एस् ए टी भी २३ वैशाख, काठमाडौंः जुम्लाको नेवार समुदाय आफ्नो भाषा र संस्कृति जोगाउन सक्रिय छ। यसै क्रममा धिमे बाजा, मादल र झ्याली संरक्षणका लागि अभियान चलाएको छ। नेवार युवालाई वाद्यवादनसम्बन्धी तालिम पनि सञ्चालन गरिएको छ। नेवा देय् दवु जुम्लाका अध्यक्ष नवराज श्रेष्ठ भन्छन्, ‘धिमे बाजा नेवार समुदायमा शोकबाहेक सबै शुभकार्यमा बजाइन्छ। तर, संरक्षण अभावमा यो लोपोन्मुख छ।’
चन्दननाथ नगरपालिका-५ बजारका संस्कार श्रेष्ठ धिमे बाजा बजाउन व्यस्त छन्। पहिले बाजा बजाउन नजान्दा दुखी भएका उनी अहिले खुसी छन्। सोही वडाकी नेवाश्री श्रेष्ठलाई केही हप्ताको तालिमपछि धिमे, मादल र झ्याली बजाउन सहज भएको छ। उनले भनिन्, ‘आफ्नो समुदायको बाजा टेलिभिजनमा मात्र देखेकी थिएँ। अहिले मलाई नै बजाउन आउँछ।’
पहिले पुरुषले मात्र बजाउने मान्यता रहेको यो बाजा स्थानीय प्यारोल श्रेष्ठले पनि सिकेकी छन्। उनले फुर्सदिलो समयमा संस्कृति जोगाउन बाजा सिकेको बताइन्। ‘अब नेवार समुदायका विभिन्न कार्यक्रममा धिमे बाजा बजाउन सक्छु,’ उनले भनिन्। संस्कार, प्यारोल र नेवाश्रीसहित ३० जनाले यो बाजा सिकेका छन्। सुरुमा असहज भए पनि अहिले बजाउँदा आनन्द आउने उनीहरूको अनुभव छ।
नेवा देय् दवु जुम्लाले नेवारी कला, संस्कृति र सीप जोगाउन एक महिने तालिम आयोजना गरेको थियो। चन्दननाथ नगरपालिकाको ५ लाख आर्थिक सहयोगमा यो तालिम सम्पन्न भएको हो। जुम्लामा पहिलोपटक यस्तो अवसर प्राप्त भएको छ। तर, सरकारी निकायबाट पर्याप्त सहयोग नपाएको अध्यक्ष श्रेष्ठको गुनासो छ।
‘धिमे बाजा’ नेवार समुदायमा नयाँ वर्ष, विजयादशमी, दीपावली, गाईजात्रालगायत पर्वमा बजाउने गरिन्छ। ‘नयाँ पुस्तामा सांस्कृतिक धरोहर हस्तान्तरण नहुँदा संस्कृति लोप हुने अवस्थामा छ। युवाले चासो नदिए संस्कृति नै हराउने जोखिम थियो। अहिले यो काम उत्साहजनक छ,’ श्रेष्ठ भन्छन्। पश्चिमी संस्कृतिको प्रभावले आफ्नो संस्कृतिप्रति मोह घटिरहेको बेला युवाको यो उत्साह प्रशंसनीय छ।
जुम्ला सदरमुकाम खलंगामा नेवार समुदायका ६८ घरधुरी छन्। पहिले पुरुषले मात्र बजाउने धिमे, मादल र झ्याली अहिले महिलाले पनि उत्साहपूर्वक सिकिरहेका छन्। नेवा देय् दवुका राष्ट्रिय प्रशिक्षक तथा राष्ट्रिय युवा संघका केन्द्रीय अध्यक्ष सुदनमान मुनिकार श्रेष्ठले यो सकारात्मक परिवर्तन भएको बताए।
नेवार समुदायमा बुबाको मुख हेर्ने, आमाको मुख हेर्ने, देगु पूजा, गुँ पुन्ही, येँया पुन्ही, चथाः, दसैँ, तिहार, म्हःपूजा, पाँहाचह्रे, योमरी पुन्हीलगायत पर्वमा यी बाजा बजाएर हर्षोल्लास मनाइन्छ। चन्दननाथ नगरपालिकाका मेयर राजुसिंह कठायतले नेवार संस्कृति जोगाउन नगरपालिका सधैँ तत्पर रहेको बताए। ‘नेवारी बाजा र नाच देख्दा निकै खुसी लाग्छ,’ उनले भने। उनले यी बाजा र नाच जुम्लाका विभिन्न कार्यक्रममा प्रस्तुत गर्न अनुरोध गरे।