एस् ए टी भी ०६ ज्येष्ठ, काठमाडौँः नेपाल र चीनबिच कूटनीतिक सम्बन्ध स्थापनाको ७०औँ वार्षिकीको अवसरमा आज काठमाडौँमा संयुक्त गोष्ठी र सम्झौता पत्र (एमओयू) हस्ताक्षर कार्यक्रम सम्पन्न भएको छ।
नीति अनुसन्धान प्रतिष्ठान (पिआरआई) र चाइनिज एकेडेमी अफ सोसल साइन्सेजको नेशनल इन्स्टिच्युट अफ इन्टरनेशनल स्ट्राटेजीद्वारा संयुक्त रूपमा आयोजित यस कार्यक्रममा नेपालको परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राई र नेपाल स्थित चिनियाँ दूतावासका डीसिएम वाङ सिन लगायत अनुसन्धान र रणनीतिक क्षेत्रका प्रतिष्ठित व्यक्तिहरूको उपस्थिति थियो।
दुवै देशको साझा हितलाई समेटेर गरिएको यस छलफल मुख्यतः आर्थिक रणनीतिहरू र विकास योजनाहरूमा केन्द्रित थियो। दुवै पक्षका संस्थाहरूले क्षेत्रीय शान्ति र समृद्धिको लागि विभिन्न क्षेत्रमा सार्थक साझेदारी गर्न आवश्यकता रहेको बताए।
उद्घाटन सत्रमा बोल्दै परराष्ट्र सचिव अमृतबहादुर राईले नेपाललाई चीनले विभिन्न क्षेत्रमा प्रदान गरिरहेको सहयोगको सराहना गरे। उनले भने, "दुवै देशले एक अर्काको आकाङ्क्षा र रणनीतिलाई बुझ्ने र सम्मान गर्ने गरेका छन्।" उनले चीनलाई बहु आयामिक सम्बन्ध भएको विश्वसनीय छिमेकी तथा भरपर्दो विकास साझेदारको रूपमा चिनाए। साथै, नेपाललाई अल्पविकसित देश (एल डी सी) को स्थानबाट माथि उक्लन चीनले सहयोग गर्ने अपेक्षा पनि गरे।
यसै गरी, नेपाल स्थित चिनियाँ दूतावासका डीसिएम वाङ सिनले सगरमाथा संवाद सफलतापूर्वक सम्पन्न भएकोमा नेपाललाई बधाई दिए। उनले भने, "चीन र नेपाल एक अर्काको रणनीति प्रति विश्वास, बुझाइ र सम्मान गर्ने गरेका छन् र क्षेत्रीय शान्ति, सुरक्षा र साझा भविष्यको समुदाय निर्माण गर्न प्रतिबद्ध छन्।" उनले यस प्रकारका अनुसन्धान संस्थाहरूबिचको गोष्ठीले अनुसन्धान र पारस्परिक समृद्धिको लागि सेतुको भूमिका खेल्न सक्ने बताए।
चीनका प्रतिनिधिहरूले नेपालले प्रदान गरेको आतिथ्यलाई प्रशंसा गर्दै आज सम्झौता पत्रमा हस्ताक्षर भएपछि दीर्घकालीन सहकार्यमा आशावादी देखिए। यसले दुवै देशबिच अनुसन्धान नीतिको आदानप्रदान तथा उच्च स्तरीय संवाद बढोत्तरीमा महत्त्वपूर्ण कोशे ढुङ्गाको काम गर्ने बताइएको छ।
गोष्ठीका सहभागीहरूले गोष्ठीले नेपाल र चीनबिचको विश्वास र सहयोगलाई नयाँ स्तरमा पुर्याउने विश्वास गरे। इतिहासको कुनै समयमा काठमाडौँ व्यापारको केन्द्र बनेजस्तै, नेपालले बहु स्तरीय कूटनीतिक र रणनीतिक सम्बन्ध बढाउन चीनसँगको सम्बन्ध मजबुत पार्न आवश्यकता रहेको जानकारहरूले बताए।