
दक्षिण एशीया नेटवर्क टेलिभिजन, काठमाडौ असोज २२ गते । नेपालका लागि १७औँ चिनियाँ चिकित्सा टोलीले काठमाडौंको मिनभवनस्थित निजामती कर्मचारी अस्पतालमा दुईदिने स्वास्थ्य शिविर सञ्चालन गरेको छ। शनिबारसम्म सञ्चालन हुने शिविरमा चिनियाँ विशेषज्ञ चिकित्सकहरूले विभिन्न रोगको परीक्षण, निदान तथा उपचारसम्बन्धी परामर्श सेवा प्रदान गरिरहेका छन्।
शिविरमा १२ वटा विशेषज्ञताका चिकित्सक सहभागी छन्। हेमाटोलोजी, प्लास्टिक सर्जरी, न्युरोसर्जरी, ग्यास्ट्रोइन्टेस्टाइनल सर्जरी, युरोलोजी, स्त्रीरोग, अर्थोपेडिक्स, एनेस्थेसियोलोजी, परम्परागत चिनियाँ चिकित्सा, रेडियोथेरापी, दन्त चिकित्सा तथा थोरासिक सर्जरीका विशेषज्ञहरूले बिरामीलाई सेवा दिइरहेका छन्।
विभिन्न विशेषज्ञताका चिकित्सकलाई एउटै स्थानमा उपलब्ध गराउने उद्देश्यले आयोजित शिविरले जटिल तथा विशिष्टीकृत स्वास्थ्य समस्याको पहिचान र उपचारबारे परामर्श लिन बिरामीलाई अवसर प्रदान गरेको छ।
चिनियाँ चिकित्सा टोलीका प्रमुख ह्वाङ छनले नेपालमा चिनियाँ चिकित्सकको भूमिका अस्पतालमा नियमित सेवा प्रदान गर्ने कार्यमा मात्र सीमित नरहेको बताएका छन्। उनका अनुसार चिनियाँ चिकित्सा टोलीले काठमाडौंसहित चितवन, पोखरा र विभिन्न दुर्गम क्षेत्रमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको छ। नेपालमा रहेका चिनियाँ नागरिक तथा चिनियाँ कम्पनीका कर्मचारीका लागि पनि वार्षिक स्वास्थ्य शिविर आयोजना गरिँदै आएको उनले बताए।
‘आधारभूत चिकित्सा सेवा बाहेक हामीले काठमाडौं, चितवन, पोखरा तथा धेरै दुर्गम क्षेत्रहरूमा निःशुल्क स्वास्थ्य शिविर कार्यक्रमहरू सञ्चालन गरेका छौं। साथै, हामीले नेपालमा रहेका चिनियाँ नागरिक तथा चिनियाँ कम्पनीका लागि वार्षिक स्वास्थ्य शिविर सञ्चालन गरी उनीहरूको स्वास्थ्य सुरक्षामा केही योगदान पुर्याएका छौं,’ टोली प्रमुख ह्वाङले भने। चिनियाँ चिकित्सा टोलीले नेपाली नागरिकलाई स्वास्थ्य सेवा उपलब्ध गराउनुका साथै नेपालमा रहेका चिनियाँ समुदायको स्वास्थ्य सुरक्षामा समेत योगदान पुर्याउँदै आएको छ ।

नेपाल र चीनबीचको स्वास्थ्य सहकार्य बिगतदेखि नै हुँदै आएको छ । चीनको सहयोगमा काठमाडौंमा निजामती कर्मचारी अस्पताल स्थापना गरिएको हो। सुरुमा सरकारी कर्मचारी तथा उनीहरूका परिवारलाई गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्य राखिए पनि अस्पतालले सर्वसाधारणलाई समेत सेवा दिँदै आएको छ। त्यस्तै, चीनले सन् १९९९ देखि चितवनस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा चिकित्सा टोली पठाउँदै आएको छ। चीनको हेबेई प्रान्तबाट चिकित्सक तथा स्वास्थ्यकर्मी पठाएर क्यान्सर उपचार सेवामा सहयोग गर्ने कार्यक्रम त्यस सहकार्यको महत्त्वपूर्ण हिस्सा हो।
यसरी अस्पताल स्थापना, विशेषज्ञ चिकित्सकको उपलब्धता र स्वास्थ्य सेवासम्बन्धी सहकार्यले नेपाल–चीन सम्बन्धलाई स्वास्थ्य क्षेत्रसम्म विस्तार गरेको छ।
स्वास्थ्य शिविरको महत्त्व बिरामीको तत्काल परीक्षण र उपचार परामर्शमा मात्र सीमित नभइ विभिन्न विधाका विशेषज्ञ चिकित्सकको सहभागिताले जटिल स्वास्थ्य समस्याको पहिचान, उपचारका विकल्पबारे जानकारी तथा आवश्यक परेमा थप उपचारका लागि मार्गनिर्देशन प्राप्त गर्ने अवसर पनि मिल्दै आएको छ ।
नेपालजस्तो देशमा सबै प्रकारका विशेषज्ञ सेवा सबै अस्पतालमा समान रूपमा उपलब्ध नहुने अवस्थामा यस्ता कार्यक्रमले बिरामीलाई विशेषज्ञ चिकित्सकसम्म पुग्ने अवसर दिने गरेका छन् ।


















