एस् ए टी भी ११ ज्येष्ठ, काठमाडौँः सिन्धु नहर विवादलाई लिएर पाकिस्तानमा जारी प्रदर्शन हिंस्रक भएको छ। प्रदर्शनकारीले प्रान्तका गृहमन्त्रीदेखि पाकिस्तानका राष्ट्रपति आसिफ अली जरदारीकी छोरी आसिफा भुट्टोको गाडीमाथि समेत आक्रमण गरेका छन्।
आसिफा भुट्टोको गाडीमा शुक्रबार भीडले आक्रमण गरेको थियो। घटनाको भिडियो शनिबार सार्वजनिक भएको हो। सिन्ध प्रहरीका अनुसार आसिफा कराँचीबाट नवाबशाह जाँदै थिइन्।
प्रदर्शनकारीहरूले उनको गाडीलाई रोकेर सिन्धु नदीमा प्रस्तावित नहर परियोजना र कर्पोरेट खेतीको विरोधमा नारा लगाए। प्रहरीले तुरुन्त कारबाही गरेर उनको गाडीलाई सुरक्षित रूपमा त्यहाँबाट निकालेको थियो। घटनामा कुनै हताहत नभएको प्रहरीले जनाएको छ।
आसिफा विश्व बैंकको टोलीसँग सिन्ध प्रान्तका बाढी प्रभावित क्षेत्रहरूको अवलोकन गर्न जाँदै थिइन्। प्रदर्शनकारीहरूले सिन्धु नदीको पानी अन्यत्र मोड्ने सरकारी योजनाको विरोधमा सडक अवरुद्ध गरेर गाडीमा लाठी र ढुंगा प्रहार गरेका हुन्।
पाकिस्तान सरकारले सिन्धु नदीमा नहर निर्माण गर्ने योजना बनाएको छ। यसलाई लिएर स्थानीयहरू आक्रोशित छन्। विवादका कारण गत मंगलबार सिन्ध प्रान्तका गृहमन्त्री जियाउल हसन लन्जरको घरमा प्रदर्शनकारीहरूले आगजनी गरेका थिए।
आक्रोशित भीडले घरमा तोडफोड गरे, कोठा र फर्निचर जलाए, र छतबाट फुटेका एयर कन्डिसनरको बाहिरी भाग भुइँमा फ्याँकेका थिए। हतियारधारी निजी गार्डहरूले भीडलाई तितरबितर पार्न हावामा गोली चलाएका थिए।