नेभिगेसन मेनु

नेपालमा पहिलोपटक अन्तर्राष्ट्रिय एभरेस्ट समिटियर्स समिट हुने
सम्पादक:南亚网络电视
समय:2025-05-25 12:38


1212

एस् ए टी भी ११ ज्येष्ठ, काठमाडौँः नेपालमा पहिलोपटक अन्तर्राष्ट्रिय स्तरको एभरेस्ट समिटियर्स समिट आयोजना हुने भएको छ। एभरेस्ट एलायन्स नेपालको आयोजना र संयोजनमा यही जेठ १३ गते काठमाडौंमा हुने यो ऐतिहासिक सम्मेलनमा नेपालका साथै विश्वका १६ देशका १७७ भन्दा बढी अनुभवी सगरमाथा आरोहीहरूको सहभागिता सुनिश्चित भइसकेको आयोजकले जनाएको छ।

सम्मेलनमा भारत, चीन, अमेरिका, पाकिस्तान, अष्ट्रिया, बेलायत, इटाली, इरान, सिङ्गापुर, अस्ट्रेलिया, लेबनान, मोरक्को, यूएईलगायतका मुलुकका सगरमाथा आरोहण सम्पन्न गरेका अन्तर्राष्ट्रिय आरोहीहरू सहभागी हुनेछन्। उनीहरूले पर्वतारोहणका अनुभव, चुनौती र सफलता साझा गर्दै साहसिक पर्यटन प्रवर्द्धनमा योगदान दिने विश्वास लिइएको छ।

प्रेरणादायी यात्राको संगम

“सगरमाथा हाम्रो गौरव, पहिचान र अब हाम्रो जिम्मेवारी” भन्ने नाराका साथ आयोजना गरिने उक्त सम्मेलनमा पर्वतारोहण विज्ञ, नीति निर्माता, संरक्षणकर्मी, पर्यटन व्यवसायी, शेर्पा समुदाय, ट्रेकर, हिमाली संस्कृतिका प्रतिनिधि तथा सरोकारवालाबीच राष्ट्रिय स्तरमा महत्वपूर्ण छलफल हुने आयोजक संस्थाले जानकारी दिएको छ।

सम्मेलनको प्रमुख आकर्षणमध्ये एकमा सन् १९५३ मा सर एडमण्ड हिलारीसँगै पहिलोपटक सगरमाथा आरोहण गरेका जीवित किंवदन्ती श्री कान्छा शेर्पालाई “लाइफटाइम एचिभमेन्ट अवार्ड” प्रदान गरिनेछ। उनलाई सम्मानित गरेर नयाँ पुस्तालाई प्रेरणा दिने उद्देश्य राखिएको आयोजक संस्थाको भनाइ छ।

संरक्षण, संस्कृति र सहकार्य

कार्यक्रममा वातावरण संरक्षणलाई विशेष प्राथमिकता दिइएको छ। हिमाली क्षेत्रको दिगो भविष्य र वातावरणीय सन्तुलनका लागि ICIMOD, IUCN, WWE, ZSL र NTNC लगायत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाहरूको प्रस्तुति र प्यानल छलफलसमेत हुनेछ।

त्यस्तै, सम्मेलन अन्तर्गत आरोहणमा महिलाको सहभागिता, जलवायु परिवर्तन, सुरक्षित प्रविधिको प्रयोग, जिम्मेवार पर्यटन अभ्यास जस्ता विषयमा छुट्टाछुट्टै गोष्ठी आयोजना गरिनेछ। साथै, हिमाली सांस्कृतिक महोत्सव, चित्रकला प्रदर्शनी, फोटो प्रदर्शनी, पर्वतीय झांकी, र उपकरण प्रदर्शनी पनि सञ्चालन हुनेछन्।

स्थानीय सहभागिता र हस्तकलाको समावेश

स्थानीय स्तरमा नाम्चे, खुम्बु, कास्की, म्याग्दी लगायतका गाउँपालिकासँग सहकार्य गरी हिमाली हस्तकला, संस्कृति र परम्परागत सामग्रीलाई समावेश गरिने भएको छ। नेपाल हस्तकला महासंघसँगको सहकार्यमा स्थानीय उत्पादन र परम्परागत ज्ञानलाई प्रवर्द्धन गरिनेछ।

आयोजकको परिचय

एभरेस्ट एलायन्स नेपाल एक गैरनाफामूलक संस्था हो, जसले विशेषगरी नेपालमा साहसिक खेलकुद, पर्यटन तथा मनोरञ्जनात्मक गतिविधिको प्रवर्द्धन, संरक्षण र समन्वय गर्ने लक्ष्य राखेको छ। यस संस्थाले विभिन्न कार्यक्रम, कार्यशाला र पहलकदमीमार्फत हिमाली क्षेत्रको संरक्षण, उत्तरदायी पर्यटन तथा दिगो विकासका पक्षमा सक्रिय भूमिका खेल्दै आएको छ।

एभरेस्ट समिटियर्स समिट २०२५ केवल सम्मेलन नभएर सपना, संघर्ष, साहस र सफलताको संगम हुने आयोजकको विश्वास छ। सम्मेलनले नेपाललाई सुरक्षित र दिगो पर्वतारोहण गन्तव्यको रूपमा विश्वसामु थप मजबुत बनाउने अपेक्षा गरिएको छ।

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर