एस् ए टी भी ३१ वैशाख, काठमाडौंः उरुग्वेका पूर्वराष्ट्रपति होसे मुहिकाको ८९ वर्षको उमेरमा निधन भएको छ।
सन् २०१० देखि २०१५ सम्म राष्ट्रपति रहेका उनी साधारण जीवनशैलीका कारण विश्वभर ‘सबैभन्दा गरिब राष्ट्रपति’ भनेर चिनिए। उरुग्वेका राष्ट्रपति यामान्डु ओर्सीले एक्समा पोस्ट गर्दै मुहिकाको निधनबारे जानकारी दिएका हुन्।
‘हामीलाई दिएको सबै कुराका लागि धन्यवाद, अनि जनताप्रति तिमीले देखाएको गहिरो प्रेमका लागि पनि,’ ओर्सीले लेखे। निधनको कारण खुलाइएको छैन, तर मुहिकालाई घाँटीको क्यान्सर थियो। सरल जीवन र सामाजिक सुधारका कारण उनी चर्चित भए।
राष्ट्रपतिका रूपमा उनको सादा जीवन, उपभोक्तावादविरुद्धको आलोचना र सामाजिक सुधारले उनलाई ल्याटिन अमेरिकादेखि विश्वभर लोकप्रिय बनायो। उनको नेतृत्वमा उरुग्वेले गाँजाको मनोरञ्जनात्मक प्रयोगलाई वैध बनाउने विश्वकै पहिलो देशको कीर्तिमान बनायो। तर, ३४ लाख जनसंख्या भएको उरुग्वेमा उनको विरासतले केही विवाद पनि निम्त्यायो।
क्रान्तिकारीदेखि राष्ट्रपतिसम्मको यात्रा
मुहिकाको बाल्यकाल मोंटेभिडेओको मध्यमवर्गीय परिवारमा बित्यो। उनकी आमाले उनलाई राजनीति, पुस्तकप्रति मोह र जमिनसँगको प्रेम सिकाइन्। युवावस्थामा उनले नेसनल पार्टीबाट राजनीति सुरु गरे, जुन पछि उनको सरकारको विपक्षी बन्यो।
१९६० को दशकमा उनले टुपामारोस नेसनल लिबरेशन मुभमेन्ट स्थापना गर्न सहयोग गरे। यो वामपन्थी शहरी विद्रोही समूहले आक्रमण, अपहरण र हत्या जस्ता गतिविधि गर्यो, यद्यपि मुहिकाले आफूले कसैको हत्या नगरेको दाबी गरे। क्युबाली क्रान्ति र अन्तर्राष्ट्रिय समाजवादबाट प्रभावित यो समूहले तत्कालीन उरुग्वे सरकारविरुद्ध गोप्य विद्रोह चलायो।
१४ वर्षको जेल जीवन: यातना, पागलपन र बाँच्ने संघर्ष
मुहिका चारपटक पक्राउ परे। सन् १९७० मा उनलाई छ गोली लाग्यो, तर बाँचे। उनी दुईपटक जेलबाट भागे, एकपटक १०५ बन्दीसँगै सुरुङ खनेर भागे, जुन उरुग्वे इतिहासकै ठूलो जेल ब्रेकमध्ये एक हो।
१९७३ मा सेनाले कू गरेपछि उनलाई ‘नौ जना बन्दी’ मा राखियो र विद्रोह जारी रहे हत्या गर्ने धम्की दिइयो। उनले १४ वर्षभन्दा बढी समय कठोर जेल र एकान्तमा बिताए। सन् १९८५ मा लोकतन्त्र फर्किएपछि उनी रिहा भए। उनले भने, ‘राष्ट्रपति बन्नु त केही होइन, जेलबाट छुटेको दिन मेरो सबैभन्दा खुशीको दिन थियो।’
राजनीतिमा फर्काइ र राष्ट्रपतिको कार्यकाल
रिहाइपछि उनले सांसद र सन् २००५ मा मन्त्री बने। सन् २०१० मा ७४ वर्षको उमेरमा राष्ट्रपति भए। उनको कार्यकालमा उरुग्वेको अर्थतन्त्र ५.४% ले बढ्यो, गरिबी र बेरोजगारी घट्यो। सामाजिक क्षेत्रमा गर्भपतन वैध भयो, समलैंगिक विवाहले मान्यता पायो र गाँजाको बजार राज्यले नियमन गर्न थाल्यो।
सादा जीवनशैली: राष्ट्रपति भएर पनि झुपडीमा
मुहिकाले राष्ट्रपतिको आलिसान निवासमा बस्न अस्वीकार गरे। बरु, पत्नी लुसिया टोपालान्स्की (पूर्व विद्रोही र राजनीतिज्ञ) सँग मोंटेभिडेओ बाहिर साधारण घरमा, बिना सेवक र सुरक्षाकर्मी बसे। १९८७ मोडलको निलो भक्सवागन बीटल चलाउने, साधारण कपडा लगाउने र तलबको धेरैजसो दान गर्ने उनको बानीले उनलाई ‘संसारको सबैभन्दा गरिब राष्ट्रपति’ भनियो। तर उनले यो उपाधि अस्वीकार गर्दै भन्थे, ‘उनीहरू भन्छन् म गरिब राष्ट्रपति हुँ। होइन, म गरिब होइन। गरिब त ऊ हो, जो सधैं अझ बढी चाहन्छ।’
आलोचना: खर्च वृद्धि, शिक्षामा सुधार असफल
मुहिकाको सरकारमाथि सार्वजनिक खर्च बढाएको र शैक्षिक सुधारमा असफल भएको आरोप लाग्यो। तर, उनलाई भ्रष्टाचार वा लोकतन्त्र कमजोर बनाएको आरोप कहिल्यै लागेन। उनको लोकप्रियता उच्च रह्यो-कार्यकाल सकिँदा ७०% समर्थन थियो। सन् २०१५ पछि उनले सांसदका रूपमा काम गरे र विश्वभर भ्रमण गरे।
अन्तिम वर्ष र निधन
सन् २०२० मा राजनीतिबाट अवकाश लिए पनि उनी उरुग्वेमा चर्चित रहे। उनको राजनीतिक उत्तराधिकारी यामान्डु ओर्सी सन् २०२४ मा राष्ट्रपति बने। पछिल्ला वर्षमा मुहिकाले आफ्नो क्यान्सरबारे खुलासा गरेका थिए। उनले मृत्युलाई स्वाभाविक रूपमा स्वीकार गर्ने कुरा दोहोर्याए। सन् २०२४ को नोभेम्बरमा बीबीसीसँगको अन्तिम अन्तर्वार्तामा उनले भने, ‘मृत्यु अनिवार्य हो भन्ने थाहा छ। सायद त्यही हो जीवनको नुन।’