एस् ए टी भी ११ ज्येष्ठ, काठमाडौँः प्युठानका अग्ला टाकुरामा अहिले मन्दिरहरू छन् तर यी स्थलहरू पहिले राजा र उनका सेनाहरू बस्ने ‘कोट’ थिए । ती किल्ला जस्ता संरचनाहरूमा भाला, खुकुरी र तोपसहित सैनिक तैनाथ हुन्थे। कोटहरू शासन, सुरक्षा र युद्ध रणनीतिका केन्द्र थिए । तर आज यी ऐतिहासिक गढहरू हराउँदै गएका छन् ।
बाइसे–चौबिसे राज्यकालमा भुरे राजाहरूले सुरक्षाका लागि अग्लो ठाउँमा कोट बनाए। प्युठानमा अहिले ३८ वटा कोट पहिचानमा आएका छन् । माझ कोट, डाम्री, खैरा, भिङ्री, सारी जस्ता थुप्रै कोट छन् । तर भित्रिकोट, बिजुलीकोट, बाँदिकोट, ओखरकोट, उदयपुरकोट र नारिकोटलाई सबैभन्दा शक्तिशाली मानिन्छ। दक्षिणबाट हुने आक्रमण रोक्न सरुमारानीको ढुङ्गे गढी बनाइएको थियो ।
अनुसन्धानकर्ता डा. भोजविक्रम बुढा मगर भन्नुहुन्छ, “यी कोटहरू १४ र १५औँ शताब्दीमा बनेका हुन् र धेरैमा मगर शासकको प्रभाव देखिन्छ।”
कोटहरूमा शासन व्यवस्था, सुरक्षा व्यवस्था र हतियार भण्डारण हुन्थ्यो । कतै जिम्माल र मुखियाले शासन गर्थे भने कतिपयमा भुरे राजा सत्ता राख्थे। नेपाल एकीकरणपछि यी कोटहरू शक्तिशाली धार्मिक स्थल—कोटघर—मा परिणत भए। अहिले पनि दसैँमा त्यहाँ बलि, पूजा र सराय नाचजस्ता परम्पराहरू जीवित छन्।
अनुसन्धानकर्ता डा. गीतु गिरी भन्नुहुन्छ, “भुरे राजाहरूले कोटभित्र देवी र खड्गको पूजा गर्थे, शत्रुको आक्रमण नहोस् भनेर। उनको शासन अन्त भएपछि स्थानीयले त्यो परम्परालाई निरन्तरता दिएका छन्।”
डा। गिरीका अनुसार भित्रिकोट चन्द्रवंशी राजाहरूको राजधानी थियो। सत्रौँ शताब्दीमा चन्द्रवंशी लटराजले त्यहाँ शासन थालेका थिए। वि।सं। १८४३ मा मोतिचन्दको शासन सकिएर प्युठान नेपालमा गाभियो। चन्द शासनअघि रोल्पाबाट आएका मगर शासक यहाँ सत्तामा थिए। चौबिसे राज्य अन्तर्गत प्युठानमा १४ राजाहरूले शासन गरेको इतिहास छ।
उदयपुर कोटमा विसं १५७५–१६०२ सम्म ब्राह्मण शासक जसुधर अधिकारीले शासन गरे। उनका वंशज शान्त राज अधिकारी वि।सं। २०१७ सम्म राजाकै हैसियतमा रहेको देखिन्छ।
ओखरकोट न केवल शासनको केन्द्र थियो, त्यहाँ भाला, तरबार, राजदण्डजस्ता हतियार पनि बनाइन्थ्यो। जनश्रुतिअनुसार राजा जाट मगरपछि परशु घर्तीले शासन गरे। तर वि.सं. २०७२ मा त्यहाँ रहेको ऐतिहासिक राजदण्ड चोरी भयो। अन्य हतियारहरू पनि हराइसकेका छन्। धेरै कोटमा अहिले दरबार र सभाकक्षका भग्नावशेष मात्रै छन्। अधिकांश कोटहरू मन्दिरमा परिणत भएका छन्।
माण्डवी गाउँपालिका–४ का मदन अधिकारीले पर्वहरूमा पूजा र मेला गर्दै स्थानीय बासिन्दाले कोट संरक्षण गर्दै आएको बताउनुभयो। उहाँले भन्नुभयो,ूअब यी स्थललाई पर्यटकीय रूपमा विकास गर्न जरुरी छ।”
स्थानीय सरकारहरू संरक्षण र पूर्वाधार विकासमा सक्रिय छन्। प्युठान नगरपालिकाले भित्रिकोटमा पाँच करोड रुपियाँ लगानी गरिसकेको छ भने माण्डवी गाउँपालिकाले उदयपुरकोट संरक्षणमा दुई करोड ४१ लाख खर्च गरिसकेको छ। त्यहाँ मन्दिर, सिँढी र वाटर फाउन्टेन निर्माण भइसकेको छ। पुरातत्व विभागले पनि पुनर्निर्माण गरेको छ। सरुमारानीको ढुङ्गे गढीमा समेत नेपाली सेनाले पूर्वाधार निर्माणका लागि पहल थालेको छ।
भित्रिकोटको २२ करोडको विस्तृत परियोजना प्रतिवेदन बजेट पर्खिरहेको छ। झिमरुक गाउँपालिकाले वादीकोट–ओखरकोटलाई धार्मिक तथा पर्यटकीय गन्तव्य बनाउन योजना अघि सारेको छ।