा बन्दरगाह प्रतिबन्ध लगाएको जानकारी दिएको छ। तयारी पोशाक, प्रशोधित खाद्य वस्तु, फल, प्लास्टिक, कपास, रंग र फर्निचरजस्ता वस्तुमाथि रोक लगाइको हो।
भारतकाे वाणिज्य मन्त्रालयअन्तर्गतको विदेश व्यापार महानिर्देशनालय (डीजीएफटी) ले यस सम्बन्धमा सूचना जारी गर्दै प्रतिबन्ध तत्काल लागू भएको भनेकाे छ। यसअन्तर्गत, बंगलादेशबाट तयारी पोशाकको आयात कुनै पनि स्थल बन्दरगाह (जस्तै आसम, मेघालय, त्रिपुरा, मिजोरमका बन्दरगाह र पश्चिम बंगालको चांगरबांधा र फूलबारी) बाट गर्न पाइने छैन। यी वस्तुको आयात अब केवल मुम्बईको न्हावाशेवा र कोलकाताको समुद्री बन्दरगाहबाट मात्र गर्न अनुमति दिइनेछ।
डीजीएफटीका अनुसार बंगलादेशबाट माछा, एलपीजी, कुचिएको ढुंगा र खाद्य तेलको आयातमा यी बन्दरगाह प्रतिबन्ध लागू हुँदैन्। तर याे प्रतिबन्ध भारत हुँदै नेपाल र भुटान जाने बंगलादेशी सामानमा लागू हुने छैन। यो कदम बंगलादेशले भारतीय निर्यातमा लगाएको उच्च शुल्क र आयात निरीक्षणजस्ता प्रतिबन्धको जवाफमा उठाइएको बताइएको छ।
साथै, बंगलादेशका अन्तरिम प्रधानमन्त्री मोहम्मद युनूसले भारतको पूर्वोत्तर राज्यहरूबारे चीनमा दिएको विवादास्पद बयानले पनि यो निर्णयलाई प्रभावित गरेको मानिन्छ।